पाैडेल देउवा वार्ताः कांग्रेस महाधिवेशनको कार्यतालिकामा मिलेन कुरा

मंसिर २८, काठमाडौं । कांग्रेसको १४ औं महाधिवेशनको कार्यतालिका नल्याउँदासम्म केन्द्रीय कार्यसमिति बैठकमा सहभागी नहुने कांग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेलले बताएका छन् ।   

आफ्नै निवासमा बोहोराटारमा भेट्न आएका पार्टी सभापति शेरबहादुर देउवा र उपसभापति विमलेन्द्र निधिलाई पौडेलले महाधिवेशनको कार्यतालिका सार्वजनिक नगरेसम्म अन्य कुरामा जान नसकिने बताए ।  पार्टी सभापतिसँगै बोहराटार गएका उपसभापति निधिले कार्यतालिका आफ्नो प्रमुख एजेण्डा रहेको पौडेलले बताएको जानकारी दिए ।   

‘उहाँले १४ औं महाधिवेशनको कार्यतालिका नआई हुँदैन भन्नुभयो ।’ निधिले भने । निधिले पार्टी सभापतिले पौडेललाई विभाग गठन, नेपाल विद्यार्थी संघ र तरुण दलको नयाँ समिति गठनमा सहयोग गर्न आग्रह गर्दा पौडेलले महाधिवेशनको कार्यतालिका पहिलो प्राथमिकता हुनुपर्ने बताएको जिकिर गरे । पौडेलको कुरा सुनेपछि सभापति देउवाले समायोजनको काम सकेपछि कार्यतालिका ल्याउने बताएका थिए ।   

Image may contain: 5 people, people smiling, people sitting, table and indoor

कांग्रेस केन्द्रीय कार्यसमितिको बैठकले कात्तिक मसान्तसम्म समायोजनको काम सक्ने र मंसिरमा महाधिवेशनको कार्यतालिका घोषणा गर्ने निर्णय गरेको थियो ।   

राधेश्याम अधिकारी नेतृत्वको कांग्रेसले बनाएको निर्वाचन समितिले २०७४ मा भएको प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनको पूर्वसन्ध्यामा पार्टी एकीकरणमा आएको लोकतान्त्रिक फोरम र अन्य पार्टीबाट कांग्रेसमा प्रवेश गरेका नेता कार्यकर्तालाई समायोजन गर्ने काम सकेपछि महाधिवेशनको कार्यतालिका ल्याउने देउवाले बताएका थिए । तर, बरिष्ठ नेता पौडेलले पहिला महाधिवेशन कार्यतालिकाकै अडान दोहोर्याए । 

‘राधेश्यामजी नेतृत्वको निर्वाचन समितिले समायोजनको काम सकेको प्रतिवेदन पेस गरेपछि कार्यतालिका आउँछ ।’ देउवाले पौडेललाई भने । उनले महाधिवेशनसम्बन्धी काम निर्वाचन समितिले गर्ने भन्दै केन्द्रीय समितिको बहुमतले कार्यसमितिको म्याद थप्ने र समायोजित सदस्यता अनुमोदन गर्ने काम मात्र गर्ने बताए ।   

यता बरिष्ठ नेता पौडेलले पार्टीभित्रका विवादबारे वार्ता गरी समाधान निकाल्न प्रकाशमान सिंहको संयोजकत्वमा दीलेन्द्रप्रसाद बडू र हृदयराम थानी रहेको वार्ता समिति बनाएका छन् । देउवाले वार्ता गर्ने जिम्मेवारी उपसभापति निधिलाई दिएका छन् । 

निधिले यसअघि पनि बार्ता समितिबीच छलफल भएको र फेरि छलफल गरेर समस्याको समाधान निकालिने बताएका छन् । 

पौडेलसँग छलफलमा केन्द्रीय सदस्य हृदयराम थानी सहभागी थिए । थानीले वार्तामा कुनै सहमति नबनेको जानकारी दिए । १४ औं महाधिवेशनको कार्यतालिका ल्याएपछि मात्रै अन्य विषयमा छलफल गर्ने पौडेलको अडानपछि कार्यतालिका नआउँदै बैठकमा बस्न नसकिने बताएपछि छलफल सकिएको थियो । अब वार्ता समितिमा छलफल हुन्छ । 

पौडेल पक्षले सहमतिविना विभागको संख्या थप्न प्रस्ताव ल्याएको, भातृ संस्थाको अधिवेशन ६ महिनामा सुनिश्चित गर्न नसकेको, पार्टीको १४ औं महाधिवेशनको कार्ययोजना नल्याएको भन्दै बिहीबार बसेको केन्द्रीय कार्यसमिति बैठक बहिष्कार गरेको थियो । 

पौडेल पक्षको बहिष्कारबीच सभापति देउवाले बैठकमा छलफलका लागि ९ वडा एजेण्डा प्रस्तुत गरेका थिए । बैठकमा मौजुदा रहेका २८ विभागलाई बढाएर ४१ पुर्याउने प्रस्ताव केन्द्रीय समिति बैठकमा पेस गरिएको छ । ती एजेण्डामाथि छलफल गर्न आइतबार केन्द्रीय समिति बैठक बोलाइएकोले त्यसअघि नै सभापति देउवाले नेता पौडेललाई भेटेर विवाद मत्थर पार्न खोजेका थिए ।  

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

1 × 5 =