प्राकृतिक सुन्दरताले भरिएको ‘रास ताल’मा आन्तरीक पर्यटक बढ्दै

पुस १९, सुनसरी । पुर्वी नेपालको सुनसरी जिल्ला रामधुनी नगरपालिका वडा नं. ७ बक्लौरीको राष्ट्रिय विभूतिबाट सम्मानित इमानसिंह चेम्जोङ स्मृति प्रतिष्ठान पार्क अर्थात (रास ताल) यतिबेला आन्तरिक र बाह्य पर्यटकहरुको रोजाईमा पर्न थालेसँगै पर्यटकको घुईंचो नै लाग्न थालेको छ ।   

सो क्षेत्रमा दैनिक रुपमा पिकनिक खान र त्यस क्षेत्रको सुन्दरता नियाल्न आन्तरिक र बाह्य पर्यटकहरुको आवत जावत हुन थालेको हो । आन्तरिक र बाह्य पर्यटक बढेसँगै साे क्षेत्रमा पर्यटकीय गतिविधी समेत बढेकाे छ ।  

शान्त हरियाली वातावरण युक्त रास तालमा आन्तरिक तथा बाह्य पर्यटकको घुईंचो नै लाग्ने गरेको शनिबार पिकनिकका लागि त्यहाँ पुगेका नेपाल निजामती कर्मचारी संगठन सुनसरीका उपाध्यक्ष राजु कटुवाल क्षेत्रीले बताए ।   

क्षेत्रीका अनुसार शनिबार नेपाल निजामती कर्मचारी संंगठनबाट निबृत राष्ट्र सेवक कर्मचारीलाई सम्मान कार्यक्रम राखिएको थियो । कार्यक्रममा सुनसरी जिल्लाका ३ सय जना कर्मचारी तथा तीनका परिवार सहितकाे वनभाेज कार्यक्रममा निजामती सेवाबाट निबृतभरण (पेन्सन) पाई घर फर्किसकेका १६ जना पुर्व कर्मचारीलाई सम्मान समेत गरिएको थियो । 

कार्यक्रममा प्रमुख अतिथि नेकपाका केन्द्रीय सदस्य तथा धर्मराज निरौलाले सेवा निवृत कर्मचारीहरूलाइ मायाको चिनो सहित फुलमाला लगाई सम्मान गरेका थिए । कार्यक्रममा इनरुवा मालपोत कार्यलयमा कार्यलय सहयोगी पदमा कार्यरत कल्पना दाहाललाई कार्यलयमा सेवाग्राहीको हराएको् रुकम नगद पाच लाख जस्ताको त्यस्तै फर्काएको भन्दै  उक्त कार्यकाे उच्च प्रशंसा गर्दै प्रशंसा पत्र तथा अबिर मालाले सम्मान गरिएको थियो । 

कार्यक्रमकै दौरानमा गएकाे दशै तिहारमा निजामती कर्मचारी संगठनको तर्फबाट खोलाईएको चिठ्ठा कार्यक्रमका बिजेता बन्न सफल गणेश भट्टराई सहतिका ब्यतित्वहरुलाई पुरस्कारसमेत बाडिएको थियो । कार्यक्रम संगठन सुनसरीका अध्यक्ष भवानी धमलाको अध्यक्षतामा भएकाे थियाे । 

कार्यक्रमका वक्ताहरुले रास ताल २०७१ साल यता देखि पर्यटकीय गन्तव्यको नमुना बन्दै गएको बताए । २०७१ सालदेखि स्थानीय बासिन्दाहरुको पहलमा यस क्षेत्रलाई पर्यटकीय केन्द्र बनाउन जुटेसँगै यो क्षेत्र छोटो अबधिमै महत्वपुर्ण पर्यटकीय क्षेत्रको रुपमा बिस्तार भईसकेको ताल संरक्षण समितिका अध्यक्ष राजेश कुमार लिम्बुले बताए ।   

सुनसरी सामुदायिक वन उपभोक्ता समूहको क्षेत्रमा पर्ने ६१ हेक्टर क्षेत्रफलमा फैलिएको रास ताललाई राष्ट्रिय विभुतीबाट सम्मानित किरात लिपी प्रवर्द्धक इमानसिंह चेम्जोङसँग जोडेर स्थानीयबासीहरु पर्यटकीय नमुना क्षेत्र बनाउन लागेका छन् । 

वनकाे ६१ हेक्टर क्षेत्रमध्ये करिव १० हेक्टर ताल क्षेत्र छ । ताल क्षेत्रमा लाटी खोला बग्छ । जसले गर्दा तालमा पानी एकनासको भईरहन्छ । दुई  हेक्टर क्षेत्रफल धार्मिक क्षेत्रको रुपमा परिणत गरिएकाे छ । यहाँ मंसिर पूर्णिमाको दिन दुर्लभ जातजातिका नृत्यहरु समेत हुने गर्दछ । रास ताल क्षेत्र राउटे, कोचे, मेचेदेखि विभिन्न आदिवासी जनजातिका नृत्यहरु प्रदर्शन गर्ने थलोको रुपमा समेत विकास भईरहेको छ । 

रास ताललाइ पर्यटकीय क्षेत्रकाे रूपमा शशी राईले परिकल्पना गरेका हुन  । उनी रास ताल निर्माण समितिका उपाध्यक्ष समेत छन् । आर्कषक तालको चारैतिर बाँध छ जहाँ डुंगाको समेत व्यवस्था गरिएको छ ।   

रास तालमा भारतका सीमावर्ती विहार र पश्चिम बंगालका बासिन्दा पनि घुमफिरमा आइपुग्छन् । कमै मात्र चर्चामा रहेको यस सीमसार क्षेत्रलाई इमानसिंह चेम्जोङ स्मृति प्रतिष्ठानले संरक्षण गर्दै आएको छ । 

प्रतिष्ठानका अध्यक्ष लिम्बुका अनुसार प्रदेश सरकारको ५५ लाख आर्थिक तथा अन्य स्रोतबाट पाच लाख रुपैयाँ जुटाएर ताल क्षेत्रमा पूर्वाधार विकास थालिएको छ । 

  

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *