१० लाखको प्रलोभनमा ३ लाख गुम्यो !

माघ १७, काठमाडौं । महानगरीय अपराध महाशाखाको टोलीले ‘नेपाल प्रहरीको सई हुँ’ भन्दै ३ लाख ठगी गर्ने एक जनालाई पक्राउ गरेको छ ।   

पक्राउ पर्नेमा रामेछापको मन्थली नगरपालिका–२ टेकनपुर स्थायी घर भइ हाल काठमाडौं बस्दै आएका २६ वर्षीय राजु कार्की रहेका छन् । उनले सिन्धुपाल्चोकको हेलम्बु गाउँपालिका–३ घर भई हाल काठमाडौंको मनहरा बस्दै आएका लक्ष्मण गिरीलाई ठगेको प्रहरी अनुसन्धानमा खुलेको छ ।   

आफू नेपाल प्रहरीको सई भएकाे, आफ्नो बैङ्क खातामा धेरै रकम जम्मा रहेको र कतैबाट छानबिन भएमा आफू अप्ठ्यारोमा पर्न सक्ने भन्दै उनले गिरीलाई आफ्नो ३० लाख रुपैयाँ राखिदिन प्रलोभन देखाई तीन लाख ठगी गरेको फेला परेको प्रहरी उपरीक्षक मुकेशकुमार सिंहले जानकारी दिए ।   

उनका अनुसार कार्कीले ३० लाखमध्ये १० लाख गिरीलाई चलाउन दिने विश्वास दिलाई बैङ्क ट्रान्जेक्सन देखाउनका लागि भन्दै कार्कीले गिरीलाई तीन लाख रुपैयाँको चेक काट्न लगाएका थिए ।   

खातामा पैसा जम्मा हुने विश्वासमा गिरीले कार्कीका नाममा तीन लाख रुपैयाँको चेक काटिदिए । एउटै शाखाबाट उक्त रकम निकाल्न नमिल्ने भन्दै कार्की भने गिरीलाई चाबहिलस्थित नेपाल बैङ्क लिमिटेडको शाखामा लगेर अलपत्र पारी आफू सोही बैङ्कको कालीमाटीस्थित शाखामा गए र गिरीको खाताबाट तीन लाख रुपैयाँ निकाले ।   

त्यसपछि फरार भएका कार्कीलाई पीडित लक्ष्मण गिरीको उजुरीका आधारमा प्रहरीले बिहीबार साँझ कलंकीबाट नियन्त्रणमा लिएको हो । प्रहरीले उनको साथबाट नगद ७ हजार ५०० रुपैयाँ, एउटा मोटरसाइकल, एक थान मोबाइल, सवारी दर्ता किताब, एउटा हेल्मेट बरामद गरेको छ । 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *