नेपाल चिकित्सक संघको आसन्न निर्वाचन र नेतृत्वको सवाल

७० वर्षको इतिहास भएको देशकै सबैभन्दा पूरानो पेशागत संगठनका हैसियतले नेपाल चिकित्सक संघको एउटा गौरवपूर्ण इतिहास छ। देशमा विभिन्न समयमा चलेका परिवर्तनकारी आन्दोलनहरुमा सक्रिय सहभागिता एवं नेतृत्वमार्फत पेशागत मात्र नभई बृहत्तर राष्ट्रिय हितका निम्ति समेत क्रियाशीलता प्रदर्शन गर्दै गौरवशाली इतिहास राख्न सफल रहेको छ र यसको निम्ति योगदान दिनुहुने सम्पूर्ण अग्रज पूर्व पदाधिकारीहरु एवं सदस्यहरु धन्यवादका पात्र हुनुहुन्छ। 

यही निर्वाचनका क्रममा हामीले उपत्यका बाहिर देशव्यापी प्रचारप्रसार अभियान सकेका छौं। यस क्रममा आम चिकित्सकहरुले उठाएका प्रश्नहरु अनि उहाँहरुको चासो र चिन्ता मनन गर्ने अवसर पाइयो। तिनै चासो अनि चिन्तालाई सम्बोधन गर्ने हेतुले यो लेख केन्द्रित छ। 

सबैभन्दा पहिले विगत केही समय यताको केही दृष्टान्त हेरौं: 

१. निकै वर्ष सरोकारवाला सबैको (नेपाल चिकित्सक संघको नेतृत्व समेत) संलग्नतामा लामो घनीभूत छलफल र गृहकार्यपश्चात् मुलुकी अपराध संहिता २०७४ मा पारित भएछ जसमा इलाजसम्बन्धी महलका प्रावधानहरु विल्कुलै वस्तुगत अवस्थाभन्दा बाहिरका र आम चिकित्सकलाई चिकित्सा सेवा दिन नै त्राहिमाम हुनुपर्ने प्रावधान रहेछन। जब २०७५ साल भदौमा उक्त ऐन लागू हुने बेला भयो तब मात्र हाम्रो संघको नेतृत्वलाई थाहा लागेछ त्यो पनि मिडियामा व्यापक विरोध र बहस छताछुल्ल भएपछि। 

२. स्वास्थ्यकर्मी तथा स्वास्थ्य संस्थाको सुरक्षासम्बन्धी ऐन २०६६ मै पारित भयो (भलै यसमा पनि प्रशस्त सुधारका ठाउँ छन्) र यसको प्रभावकारी कार्यान्वयन मात्र भएको भए पनि सुरक्षासम्बन्धी समस्या धेरै हदसम्म समाधान हुन्थ्यो। तर संघको नेतृत्व न त यो ऐनको प्रभावकारी कार्यान्वयनमा लाग्यो न त संशोधनमैं। लाग्यो त केवल तोडफोड र हुलहुज्जत भइसकेपछि पनि व्यापक दबाब आएपछि मात्र विज्ञप्ति निकाल्न (केही अपवाद घटनामा बाहेक)। 

३. अलिअलि भने पनि स्वास्थ्यकर्मीहरूप्रति सकारात्मक “स्वास्थ्य सेवा ऐन” खारेज गर्दै “एकीकृत संघीय निजामति ऐन” पारित भयो र स्वास्थ्य लगायत अन्य सम्पूर्ण टेक्निकल विधाका कर्मचारीहरु समेत मारमा परेका छन्। सरकारी सेवामा कार्यरत चिकित्सकहरुको हकहितको निम्ति मात्र होइन उहाँहरूको मनोबल उच्च राख्दै स्वास्थ्य सेवामा उहाँहरुको समुचित भूमिकामार्फत समग्र स्वास्थ्य सेवामा टेवा पुर्‍याउनका निम्ति समेत छुट्टै “स्वास्थ्य सेवा ऐन” को जरुरत छ। तर यस विषयमा न सम्बन्धित “सरकारी चिकित्सक संघ”को नेतृत्वले ठोस प्रभावकारी कदम चाल्यो न त नेपाल चिकित्सक संघले नै।  

बरू “सरकारी चिकित्सक संघ” को नेतृत्व सरकारीकै बहुसंख्यक जुनियर चिकित्सकहरुलाई समेत घात हुने गरी “स्वास्थ्य सेवाको एघारौँ तहमा खुला पदपूर्ति गर्ने व्यवस्था हटाउने” सहमति गर्न पुग्यो। स्वास्थ्य सेवा जस्तो विशिष्ट प्राविधिक सेवा जसमा डिएम/एमसिएचसम्मको पढाइ सकुन्जेलमा व्यक्ति एघारौं तहको खुला प्रतिस्पर्धाको लागि लायक भइसकेको हुन्छ र सरकारीमै भएका जुनियर चिकित्सकहरुले पनि यी अध्ययन पूरा गर्दा एघारौं तहमा भिड्न सक्छन्। यस्तो अवस्थामा “संघीय निजामति ऐन”मा त्यसविपरीत प्रावधानको विरोध गर्नुपर्नेमा उल्टै सहमति गरिएको छ। 

४. वर्षौंदेखि चिकित्सकहरुको एक मात्र पेशागत संगठनको रूपमा नेपाल चिकित्सक संघ रहेकोमा पछिल्लो समय पेशागत हकहितकै निम्ति भनेर विभिन्न नाममा संगठनहरु खोलिएका छन् र यो चिकित्सक संघको नेतृत्वले सबैको निम्ति अभिभावकीय भूमिका निर्वाह गर्न नसकेको ज्वलन्त उदाहरण हो। 

५. नेपाल चिकित्सक संघमा सदस्य हुन योग्य २६००० भन्दा बढी चिकित्सकहरु हुँदाहुँदै पुगनपुग १०,००० मात्र चिकित्सक संघको सदस्य रहेका छन्। झन्डै दुई तिहाइ चिकित्सक संघ बाहिर रहनु बिडम्बना हो। 

यस्तो पृष्ठभूमिमा देशव्यापी प्रचार प्रसारका क्रममा उठेका केही प्रश्न अनि गुनासाहरु यस्ता थिए (यी भनाइहरु लेखकको काल्पनिक नभई मतदाता चिकित्सकहरुको भनाइ जस्ताको तस्तै प्रस्तुत छ): 

– ‘नेपाल चिकित्सक संघको हामी किन सदस्य बन्नु, जबकी यसले हाम्रो हितका निम्ति विज्ञप्ति निकाल्ने बाहेक केही गरेको छैन।’ 

– ‘यो निर्वाचनमा भोट नै किन हाल्नु, जब केही हुँदैन भने?’ 

– ‘यो प्यानल/प्यानल बनाएर तपाईंहरु एनएमएमा किन राजनीति घुसाउँदै हुनुहुन्छ? कहिलेसम्म नेताका झोले चिकित्सक बन्नुहुन्छ?’ 

– ‘हाम्रो सुरक्षा खोई? असुरक्षाको डरले हात कपाउँदै मैले कसरी एउटा बिरामीको अपरेसन गर्न सक्छु?’ 

– ‘अझै पनि एनएमएलाई नै बलियो बनाउन लाग्ने कि अनेक नामका संगठन खोलेर आ-आफ्ना स्वार्थसिध्द गर्न खोज्ने ? भाइ फुटे गवार लुटे कहिलेसम्म?’ 

यी सबै कुराको आधारमा के कुरा प्रष्ट छ भने हाम्रो माउ संस्था नेपाल चिकित्सक संघ निकै कमजोर अवस्थामा छ र आम सदस्यहरु र सदस्य हुन योग्य चिकित्सकहरुमा संघप्रति व्यापक निराशा छाएको छ। 

अब हामी आम चिकित्सकसामु दुई विकल्प छन्:  

१. कि हामी संघप्रति नै निराश भएर निष्क्रिय हुने २. कि संघ यति कमजोर हुनुको कारण खोतल्दै आफ्नो माउ संस्थालाई अझै एकीकृत अनि सशक्त बनाउँदै चिकित्सक अनि चिकित्सा पेशाको हकहितको जगेर्नाका निम्ति जुट्ने? जसरी हामी कुनै बिरामीको उपचार गर्दा सफल नभएमा पहिला आफ्नो डायग्नोसिसको रिभ्यु गर्छौं अनि उपचार प्रक्रियाको त्यसैगरी संस्था कमजोर हुँदा हामीले त्यसको रिभ्यु गर्नैपर्छ। त्यसैले जवाफ प्रष्ट छ: हामीसँग दोस्रो विकल्प रोज्नुको विकल्प छैन। 

त्यसो भए संगठन कमजोर हुनुको कारण के त? 

-कुनै पनि संगठन कमजोर हुनुमा मूलभूत रूपमा त्यसको नेतृत्वको जिम्मेवारी हुन्छ भने आंशिक रूपमा त्यसका आम सदस्यहरुको पनि। हामीले विगत कम्तीमा १२ वर्ष यताको इतिहास विश्लेषण गर्ने हो भने चिकित्सक संघको नेतृत्व मूलत: प्रतिक्रियात्मक शैलीबाट चलेको देखिन्छ र माथिका उदाहरणले पनि यसको पुष्टि गर्छ।  

जब नेतृत्व केवल प्रतिक्रियात्मक शैलीबाट चल्छ तब संस्था निश्चय नै प्रतिगमनमा धकेलिन्छ, भइहाले बढी से बढी यथास्थितिमा रहन्छ। अर्को कुरा नेतृत्व वर्गले बढी से बढी सदस्यहरुको हितलाई केन्द्रविन्दुमा राख्नुपर्नेमा हाम्रा अधिकांश संस्थाका अक्सर नेतृत्व आफ्ना सीमित स्वार्थ समूहका निहित स्वार्थ पूर्ति गर्नमै रुमलिएका छन्। यो संगठन कमजोर हुनुको अर्को कारण हो। अनि नेतृत्वको यही रबैयाका कारण अधिकांश सदस्य/सम्भावित सदस्यहरु पनि यसरी निराश छन् र संगठनतिको निराशा यति चरम छ कि अब त्योभन्दा खराब हुने सक्दैन। 

अनि समाधान चाहिँ ? 

अबको पहिलो समाधान भनेको नेतृत्व परिवर्तन नै हो। महान वैज्ञानिक अल्बर्ट आइन्सटाइनले भन्नु भएको छ: ‘तपाईं उही प्रक्रिया दोहोर्‍याएर फरक नतिजाको आशा राख्न सक्नु हुन्न।’ त्यसैले हामीले पनि फेरि उही ‘पूरानो नेतृत्व’ दोहोर्‍याएर बलियो/सशक्त नेपाल चिकित्सक संघको अपेक्षा राख्न सक्दैनौं। 

नेतृत्व त फेर्ने तर कस्तो नेतृत्व? 

त्यो नयाँ नेतृत्वको प्रमुख आधार सक्रिय नेतृत्व हुन सक्छ। हाम्रो जस्तो संस्थामा सक्रियतापूर्वक काम गर्ने हो भने सकारात्मक परिवर्तन आफैं आउँछ।दोस्रो आधार विश्वसनीयता हुनसक्छ। जतिसुकै ठूला योजना र सपना बाँडे पनि यदि व्यक्तिको इमान्दारिता र विश्वसनियता छैन भने त्यस्तो नेतृत्वले कुनै परिवर्तन ल्याउने सम्भावना देखिँदैन। विश्वसनीयताको मापनको प्रमुख आधार व्यक्तिको विगत नै हो। हिजोका दिनमा उक्त व्यक्तिले कत्तिको इमान्दारिता साथ काम गरेको छ भन्ने कुराका आधारमा एवं निर्वाचनकै क्रममा उम्मेदवारको गतिविधिको विश्लेषणको आधारमा यसको मापन गर्न सकिन्छ। 

तेस्रो आधार कार्यक्षमता हुन सक्छ। उम्मेदवारले विगतमा के कति काम गरेको छ र मौका पाउँदा कत्तिको काम गर्न सक्छ भन्ने आधारमा यसको मापन गर्न सकिन्छ। 

चौथो आधार टिम वर्क हुनसक्छ। किनकि नेपाल चिकित्सक संघ मूलत: ट्रेड युनियन जस्तो संस्था हो र आफ्ना सदस्यहरुको हकहितको जगेर्ना गर्नु र रक्षा गर्नु यसको मूल कर्तव्य हो। आफ्ना हकहितको जगेर्नाका क्रममा निर्मम आन्दोलनमा पनि उत्रनुपर्ने हुन्छ र त्यसको निम्ति एकताबध्द नेतृत्व आवश्यक पर्छ। तसर्थ एक्लैएक्लै व्यक्तिगत रूपमा उठ्ने भन्दा निर्वाचनकै क्रममा पेशागत ढंगले मन/विचार/योजना मिल्ने व्यक्तिहरुले प्यानल बनाएर लड्नु नै उचित कुरा हो। त्यसैले हामीले के बुझ्नु जरूरी छ भने नेपाल चिकित्सक संघको निर्वाचनमा उत्रिनु भनेको राजनीति नै हो (यदि कुनै उम्मेदवारले म राजनीतिक होइन भन्नुहुन्छ भने बुझ्नुस् या उहाँले ‘राजनीति’ को अर्थ नै बुझ्नुभएको छैन या त उहाँले बेइमानी गरिरहनुभएको छ) तर यो पार्टीगत नभई ‘पेशागत राजनीति’ हो। 

