सिन्धुपाल्चोक दुर्घटनाः प्रधानमन्त्रीले भावुक हुँदै भने- ‘निन्द्रा परेन, खाना खान पनि सकिनँ’

मंसिर ३०, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले सडक दुर्घटना न्यनिकरण गर्ने कार्ययोजना बनाएर तत्काल लागु गर्न निर्देशन दिएका छन् ।   

आइतबार १५ जनाको मृत्यु हुनेगरी सिन्धुपाल्चोकमा भएको दुर्घटनाको भोलिपल्ट गृह र भौतिक पूर्वाधार तथा यातायातमन्त्री तथा मन्त्रालयका पदाधिकारीलाई बालुवाटार बोलाएर प्रम ओलीले यस्तो निर्देशन दिएका हुन् ।   

बैठकमा गृहमन्त्री रामबहादुर थापा, भौतिक पूर्वाधार तथा यातायात मन्त्री बसन्तकुमार नेम्वाङ, गृहसचिव, भौतिक पूर्वाधार तथा यातायात सचिव, प्रहरी प्रमूख, ट्रफिक प्रहरी प्रमुख, सडक विभाग र यातायात व्यवस्था विभागका महानिर्देशक लगायत सहभागी थिए ।   

घटनाबारे चासो लिँदै उनले ‘सवारी दुर्घटनामा आमाको निधन भएर दूधे बालक बेवारिस भएको खबर पढ्दा आफू निकै भावुक भएको’ बताए ।   

‘दुर्घटनामा भएको मानवीय क्षतिले मलाइ निन्द्रा परेन । बिरामी अवस्थामा रहेर हो कि म निकै भावुक भएँ । हिजो खाना खान र सुत्न पनि सकिनँ’, प्रधानमन्त्रीले भने ।   

यस्ता दुर्घटनाले ठूलो संख्यामा सक्षम जनशक्तिको क्षति भएको उनको भनाइ छ । उनले भने, ‘यस्ता दुर्घटनाले बृद्धबृद्धा र बालबालिकालाई बेसाहारा बनाएको छ । यसलाई रोक्ने कार्ययोजना बनाउनुपर्‍यो । सडक नियम पालना गराउनु पर्यो ।’ 

आइतबार सिन्धुपाल्चोकको ६ किलोस्थित बस दुर्घटना हुँदा १५ जनाको मृत्यु भएको थियो भने १९ जना घाइते भएका थिए ।   

साथै प्रधानमन्त्रीले चालकहरुलाई तालिम दिन तथा लाइसेन्सको पुनर्परीक्षण र सडक पूर्वाधार प्रयोगको अनूमतिमा गम्भीर परीक्षण गर्न समेत निर्देशन दिए ।   

‘सिटभन्दा बढी यात्रु राख्न नदिने, छतमा यात्रु राख्न नदिने, निर्माण पूरा नभएका वा यातायात सञ्चालनका लागि योग्य नभएका सडकमा सञ्चालन अनुमति नदिने, चालकको क्षमता परीक्षण गर्नेजस्ता काम तत्काल गरिहाल्नुस्’ प्रधानमन्त्री ओलीले भने ।   

हवाई दूर्घटनामा जस्तै हरेक सडक दुर्घटनाका कारणहरुको छानविन गरी प्रतिवेदन तयार गर्न ओलीले निर्देशन दिएका छन् । 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

3 × 4 =