नेकपा प्रवक्ता नारायणकाजीले दिए राष्ट्रिय सभामा उम्मेदवारी

पुस २०, काठमाडौं । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (ने क पा) प्रवक्ता नारायणकाजी श्रेष्ठले राष्ट्रिय सभाको निर्वाचनका लागि उम्मेद्वारी दिएका छन् ।   

दुई वर्षे कार्यकाल सकिएका १९ जना राष्ट्रियसभा सदस्यका लागि आगामी माघ ९ गते राष्ट्रिय सभाको निर्वाचन हुँदैछ । सोही निर्वाचनका लागि प्रवक्ता श्रेष्ठले केन्द्रीय सदस्य तथा गण्डकी प्रदेशका भौतिक पूर्वाधारमन्त्री रामशरण बस्नेतको प्रस्ताव र प्रदेश सभासदस्य दिलमाया रोकाको समर्थनमा पोखराबाट आज (आइतबार) उम्मेद्वारी दर्ता गराएका हुन् । 

यस्तै नेकपाबाट भगवती न्यौपानेले पनि उम्मेदवारी दर्ता गराएकी छन् । नेकपा स्थायी समिति सदस्य तथा गण्डकी प्रदेशका अर्थमन्त्री किरण गुरुङको प्रस्ताव र पोखरा महानगरपालिकाकी उपमेयर मञ्जुदेवी गुरुङको समर्थनमा न्यौपानेले उम्मेद्वारी दर्ता गराएकी हुन् ।  

श्रेष्ठ र न्यौपानेलाई नेकपाले गण्डकी प्रदेशबाट प्रदेशसभा सदस्यका लागि उम्मेदवार चयन गरेको थियो । 

निर्वाचन आयोगले राष्ट्रियसभा सांसदको उम्मेदवार दर्ताका लागि आइतबार १० देखि ३ बजेको समय निर्धारण गरेको छ।  

५९ सदस्यीय राष्ट्रियसभामा प्रत्येक प्रदेशबाट ८ जनाका दरले सांसद निर्वाचित हुन्छन्। तीन जना भने मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपतिबाट मनोनीत हुने व्यवस्था छ। स्थायी सदन राष्ट्रिय सभाका लागि पहिलोपटक गोलाप्रथाबाट २, ४ र ६ वर्षे कार्यकाल निर्धारण गरिएको थियो। एक तिहाइ सांसदको कार्यकाल प्रत्येक दुई वर्षमा समाप्त हुन्छ।  

अब निर्वाचित हुनेको कार्यकाल भने ६ वर्षकै हुनेछ। 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *