कैदीका रोजाइमा डिल्लीबजार कारागारः किन चाहन्छन् जान ?

पुस २, काठमाडौं । कारागार भन्नेबित्तिकै अहिले दुई–तीन वटा पक्ष मात्रै बाहिर आइरहेका छन् । राज्यदेखि सञ्चार माध्यमसम्मको नजर भौतिक पक्षहरुमा मात्रै बढी गएको देखिन्छ ।
कारागार कतिको जीर्ण छ, कैदीलाई भित्र कसरी राखिएको छ ? उनीहरु के खान्छन् ? सुरक्षाकर्मी छन् कि छैनन् ? यी यावत् कुराहरु मात्रै हेरिन्छ । योसँगै अर्को महत्वपूर्ण पक्ष ‘सुधार’ पनि हाे । यसमा राज्यस्तरबाटै त्यति जोड दिइएको देखिँदैन ।
कारागार एक सुधार केन्द्र पनि हो । जहाँ वर्षौ बिताएर फर्किँदा कोही सुध्रियोस् । अपराध विमुख होस् । नुनदेखि सुन चोर्नेसम्म एकैठाउँ हुन्छन् । अपराध र सजाय कबुल गरेपनि कतिपयलाई त्यहाँ घुलमिल हुन गाह्रो हुन्छ । डिप्रेश हुन्छन् ।

अर्को त कैदी भन्नेबित्तिकै समाजमा एउटा छुट्टै छाप छ । उनीहरुलाई नराम्रो, खराब नजरले हेर्ने गरिन्छ ।
मानिसलाई कैदी के ले बनाउँछ ? लोभ-लालच, आवश्यकता भन्दा बढी महत्वकांक्षा, सामाजिक र पारिवारिक परिवेश । यस्तै त्यस्तै हुन्छन् कारण ।
उनीहरुलाई पुनः समाजमा स्थापित गराउन कारागारको भूमिका कस्तो रहन्छ ?
जेल पुगेपछि पनि कैदी खराब आचरण सहितै बाहिर निस्किन्छन् त ? उनीहरु सुध्रिन चाहँदैनन् ? सुधारका लागि कारागारमा के कस्ता प्रयासहरु हुन्छन् ?
जेलभित्र रहेका कैदीबन्दीको आचरण सुधारसहित मनोबल बढाउन व्यवसायदेखि काउन्सिलिङसम्म गरिने डिल्लीबजार कारागारका जेलर अरुण पोखरेल बताउँछन् ।
उनका अनुसार व्यक्तिगत रुपमै पनि मोटिभेसन गरिन्छ । कतिपय मानिसहरु सुरुमा आउँदा डिप्रेश हुन्छन् । कारागार भित्रको वातावरणसँग घुलमिल हुन सकिरहेका हुँदैनन् । काउन्सिलिङ गरिन्छ । ‘विभिन्न नीजि क्षेत्र, ऐनजीओहरु तथा धार्मिक संस्थाको समन्वयमा पनि मोटिभेसन, योग, ध्यान, जनचेतनामुलक, शारीरिक, मानसिक लगायतका विविध कार्यक्रमहरु गरिन्छ’, जेलर पोखरेल भन्छन् ।
यस्ता कार्यक्रमले कैदीबन्दीहरुमा केही हदसम्म परिवर्तन आउने उनको भनाइ छ ।
‘मान्छे परिवर्तन हुनु सरल हो तर अलिकति जटिल पनि हुन्छ । कतिपय कैदीहरु आफ्नो गल्ती स्वीकार गर्नै सक्दैनन् । आफूले गरेका जुनसुकै कार्य सही हो भन्ने भ्रम हुन्छ । उनीहरुलाई सुधार्न कठिन छ । उमेरले पनि फरक पार्छ’, पोखरेल भन्छन्– ‘एक दुई महिने छोटो अवधिका मान्छेलाई त्यति सुधार गर्न सकिँदैन । लामो अवधिसम्म बसेका लगभग ९० प्रतिशत कैदीहरु बाहिर सुध्रिएरै निस्किएका हुन्छन् ।’
