चितवनमा नेकपालाई धक्का, तीन वटै वडामा कांग्रेसको जित

मंसिर १५ गते । चितवनको तीन वटै वडामा नेपाली कांग्रेस विजयी भएको छ । भरतपुर महानगरपालिका १६, खैरहनी नगरपालिका ४ र ५ का तत्कालीन वडा अध्यक्षहरुको निधन भएपछि शनिबार भएको उपनिर्वाचनमा कांग्रेसले जित निकालेको हो ।   

यी तीन वटै वडामा कांग्रेसका उम्मेदवार विजयी भएका छन् । भरतपुर १६ मा गत चुनावको नतिजालाई उल्टाई दिएको छ । स्थानीय तहको निर्वाचनमा सो वडामा तत्कालीन एमालेले जित हात पारेको थियो । तर पार्टी एकीकरणपछि पनि सत्तारुढ दल नेकपाका उम्मेदवारलाई कांग्रेसका उम्मेदवारले हराई दिएका छन् ।   

भरतपुर १६ मा नेपाली कांग्रेसका उम्मेदवार अमृतराज हमाल ३ सय ८ मतान्तरले विजयी भए । अन्तिम परिणाम अनुसार काग्रेसका अमृतराजले ३ हजार १ सय ८३ मत पाउँदा नेकपाका उम्मेदवार भक्तराज हमालले २ हजार ८ सय ७५ मत प्राप्त गरेका थिए ।   

चितवनको तीन वटा वडामध्ये भरतपुर १६ लाई महत्वका साथ हेरिएको थियो । त्यो वडामा नेकपाले सहज जित निकाल्ने आंकलन पनि गरिएको थियो । तर नजिता सोचेभन्दा फरक भैदियो । भरतपुर १६ नेकपाका अध्यक्ष पुष्पकमल दाहालको गृह जिल्ला तथा उनकै क्षेत्र पनि हो ।   

उता चितवनकै खैरहनीमा पनि कांग्रेसका उम्मेदवार भान्जाले नेकपाका उम्मेदवार मामालाई हराए । खैरहनी ४ मा नेकपा र नेपाली कांग्रेसबीच कडा टक्कर हुने अनुमान गरिएपनि सुरुवातदेखि नै नेपाली कांग्रेसका उम्मेदवारले अग्रता लिएका थिए । सो वडामा नेपाली कांग्रेसका उम्मेदवार देववहादुर बस्नेत १५२ मतान्तरले विजयी भए । बस्नेतले १ हजार १ सय ३८ मत पाउँदा उनका निकटतम प्रतिद्धन्द्धी नेकपाका वेदबहादुर अधिकारीले ९ सय ८६ मत प्राप्त गरे । नाताले बस्नेत भान्जा र अधिकारी मामा हुन् ।   

खैरहनी ५ नेपाली कांग्रेसबाट प्रतिमा कार्की बस्नेत ८६ मतान्तरले  विजयी भईन् । कार्कीले ८ सय ४२ तथा नेकपाका पुननारायण प्रधानले ७ सय ५६ मत ल्याए । खैरहनीको दुवै वटा वडामा यसअघि पनि कांग्रेस नै विजयी भएको थियो ।  २०७४ माघ ६ गते सवारी दुर्घटनामा परि खैरहनी ४ का तत्कालीन अध्यक्ष नरेन्द्र अधिकारी र खैरहनी ५ का तत्कालीन अध्यक्ष विश्वबिजय वस्नेतको निधन भएको थियो ।  

खैरहनी ५ मा विजयी प्रतिमा तत्कालीन वडाध्यक्ष विश्वविजय बस्नेतकी श्रीमती हुन् । 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

1 × five =