ऋण तिर्न नसक्दा सामुहिक आत्महत्या, संसदमा कमजोर कांग्रेस, अन्नपूर्ण पदमार्गमा हिमपहिरो

माघ ४, काठमाडौं । आज राजधानीबाट प्रकाशित पत्रपत्रिकाहरुमा त्रिसुलीमा हाम फालेर मृत्यु खोजेका एक परिवारको कथालाई प्राथमिकताका साथ प्रकाशित गरेका छन् ।   

तनाब ब्यवस्थापन गर्न नसक्दा एक दम्पत्तीले आफ्ना दुई सन्तान सहित हिजो त्रिसुलीमा हाम फालेका थिए । बिहीबार दिउँसो दुई बजेतिर चन्द्रागिरी नगरपालिका–४, थानकोटका विनय लामिछाने धादिङ आदमघाट बजारस्थित ससुराली हिँडे । ३५ वर्षीय विनयका साथमा थिए, पत्नी जमुना रेग्मी लामिछाने, दुई वर्षे र ६ महिने छोरा । कान्छो छोराको आज पास्नी थियो ।   

विनय ससुराली कटेर बेनीघाट पुगेरमात्र ओर्लिए । र, सबै एकसाथ त्रिशुली नदीमा हेलिए । विनयको त प्रहरीले उद्धार र्गयो तर पत्नीको ज्यान गयो, दुवै सन्तान बेपत्ता छन् । प्रहरीको प्रारम्भिक अनुसन्धानले मिटर ब्याजको ऋण तिर्न नसकेपछि उनीहरुले आत्महत्याको बाटो रोजेको देखिएको छ । थानकोटस्थित घरमा प्रहरीले फेला पारेको ‘सुसाइड नोट’ मा धेरैलाई पैसा तिर्न बाँकी उल्लेख छ । यसबाट लामिछाने दम्पत्तिले घरबाट निस्कदै आत्महत्याको योजना बनाएको देखाउँछ । कान्तिपुर दैनिकको कभरस्टोरी छ । 

साथमा कान्तिपुरको प्रथम पृष्ठमा एमसिसि विवादमा अमेरिकी दुतावासको जवाफी समाचार पनि छ ।   

अन्नपूर्ण पोस्टले भने देशभर वन अतिक्रमण भइरहेको कभर स्टोरी प्रकाशित गरेको छ । तराई÷मधेश मात्र हैन हिमाल पहाडमा समेत वन माफियाहरुले दिन दुगुना सात चौगुणा वन अतिक्रमण गरिरहेका छन् । यो संगै आजका अन्नपूर्णको प्रथम पृष्ठमा ऋणको बोझले त्रिसुलीमा हाम फालेका परिवारको समाचार पनि छ ।   

नागरिक दैनिकले पनि ऋण तिर्न नसक्दा आत्महत्याको बाटो रोज्ने थानकोटका विनय लामिछाने परिवारको विषयलाई नै मुख्य स्टोरी बनाएको छ । नागरिकले अन्नपूर्ण पदमार्गमा गएको हिम पहिरोको समाचारलाई पनि प्राथमिकतामा राखेको छ ।   

हिमपहिरोमा परेर अन्नपूर्ण आधारशिविर (एबिसी) को पदमार्गमा केही विदेशी पर्यटक सम्पर्कविहीन भएका छन् । पदयात्रामा रहेका चिनियाँ र कोरियन पर्यटकको समूह हिमपहिरोमा परेको प्रहरीले बताएको छ । पर्यटकलाई लिएर पदयात्रामा गएका गाइड पनि हिमपहिरोमा परेका छन् । 

नयाँ पत्रिका दैनिकमा भने रमेश सापकोटाले संसदमा प्रतिपक्षको भूमिका कमजोर रहेको विश्लेषणात्मक समाचार प्रकाशित गरेको छ । सरकारले गरेका कतिपय विवादास्पद विषयमा समेत प्रमुख प्रतिपक्षले विरोध र आलोचना समेत गर्न नसकेको बताइएको छ । कांग्रेस सभापति शेरबहादुर देउवा पार्टी भित्रबाटै आलोचित भइरहँदा सरकारलाई छायाँ सरकार गठन गरेर दवाव दिन लागेपनि उनी आफैं हराएको समाचारको सार छ ।   

गोरखापत्रले एमसिसि प्रकरणमा अमेरिकी दुतावासको स्पष्टोक्तिलाई प्रमुख समाचार बनाएको छ । सँगै निजगढ विमानस्थल निर्माण गर्न जुरिच कम्पनीसँग प्रस्ताव मागिएको समाचार पनि छ ।   

हेर्नुहोस आजका पत्रपत्रिकाका प्रथम पृष्ठ  

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *