महाकालीमा मौका छोप्दै भारत, सीमामा डोजर चलाउँदै

पुस १४, दार्चुला । चिसो बढेकाले नेपालका बासिन्दा तल्लो भेगमा झरेको मौका छोपेर भारतले व्यास गाउँपालिका क्षेत्रमा पर्ने अन्तर्राष्ट्रिय सीमामा धमाधम संरचना निर्माण थालेको छ ।
पश्चिम नेपालको कालापानी, लिपुलेक र लिम्पियाधुरा अतिक्रमण गरी आफ्नो नक्सामा पारेको भारतले नेपाली पक्षको उपस्थिति नभएको फाइदा उठाउँदै एक पक्षीय रूपमा संरचना बनाएको हो ।
सीमा नदी महाकाली किनारमा चट्टानी पहाड फोडेर बाटो बनाउन डोजर चलाउँदै भारतीय पक्ष । यसो गर्दा ढुंगाले पुरिएर नदी प्रभावित त भएको छ नै, वारि नेपालतर्फका घोडेटो बाटोहरूसमेत नदीको कटानले भत्कन थालेका छन् ।

व्यास गाउँपालिका–१ पेल्सिती नजिकै महाकालीमा भारतले अनुमतिबेगर काठेपुल बनाएको छ । महाकाली नदी नै प्रभावित हुने गरी भीर कटान गरेर सडक बनाउने कामलाई पनि तीव्र पारेको छ ।
०७४ सालमा पनि भारतीय पक्षले महाकाली नदीमा नेपालको अनुमति नलिईकनै विभिन्न ठाउँमा काठेपुल बनाउनुका साथै नेपाली भूमिमा एक्स्काभेटर चलाएको थियो ।
चिसोका कारण यतिबेला व्यास गाउँपालिका–२ दुम्लिङभन्दा माथिको क्षेत्रमा बसोबास छैन । व्यासको छाङरुसम्मै आवतजावत गर्दै आएका नेपाली हिमपातपछि तल्लो भेगमा झरिसकेका छन् ।
जाडो बढेकाले त्यस क्षेत्रमा बसोबास गर्ने सबै तल भेगमा झरेको दुम्लिङका स्थानीय जीवनसिंह बुढाथोकीले बताए । दुई वर्षअघि पनि यस्तै मौकामा भारतले नेपालको उक्त क्षेत्रमा काठेपुल निर्माण गरेको थियो । अहिले पनि स्थानीय तल झरेको र हिमपात भएको मौका छोपेर उनीहरूले काठेपुल बनाएका हुन् । यो समाचार कान्तिपूरले छापेको छ ।








