प्रधानमन्त्री बिना नै नेकपा सचिवालय बैठक सुरु

मंसिर २३, काठमाडौँ । सोमबार सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को केन्द्रीय सचिवालय बैठक सुरु भएको छ ।
दिउँसो १ बजे नेकपाका अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्माओलीको उपस्थित बिना नै धुम्बराहीस्थित नेकपाको पार्टी कार्यालयमा बैठक सुरु गरिएको हो ।
केही दिनअघि मात्र त्रिवि शिक्षण अस्पताल महाराजगन्ज परिसरमा रहेको मनमोहन कार्डियोथोरासिक भास्कुलर तथा ट्रान्सप्लान्ट सेन्टरमा एपेन्डिसाइटिसको शल्यक्रिया गरेका प्रधानमन्त्री ओलीले आफ्नो स्वास्थ्यको कारण बैठकमा उपस्थित हुन नसकेका हुन् ।

नेकपाको अर्का अध्यक्ष तथा पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को उपस्थितीमा आजको बैठक बसेको हो । यस बैठकमा पेश गरिने एजेण्डाका बारेमा प्रचण्डले आइतबार नै पार्टीका नेतासँग छलफल गरेको बताईएको छ ।
आजको बैठकमा प्रचण्डले विभिन्न बैचारिक तथा सांगठानिक प्रस्ताव पेश गर्ने तयारी रहेको छ ।
यसअघि प्रचण्डको अध्यक्षतामा मंसिर १८ गते बसेको सचिवालय बैठकले उपनिर्वाचनको परिणामको समीक्षा गर्न निर्देशन दिएको थियो ।