सुध्रिएका मानिसहरु बाहिर निस्किसकेपछि नयाँ ढंगले जीवन बिताउन चाहन्छन् । विगतबाट पाठ सिकेर जीवन अघि बढाउन चाहन्छन् ।
कारागारमा व्यवसायः घरमा पनि पठाउँछन् कैदीले खर्च
जेलको स्थापना भएदेखि नै व्यवसाय सुरु गराइएको हो । कतिपय कारागारमा कैदीबन्दीकै प्रयासमा हुन्छ भने कतिपय कारागारमा सरकारले नै कारखाना राखिदिएको छ ।
डिल्लीबजार कारागारमा केन्द्रिय कारागारमा जस्तो सरकारी तवरबाट सञ्चालनमा आएका कलकारखानाहरु छैनन् । त्यहाँ नीजि क्षेत्र तथा ठेकेदारसँगको समन्वयमा कैदीबन्दीले आफ्नै पहलमा व्यवसाय गरेका छन् । उनीहरु सामूहिक रुपमा काम गरी नीजि क्षेत्रसँग समन्वय र सम्पर्कमा बेच्ने गर्छन् ।
अहिले कारागारमा कैदिबन्दीले पोते बुन्ने, गलैँचा र चाँदीका गरगहना बनाउने, फर्निचर सम्बन्धी कामहरु गर्छन् । ज्याला निर्धारण पनि उनीहरु आफैँ गर्छन् । कारागारले न पैसा दिन्छ, न लिन्छ ।
कारागारभित्र काम गर्ने/नगर्नेमा कैदी स्वतन्त्र छन् ।
कुनै विवाद भएमा मात्रै कारागारले हेरफेर गर्ने, मिलाउने काम गर्छ । दैनिक ज्यालामा भन्दा ठेक्कामा काम गर्ने हुन्छ । दैनिक कति ज्याला भन्ने हुँदैन । इनकम बाहिरको भन्दा राम्रै छ, भनिन्छ ।
काम गर्दा उनीहरु फ्रेस हुने तथा सिर्जनशिताको विकास हुने जेलर पोखरेल बताउँछन् । उनका अनुसार उनीहरुले यहाँ काम गरेर आफ्ना लागि खर्च जुटाउँछन् । कतिले भने परिवारलाई समेत पठाइरहेका हुन्छन् ।
कैदीबन्दीको सेवा सुविधा
कारागारको नियम अनुसार यहाँका कैदीहरुलाई दैनिक ७ सय ग्राम चामल र ६० रुपैयाँ दिने गरिन्छ । थप सुविधाका रुपमा बार्षिक २ जोर लुगा, जाडो महिनामा सिरक, डस्ना दिने गरिन्छ । त्यो बाहेक कैदीहरुले औषधी उपचारहरु पनि पाउँछन् ।
सामूहिक रुपमा मेस बनाएर आफैँले पकाउने, खाने गर्छन् । सरकारले छुट्टै भान्सा बनाएर दिने भन्ने हुँदैन । छैन । स्व इच्छाले जे मन लाग्छ त्यही बनाएर खान्छन् । यसो भएमा बिरामीहरुले पनि आफ्नो इच्छा र स्वास्थ्य अनुसारको खाना खान पाउँछन् । खानाको विषयमा सबै सेल्फ म्यानेज्मेन्ट हो ।
त्यस्तै पढाइको सन्दर्भमा यहाँ कैदीका लागि छुट्टै स्कूल, कलेज छैन । अहिलेसम्मको ट्रेन हेर्ने हो भने कारागारभित्रै प्राइभेट तवरबाट स्वाध्ययन गर्ने हुन्छन् । अनि टियूले सेन्टर त्यहाँ पारिदिने र परीक्षा लिएर जाने सिस्टम छ । प्राइभेट परीक्षामा सहभागी हुन पाउँछन् ।
कतिपय किताबहरु लाइब्रेरीमा हुन्छन् भने कति कैदी आफैँले किन्नुपर्ने हुन्छ ।
रोगी, निरोगी एकै ठाउँ !
