नेता र ब्यापारीका हातमा प्रधानमन्त्री कृषि परियोजना, सभामुखको निर्वाचन माघ १२ गते, नेकपाका कार्यकर्ताले हेप्न नपाउने

माघ ७, काठमाडौं । राजधानीबाट प्रकाशित आजका पत्रपत्रिकाले प्रतिनिधिसभा निर्वाचनको मिति तय भएको समाचारलाई प्राथमिकताका साथ प्रकाशित गरेका छन् । कान्तिपुर दैनिक, अन्न पुर्ण पोस्ट, नागरिक दैनिक, नयाँ पत्रिका, राजधानी दैनिक, गोरखापत्र तथा नेपाल समाचारपत्रले अन्य विषयहरु समेटेपनि सभामुख निर्वाचनको समाचार भने सबैले प्रकाशित गरेका छन् ।   

आजको नयाँ पत्रिकाले कभर स्टोरीमा जिल्ला ब्यूरोको संयोजनमा प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना वास्तविक कृषकलाई नभएर नेता र पहुँचवाला ब्यापारीले पाइरहेको समाचार छ ।   

‘कृषिको एक अर्ब अनुदान जम्मा १० निजी कम्पनीको पोल्टामा’ शिर्षकमा प्रकाशित समाचार अनुसार प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाबाट १०–१० करोड अनुदान पाउनेमा किसान होइन, नेता र पहुँचवाला व्यापारी छन् । शतप्रतिशत स्वामित्व व्यक्तिको हुने शीतभण्डारमा ७० प्रतिशतसम्म सरकारी अनुदान, दुई करोडसम्म पेस्की लगेका कतिले जगसमेत खनेका छैनन् । 

प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनामा अनुकूल कार्यविधि बनाएर पहुँचका आधारमा एकै व्यक्तिलाई साढे ११ करोडसम्म बाँडिएको छ । ७० प्रतिशत सरकारी लगानीमा निर्माण हुने संरचनाको शतप्रतिशत स्वामित्व भने व्यक्तिको हुन्छ । वितरित रकममा अनियमितता भएको भन्दै अख्तियारले छानबिन थालेको छ । नेता र निकट व्यापारीसँग सम्झौता गर्ने परियोजनाका आठ कर्मचारी भ्रष्टाचार मुद्दामा निलम्बित छन् ।   

परियोजनाले झापा, मोरङ, सुनसरी, सर्लाही, धनुषा, नुवाकोट, धादिङ, कपिलवस्तु, बाँके र कैलालीका दश कम्पनीसँग एक अर्ब ६ करोेडको सम्झौता गरेको छ । शीतभण्डारको भौतिक पूर्वाधार निर्माण तथा मेसिनरी उपकरण खरिद र जडानका लागि सरकारले अधिकतम ७० प्रतिशतसम्म अनुदान दिएको छ । तर, ३० प्रतिशत लगानी गर्ने कम्पनीका नाममा शीतभण्डार चल्नेछ, जसमा किसानको कुनै स्वामित्व हुनेछैन । केही कम्पनीले त सरकारी अनुदानबाटै सबै काम गरेर दोब्बर खर्चसमेत देखाएका छन् । अहिले शीतभण्डार गृह निर्माण गरिरहेका कम्पनीले गत साउनसम्ममा २२ करोड १९ लाख लगिसकेका छन् । दुई कम्पनीले त पूरै भुक्तानी पाइसकेका छन् ।   

यस्तै आजको नागरिक दैनिकले ‘संसदको गतिरोध हट्यो’ शिर्षकमा प्रतिनिधिसभामा सभामुख चयन प्रक्रिया शुरु भएको समाचार प्रकाशित गरेको छ । साथमा सरकारको हेलचेक्राईका कारण पदयात्रा जोखिमपूर्ण बनेको अर्को समाचार प्रथम पृष्ठमा छ ।   

राजधानी दैनिकले भने नेकपाभित्र सुद्धिकरण अभियान शुरु गरिएको समाचार छ । पार्टी भित्र नेता कार्यकर्ता नै अनुशासनमा नरहेको निष्कर्ष निकाल्दै सुद्धिकरण अभियान थालिने भएको छ ।   

नेकपाले आफ्ना नेता–कार्यकर्तालगायत सदस्यलाई सबैसँग मर्यादित, सरल र मिठासपूर्ण भाषा प्रयोग गर्दै अनुशासित, नैतिकवान् र जिम्मेवार बन्न निर्देशन दिएको छ । नेकपाले जारी गरेको आचारसंहितामा आफ्ना सदस्यलाई अनुशासन, जिम्मेवारीबोध र कर्तव्यबोधको पाठ सिकाइएको छ । 

सोमबार जारी गरेको ११ बुँदे आचारसंहितामा पार्टीका नेता, कार्यकर्तासहित सबै सदस्यले अब शिष्ट भाषा प्रयोग गर्नुपर्ने उल्लेख छ । भ्रष्टाचार, कालोबजारी, गैरकानुनी कमिसन, करछली, अनियमितताजस्ता अपराध नगर्ने, गर्न नदिने तथा आफूसँग प्राप्त सूचना सरकारलाई उपलब्ध गराउने कर्तव्य निर्वाह गरी नमुना बन्नुपर्ने आचारसंहितामा उल्लेख छ । आचारसंहिता उल्लंघन गर्नेको सदस्यता खारेज गर्ने चेतावनी पनि नेकपाले दिएको छ । यो निर्देशनसँगै नेकपा सदस्यले अब कसैलाई पनि हेप्न र होच्याउन पाउनेछैनन् । 

यस्तैगरी नेपाल प्रहरीमा भर्ना भएका कर्मचारीमा जागिरप्रतिको निराशा बढ्दै गएको पाइएको छ । विगत साढे दुई वर्षको अवधिमा नेपाल प्रहरीतर्फ विशिष्ट तह (डीआईजी)देखि तल्लो तह (प्रहरी कार्यालय सहयोगी) सम्मका ६ हजार ८४६ जनाले राजीनामा दिएका छन् । 

प्रहरी प्रधान कार्यालयको तथ्यांकअनुसार दैनिक रूपमा सात जनाले राजीनामा दिने गरेको पाइएको हो ।   

आजको कान्तिपुर दैनिकले ललिता निवास जग्गा प्रकरणको समाचार प्रकाशित गरेको छ । कान्तिपुरका अनुसार प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले ललिता निवास जग्गा अनियमितता प्रकरणमा संलग्नहरूमाथि भ्रष्टाचारको आरोपका अतिरिक्त ठगी र किर्तेको अभियोगमा कारबाही गर्न सरकारलाई सिफारिस गरेको छ ।   

भूमाफिया र कर्मचारीको मिलेमतोमा बालुवाटारको १ सय १४ रोपनी जग्गा हिनामिनाको घटना अनुसन्धान गरेको सीआईबीले उच्च पदस्थ सरकारी अधिकारी र मालपोतका कर्मचारीदेखि भूमाफियासम्मको मिलेमतोमा सरकारी जग्गा व्यक्तिका नाममा दर्ता भएको निष्कर्ष निकालेको छ । यस्तै गरी अबैध क्रसर उद्योगलाई राजनीतिक संरक्षण दिइएको अर्को समाचार पनि छ ।   

अन्नपूर्ण पोस्टले भने प्रतिनिधिसभा सभामुख छनौटमा देखिएको भित्रिपाटोलाई केलाएको छ । साथमा सैनिक सहचारी थपिने अर्को समाचार पनि छ ।   

हेर्नुहोस आजको पत्रिकाहरुको प्रथम पृष्ठ 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *