राष्ट्रिय महत्वका विषयमा ६ पार्टीको साझा धारणा सार्वजनिक

पुष १४, काठमाडौं । सीपी मैनाली नेतृत्वको नेकपा माले लगायतका ६ वटा पार्टीले राष्ट्रिय महत्वका विषयहरुमा साझा दृष्टिकोण र नीति सार्वजनिक गरेका छन् । ती दलको यही पुस १३ गते बसेको संयुक्त बैठकले नेपालको व्यास क्षेत्र भारत सरकारबाट खाली गर्नुपर्ने, माथिल्लो कर्णाली जलविद्युत परियोजना सम्बन्धी सम्झौता अविलम्ब खारेज गर्नुपर्ने, एमसीसी कम्प्याक्टबाट नेपालको राष्ट्रिय हित प्रतिकूल भएकाले लागू गर्न नहुने लगायत छन् ।
बैठकपछि नेकपा मालेका महासचिव सीपी मैनाली, नेपाल समाजवादी काँग्रेसका अध्यक्ष गोविन्द निरौला, जनसमाजवादी पार्टी नेपालका उपमहासचिव डम्बरविक्रम कार्की, नेपाल सर्वहारा कम्युनिस्ट पार्टी माओवादीका अध्यक्ष भावना विद्रोही राष्ट्रिय, पुनर्जागरण अभियानका प्रवक्ता निमकान्त पाण्डे, तथा नेपालवाद पार्टीका महासचिव दिपककुमार शर्माले जारी गरेको विज्ञप्तिमा नेपालको दार्चुला जिल्लाको व्यास क्षेत्रमा पर्ने लिम्पियाधुरा, कालापानी र लिपुलेकलाई भारत सरकारले आफ्नो नक्साभित्र पारेकोमा विरोध गर्दै नेपाली भूमि समेटेर नेपालको राजनीतिक नक्सा तयार गर्न र प्रयोगमा ल्याउन सरकारसँग माग गरेको छ ।
त्यस्तै, माथिल्लो कर्णाली जलविद्युत परियोजनाबारे जीएमआर कम्पनीसँग गरिएको पीडीए तत्काल खारेज गर्न पनि माग गरिएको छ । त्यस्तै एमसीसी कम्प्याक्ट सम्झौताले नेपालको संविधान र कानुन भन्दा माथि राखिएको भन्दै त्यसलाई स्वीका नगर्न आग्रह गरिएको छ ।