कारागारमा पछिल्लो समय नसर्ने रोगहरु बढेको पोखरेल बताउँछन् । सुगर, प्रेसर तथा सिजनल रोगहरु पनि हुन्छन् । त्यस्ता कैदीबन्दीका लागि एक सिनियर अहेब रहेको र उनले त्यहीँ चेकजाँच गर्ने खरेलले जानकारी दिए ।
यदी कारागारमा उपचार सम्भव नहुने देखिएमा अहेबको राय बमोजिम सम्बन्धित अस्पतालमा रिफर गरिन्छ । मंगलबार मात्रै ७ जनालाई अस्पताल पठाइएको थियो ।
नसर्ने रोगहरु भएका कारण खासै त्यस्तो समस्या नहुने र सबैलाई एकै ठाउँमा राख्ने गरिएको पोखरेलको भनाइ छ ।
यदि कुनै कैदी बिरामीलाई छुट्टै राख्नुपर्ने अवस्था आएमा केन्द्रिय कारागारमा भएको अस्पताल रिफर गरी त्यहीँ राख्ने व्यवस्था मिलाउने गरिन्छ ।
कार्यालयका तर्फबाट हामीले कैदीलाई हस्पिटल पठाउने कुरा, स्वास्थ्य चेकजाँचका कुरा, कैदीबन्दीलाई काउन्सिलिङ गर्ने कुरा, कतिपय अवस्थामा हेर्दाहेर्दै पनि कताकति ६–७ सय जनालाई म्यानेज गर्ने कुरा आउँछ, त्यतिबेला केही तलमाथि हुन सक्ने उनले बताए । त्यस्ता मान्छेलाई कारवाही गर्न आफूहरु एकदम एक्टिभ भएर लागिरहेको उनको दाबी छ ।
कैदीबन्दीका गुनासा र व्यवस्थापन
कैदीका अधिकांश गुनासा सजायका हुन्छन् । ‘मैँले यस्तो सजाय पाउनु हुने थिएन’ भन्छन् । भित्री वातावरणको विषयमा भने गुनासा कमै आउने गरेको उनले बताए ।
४ रोपनि जग्गामा फैलिएको यस कारागार विदेशी कैदी बन्दी र राजनीतिक व्यक्तित्वहरूका कारण पनि चर्चामा आउने गर्दछ । यहाँ सबैलाई समान व्यवहार गरिने उनले बताए ।
यहाँ भेटघाटलाई पनि खुकुलो बनाइएको छ । अन्य कारागारमा भन्दा सहज छ । यहाँभित्र झैझगडा पनि कम हुने, अदालती कामकारवाही पनि छिटो तवरबाट सम्पन्न गरिदिने, शान्त वातावरण भएका कारण कैदीहरु यहाँ आउन चाहने उनको भनाइ छ ।
कारागारको क्षमताभन्दा दोब्बर कैदीः किन ?
डिल्लीबजार कारागारको क्षमता करिब ४ सय जतिको छ । मंगलबार २ बजेसम्म विभिन्न २१ अपराधमा कैदीबन्दी संख्या ६१७ छ । यो झण्डैँ दोब्बर संख्या हो । जसमा २७ जना विदेशी छन् ।
‘एक त समाजमा आउँदा दिन कति अपराधी हुन्छन्, कुन हिसाबले अपराधीको संख्या बढ्छ ? यो हप्ता कतिले मान्छे मार्छन् भन्ने यकिन हुँदैन । नयाँ नयाँ ऐनहरु आइरहेका हुन्छन् । समाजमा यो पनि अपराध हो र ? भन्ने एक समूह पनि हुन्छन् जस्तो बहुविवाह । कारागार बढ्दैन, कैदी थपिँदै जान्छन् । जसले गर्दा कैदी संख्या दोब्बर हुन आएको हो’, जेलर पोखरेलको भनाइ छ ।
अर्को कुरा कस्तो खालको अपराध बढ्दैछ ? नयाँ ऐनले कस्तो व्यवस्था गरेको छ । समाजमा कस्तो असर पर्छ ? नयाँ ऐन आउनेबित्तिकै अपराध बढाउँछ कि त ? यस्तो खालको एनालाइसिस गर्ने । अनि कारागार कति क्षमताको बनाउने ? कारागारको क्षमता कति हुनुपर्ने हो, एउटा कैदीबन्दीका लागि कति एरिया छुट्याउनु पर्ने हो, उनीहरुले खास पाउने सुविधा के हो भन्ने कुराको कुनै मापक छैन ।
कारागारको विस्तृत भिजन निकाल्न सके मात्रै कारागारको क्षमता अनुसार कैदी राख्न सम्भव हुन सक्छ ।
यसै समस्यालाई मध्येनजर गर्दै नुवाकोटमा ७ हजार बढी कैदी अट्ने कारागार बन्दैछ । अन्य ठाउँहरुमा पनि प्रक्रिया अघि बढाइएको छ । यो बनेपछि केही हदसम्म यी समस्या समाधान हुन सक्छ । फेरि कैदी बढे भने अवस्था त्यही हो । कि अपराध घटाउनतिर लाग्नुपर्यो ।
किन बढ्यो अपराध ? न्यूनिकरण कसरी गर्ने ?
