काठमाडौंमा चिसो झनै बढ्यो, न्यूनतम तापक्रम ०.९ डिग्री

पुष, १० काठमाडौं । बिहीबार काठमाडौं उपत्यकाको तापक्रम घटेर ०.९ डिग्री पुगेको छ । हिजो बुधबार न्यूनतम तापक्रम २.९ डिग्री रहेकोमा आज तापक्रम घटेर ०.९ डिग्री पुगेको हो । ।
मौसम पूर्वानुमान महाशाखाका अनुसार, बिहीबार बिहान ८ः४५ बजे काठमाडौं उपत्यकाको तापक्रम ०.९ मापन भएको हो ।
मौसमविद् सजिना शाक्यका अनुसार, बिहीबार बिहान ५ः४५ मा काठमाडौंको न्यूनतम तापक्रम १ डिग्री थियो । त्यसको ३ घण्टापछि गरिएको अर्को मापनमा अझै घटेर ०.९ पुगेको छ । दिउँसोको समयमा भने तापक्रम बढ्ने मौसमविद्को प्रक्षेपण छ । मौसमविद्का अनुसार, आज काठमाडौंको अधिकतम तापक्रम १६.७ डिग्री सेन्टिग्रेडसम्म उक्लन सक्छ ।

महाशाखाको बिहीबार बिहानको मौसम मापन विवरण अनुसार, जुम्लाको तापक्रम माइनस ७ डिग्री सेन्टिग्रेडमा झरेको छ । डडेल्धुरा, वीरेन्द्रनगर, दीपायल, ओखलढुंगासँगै ताप्लेजुङमा पनि चिसो बढेको छ । महाशाखाका अनुसार, डडेल्धुरामा १.७, वीरेन्द्रनगरमा २, दीपायलमा ३.५, ओखलढुंगामा ३.५ र ताप्लेजुङमा ४.४ सेन्टिग्रेड न्यूनतम तापक्रम छ ।
जाडो बढेसँगै तराई मधेसका जिल्लाको जनजीवन शितलहरका कारण प्रभावित भएको छ ।








