एकैरातमा तीन महिलालाई बलात्कार गर्न खोज्ने पक्राउ

पुष २, रुकुम । प्रहरीलले रुकुम (पश्चिम) मा एकै रात तीन महिलालाई बलात्कार गर्न खोजेको आरोपमा एक युवकलाई पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा रुकुम (पश्चिम) को आठबिसकोट नगरपालिका–७ डाँफे टोलमा २२ बर्षीय केशव आरसी रहेको प्रहरीले जनाएको छ ।
प्रहरीका अनुसार पक्राउ परेका आरसी बिरुद्ध पिडित महिलाहरुले उजुरी गरेपछी उनलाई कार्तिक ३० गते दिउँसो आठबिसकोट नगरपालिका–९, राडीबजारबाट पक्राउ गरेको हो ।

आरसीले एकै रात ४५ मिनेटको अन्तरालमा ती तीन महिलाहरुलाई बलात्कार गर्न खोजेको खुल्न आएको प्रहरीले जनाएको छ । छुट्टाछुट्टै स्थानमा घर भएका सो महिलाहरुको बेडरुममा पुगेर बलात्कार प्रयास गरेको जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिमले जनाएको छ ।
प्रहरीका अनुसार पक्राउ परेका आरसीविरुद्ध अदालतमा जवरजस्ती करणी उद्योगको मुद्दा दर्ता गरिएको छ भने अदालतबाट म्याद थप गरेर उनीमाथी थप अनुसन्धान भइरहेको छ ।
जिल्ला प्रहरी कार्यालयका प्रमुख एवं डिएसपी सुमित खड्काका अनुसार कार्तिक २७ गते राति करिब १ बजे उनले एक महिलाको घरको ढोकामा भित्रपट्टीबाट लगाएको आग्लो (चुकुल) बाहिरबाटै खोलेर बलात्कार प्रयास गरेका थिए ।
निज महिलाले प्रतिकार गरेपछि भागेका उनी लगत्तै अर्को घरकी एकल महिलाको कोठामा पुगेर बलात्कार गर्न खोजेका थिए । उनले पनि प्रतिकार गरेपछि भागेका आरसी ४० वर्षीय अर्की महिलाको कोठामा पुगेको प्रहरीको भनाइ छ ।








