इक्यानमा फर्किएका सरोज बस्नेतसहित ४० जनालाई अध्यक्षले गरे भव्य स्वागत

पुस १४, काठमाडौं । शैक्षिक परामर्श संघ (इक्यान) मा फर्किएका सरोजकुमार बस्नेतसहित ४० जनालाई अध्यक्ष विष्णुहरी पाण्डेले स्वागत गरेका छन् ।
सोमबार डिल्लीबजारस्थित इक्यानको कार्यालयमा फुटेर गएका सरोजकुमार बस्नेतसहितको टिमलाई अध्यक्ष पाण्डेले अविर, खादा र प्रमाणपत्रसहित स्वागत गरेका हुन् ।
पाण्डेले बस्नेतलाई इक्यानको सल्लाहकारको जिम्मेवारी दिइएको प्रमाणपत्र समेत प्रदान गरे । साथै अन्य सबै नयाँ सदस्यलाई समेत प्रमाण पत्र वितरण गरिएको थियो ।

ठूलो टिमलाई एकैसाथ स्वागत गर्दै अध्यक्ष पाण्डेले अब सबै एकजुट भएर अगाडि बढ्नु पर्ने बताए । ‘यो जुट्ने बेला हो, त्यसैले सबै एकैठाउँ उभिनु पर्छ, नीतिगत तहदेखि हरेक काममा एकजुट भएर अगाडि बढ्नुपर्छ,’ अध्यक्ष पाण्डेले भने ।
कार्यक्रममा बोल्दै महासचिव शेषराज भट्टराईले उनीहरु केही समय भ्याकेसनमा गएको र फेरि फर्किएर घर आएको भन्दै स्वागत गरेका थिए ।
सरोज बस्नेतले हिजोका दिनमा जे जस्तो गल्ती भए पनि अब आगामी दिनमा मिलेर अगाडि बढ्नुपर्ने बताए । साथै उनले आफूहरुलाई इक्यानले गरेको स्वागतबाट निकै खुशी भएको समेत बताए ।
आगामी पुस २६ गते हुने साधारण सभा भव्य बनाउन सबै मिलेर अगाडि बढ्नुपर्ने उनको भनाइ थियो ।
‘पेन्सिलमा पनि इरेजर हुन्छ, केही गल्ती भए मेट्नुपर्छ, हामी मानिसले पनि कहिले काँही काम गर्दा गल्ती हुन सक्छ त्यसैबाट पाठ सिकेर अगाडि बढ्ने हो,’ बस्नेतले भने ।








