कोटिहोम महायज्ञका बाचकको बचाउ

माघ १४, चितवन ।   नारायणगढमा जारी कोटीहोम महायज्ञको आयोजकले सञ्चारमाध्यमहरुलाई हिन्दु धर्म बिरोधी भएको आरोप लगाउँदै बाचक बिजय भण्डारीको बचाउको प्रयास गरेको छ । आज पत्रकार सम्मेलन गर्दै महायज्ञका प्रवक्ता दिलिप न्यौपानेले सञ्चारमाध्यममा आएको बाचक भण्डारीलाई हटाइएको खबरको खण्डन पनि गरे । 

आयोजकले महायज्ञका बाचक भण्डारीको ठाउँमा तत्कालका लागि कोटीहोमका पीठाधीस धर्मपाल गुरु वशिष्ठ रहने जनाएपनि भण्डारीलाई बिदाई नगरिएको जनाएको छ । महायज्ञका संयोजक लालबहादुर दवाडीले भण्डारीलाई बिदाई गर्ने बिषयमा केही दिनमा निर्णय गरिने बताए ।  

मुख्य वाचक बिजय भण्डारी ठगी धन्दामा मुछिएका खबर सार्वजनिक भएपछि आयोजकले उनलाई हटाएर महायज्ञलाई बिवादरहीत बनाउन प्रयास गर्ने अपेक्षा गरिएको थियो । तर ठीक बिपरित आयोजकले पत्रकार सम्मेलन गरेर पत्रकारहरुलाई धम्क्याएको थियो । 

पत्रकार सम्मेलनमा प्रवक्ता दिलिप न्यौपानेले कान्तिपुर टेलिभिजनले महायज्ञको प्रत्यक्ष प्रसारण गर्नका लागि ७२ लाख रुपैयाँ मागेको र नपाउने भएपछि पत्रिकामार्फत समाचार लेखाएको आरोप लगाए । साथै बिभिन्न पत्रिका तथा अनलाइनहरुले मनलाग्दी समाचार लेखेको भन्दै यस्ता सञ्चारमाध्यमहरुलाई निस्तेज पार्ने धम्की दिए । 

महायज्ञमा प्रवचनकर्ताकारुपमा सहभागि धार्मिक अभियान्ता शेखर शर्मा पौडेलले राजनीतिक वृत्तमाथि प्रश्न तेर्साए । “१७ हजार मान्छे मार्ने व्यक्ति प्रधानमन्त्री हुने देशमा ठगीमा मुछिएको मान्छेले महायज्ञ चलाउन नपाउने रु”, भण्डारीको वचाउनमा उनले थपे, “यो हिन्दु धर्ममाथी आक्रमणको प्रयास हो ।” उनले पत्रकारहरुले एक जना व्यक्तिका लागि समग्र महायज्ञलाई दोष लगाउन खोजेको आरोप लगाए । 

आयोजक पशुपति मन्दिर व्यवस्थापन समितिका अध्यक्ष मनोज पुडाशैनीले वर्षौ अघिको विषयलाई लिएर महायज्ञको मुखमा उठाएर भाँड्न खोजिएको आरोप लगाए । 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *