शीतलहरसँगै बढेको चिसोले मधेसमा सकस, जनजीवन प्रभावित

पुस २, काठमाडौँ । प्रदेश २ मा पर्ने मधेसका जिल्लामा दुई दिनदेखिको शीतलहरले जनजीवन प्रभावित भएको छ।
शीतलहरसँगै बढेको चिसोले बजार तथा कार्यालयहरूमा हुने चहलपहलमा पनि कमी आएको छ। शीतलहर र हुस्सुले भिजिबिलिटी कम भएपछि बिहान सडकमा सवारीसाधन चलाउन कठिन भएको छ।
शीतलहरले प्रदेश २ का पर्सा, बारा, रौतहट, सर्लाही, महोत्तरी, धनुषा, सिरहा र सप्तरीको जनजीवन प्रभावित भएको हो। शीतलहरसँगै हुस्सुले नजिकै पनि देख्न नसकिने भएपछि गाडी चलाउन कठिन भएको सवारीचालक बताउँछन्।
null
शीतलहरका कारण तराई/मधेसका बजारमा मानिसको चहलपहल कम हुन थालेको छ। विद्यालय, क्याम्पसमा विद्यार्थीको उपस्थिति घटेको छ भने न्यानो कपडा बिक्रीबाहेक अन्य व्यापार–व्यवसायमा मन्दी आउन थालेको छ।
सर्वसाधारण आगो तापेर चिसो छल्ने प्रयास गरिरहेको देखिन्छ। तराई/मधेसमा पुस पहिलो सातादेखि सुरु हुने शीतलहर माघ अन्तिमसम्म रहन्छ। यस अवधिमा मधेसी समाजको जनजीवन कष्टकर हुन्छ।
तराईरमधेसमा चिसोले खासगरी विपन्न परिवारका मानिस न्यानो लुगा अभावमा प्रताडित हुन्छन्। यस वर्ष पनि शीतलहरबाट मुसहर, चमार, डोमलगायत विपन्न वर्ग बढी पिरोलिएको देखिन्छ। याे समाचार नागरिक दैनिकले छापेकाे छ ।