अपराधी भनेका समाजका चित्रण हुन् । कुनै अपराधमा केस बढ्यो भने किन बढ्यो त ? सम्बन्धित निकायको ध्यान त्यतातिर गएको देखिँदैन ।
सामाजिक अवस्थाले त्यसलाई अभिप्रेरित गर्यो कि, युवावर्गमा अलि डिप्रेशन भएर त्यस्तो भयो कि ? यसलाई नै न्यूनिकरण गर्ने हो भने, कारागारले मुल्यांकन तथा योजना बनाउने हो भने अपराध न्यूनिकरण हुन सक्छ ।
न त सामाजिकिकरण गर्नेतर्फ हाम्रो ध्यान पुगेको छ । अर्को पक्ष चाँडै सफलता खोज्ने, पैसा कमाउने भनेर अपराधतिर लाग्ने प्रवृत्ति पनि मौलाउँदो छ ।
कतिपय राम्रा मान्छे पनि हुन्छन् । आवेशमा आएर अपराधी बन्छन् । अर्को भनेको मानिसमा महत्वकांक्षा बढ्यो । वैदेशिक रोजगार, ठगी, चोरी, डकैती बढ्नुका कारण आर्थिक, सामाजिक संरचनामा आएको परिवर्तनले नै हो ।
अपराध न्यूनिकरणमा सबैभन्दा ठुलो हात परिवार र समाजको हुन्छ । परिवार र समाजले आफ्ना बच्चाहरुलाई कसरी इस्कुलिङ गर्छ ? कस्तो शिक्षा दिन्छ ? त्यसमा निर्भर गर्छ ।
अर्को कुरा कैदीबन्दीमा यहाँभित्र भाइचारको सम्बन्ध बनेको हुन्छ । बाहिर हेर्दा समाजले कैदी भन्नेबित्तिकै झगडा गर्ने, एकदम नमिल्ने खालका हुन्छन् भन्ने खालका नकारात्मक सोच राखेका हुन्छन् ।
हामीले के गर्नुपर्छ भने अपराधीलाई होइन अपराधलाई मार्ने हो । अपराधीलाई मारेर अपराधको अन्त्य हुने भए अपराध नै रहँदैन थियो ।
अर्को जो मान्छे भित्र बसिसकेका छन्, कानुनी सजाय पाइसकेका छन्, उनीहरु सुध्रिएर नै बाहिर निस्किएका हुन्छन् । समाजले उनीहरुलाई स्वीकानुपर्यो । उनीहरुलाई गिराउँदा पुनः अपराधतर्फ उन्मुख हुन सक्छन् ।
भूकम्पपछिको कारागार र पुर्नसंरचना
१ सय ५० वर्ष पुरानो डिल्लीबजार कारागारको छेउ पुग्दै डरमर्दो छ । एक त संरचना पुरानो अर्को ०७२ को भूकम्पले थर्काएको । निकै धराप देखिन्छ ।
०७२ को भुकम्पले अलिकति क्षति पुगेको र त्यसलाई इन्जिनियरको सल्लाहबमोजिम रेट्रोफिटिङ गरिएको पोखरेलले जानकारी दिए ।
‘यसलाई अब नयाँ संरचना बनाउने कि भनेर हामीले प्रस्ताव गरेका छौँ । कार्यालय बाहिर सार्ने, प्रहरीलाई छुट्टै टहरा बनाउने लगायतका कामका लागि लगभग ६० लाखको अनुमान गरेका छौँ’, उनले भने ।
यहाँ सुरक्षाका लागि प्रहरी दरबन्दी १२५ जनाको छ तर कार्यरत भने ६०/७० जना मात्रै छन् ।
देशभर करिब २२ हजारको हाराहारीमा कैदीबन्दी रहेको अनुमान छ ।