र, पाँचौं आधार-उक्त नेतृत्वको घोषणापत्र। त्यो घोषणापत्र पनि आश्वासनका पुलिन्दा भन्दा पनि कत्तिको वैज्ञानिक, वस्तुगत अनि व्यवहारमा उतार्न सकिने खालका छन् कि छैनन् हेर्नुपर्ने हुन्छ। 

नयाँ नेतृत्वले परिवर्तन गर्छ भन्ने आधार के ? 

अहिले निर्वाचनको दौरान विकल्पमा देखिएका अधिकांश उम्मेदवार चिकित्सक संघको केन्द्रीय राजनीतिमा नयाँ अनुहार भएकाले यो प्रश्न उठ्नु स्वाभाविक हो। तर माथि उल्लेखित आधारहरुमा टेकेर नेतृत्व चुन्ने हो भने निश्चय नै उक्त नेतृत्वले परिवर्तन गर्न सक्छ भनेर विश्वास गर्न सकिन्छ। 

अन्त्यमा नेपालको सन्दर्भमा चिकित्सकहरुको आम हकहितको रक्षा र संवर्द्धनका निम्ति नेपाल चिकित्सक संघको विकल्प छैन भन्ने कुरालाई हामी सबैले आत्मसात गर्नु जरूरी छ। यो निर्वाचन हामी उम्मेदवारहरुको त परीक्षा हो नै आम चिकित्सक एवं मतदाता चिकित्सकहरुको समेत परीक्षाको घडी हो। किनकि हामीले हाम्रो अमूल्य मत कस्तो नेतृत्वका निम्ति दिन्छौं, हाम्रो संस्थाको बागडोर कस्तो नेतृत्वका हातमा सुम्पन्छौँ भन्ने कुराले नेपाल चिकित्सक संघको आगामी तीन वर्ष (कार्यसमितिको एक कार्यकाल) मात्र होइन समग्र चिकित्सा पेशा र देशकै स्वास्थ्य क्षेत्र कुन दिशामा जान्छ भन्ने कुराको निर्धारण गर्ने वाला छ। 

हामी संघीयताको कार्यान्वयनका क्रममा अझै पनि नीति निर्माणकै क्रममा छौं जसले हाम्रो दूर भविष्यसम्म असर पार्ने छन्। यस क्रममा हाम्रो नेतृत्वको कमजोरीका कारण कतिपय विषयमा (जस्तै स्वास्थ्यमा समायोजन, स्वास्थ्य सेवा ऐन) चुकिसकेका छौं तर अझै समय घर्किसकेको छैन। अझै पनि हामी सबै मिलेर त्यो सक्रिय, सबल, सक्षम, इमान्दार अनि व्यक्तिगत/निश्चित समूहगत स्वार्थभन्दा माथि उठेर सिंगो पेशाको निम्ति समर्पित हुन सक्ने नेतृत्व चयन गरेर पठाउन सक्यौं भने निश्चय पनि अर्को तीन वर्षपछि फेरि यसरी कस्तो नेतृत्व चुन्ने भन्ने मात्र होइन, अझै कसरी अगाडि बढ्ने भन्ने तहसम्मको बहसमा हामी पुग्न सक्नेछौं। 

वसन्त ऋतुको आगमनकै संघारमा हुन लागेको यो निर्वाचनले संघको निम्ति पनि वसन्तको आगमन हुन सकोस्। निर्वाचनको भव्य सफलता अनि सबै उम्मेदवारहरुलाई शुभकामनाका साथ यो चुनावले नेपाल चिकित्सक संघलाई त्यस्तो नेतृत्वको हातमा सुम्पने नै छ भन्ने पूर्ण विश्वासका साथ ! 

डा. बस्नेतकाे पेजबाट 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *