“केही बनौँ भन्ने होइन, केही गरौँ भनेर म रेडक्रसमा संलग्न भएको हुँ”

पुस १२, काठमाडौं । रेडक्रस तथा रेडक्रिसेन्ट सोसाइटीको अन्तर्राष्टिय महासंघ (IFRC) को नवनियुक्त महासचिव जगन चापागाईले आफु रेडक्रसमा केहि गर्नका लागि आएको बताएका छन् । हिजो नेपाल रेडक्रस सोसाइटीको केन्द्रीय कार्यलयमा संवोधन गर्दै उनले उक्त कुरा बताएका हुन् ।
“म नेपाली आफन्तहरु र मित्रहरुको माया पाएर हुर्किएको हुँ । यहि नेपालको माटोले मलाई अरुको भलाईको निम्ति केही गर्नुपर्छ भनेर सिकाएको हो । केही बनौँ भन्ने होइन, केही गरौँ भनेर म रेडक्रसमा संलग्न भएको हुँ ।” शुक्रबार रेडक्रसको केन्द्रीय कार्यालयमा केन्द्रीय कार्यसमितिका पदाधिकारी, सदस्य तथा कर्मचारीहरुलाई सम्बोधन गर्दै बताए । उनले हरेक देशका रेडक्रस वा रेडक्रिसेन्ट सोसाइटीलाई सबल बनाउने आफ्नो अभियान रहेको र त्यसलाई पूरा गरेरै छाड्ने बताए ।
चापागाई आफ्नो नीजि भ्रमणको सिलसिलामा यसै साता नेपालमा आएका हुन् ।

नवनियुक्त महासचिव चापागाईँलाई रेडक्रस सोसाइटीको परिसरमा सोसाइटीका केन्द्रीय अध्यक्ष सञ्जीव थापा, महामन्त्री देवरत्न धाख्वा लगायत केन्द्रीय कार्यसमितिका पदाधिकारी, सदस्य तथा कर्मचारीहरुले स्वागत् गरेका थिए । अध्यक्ष थापाले चापागाईलाई बधाई ज्ञापन गर्दै कानुनी आधार सुदृढीकरण, स्रोत परिचालन र नेरेसोलाई अझ गतिशिल बनाउने क्षेत्रमा अन्तर्राष्टिय महासंघको सहयोग अपेक्षित रहेको बताए ।
कार्यक्रममा नेपाल रेडक्रसको प्रदेश समितिका अध्यक्षहरुका साथै जापान, बेलायत लगायतका राष्टिय सोसाइटीका प्रतिनिधिहरु र अन्तर्राष्टिय महासंघको नेपाल स्थित कार्यालय प्रमुख र डेलिगेटहरुको उपस्थिति रहेको थियो ।
अवको प्राथमिकता प्रकोप न्यूनीकरण र उत्थानशीलता
अबको प्राथमिकता बारे नेपाल रेडक्रसका सञ्चार निर्देशक दिव्यराज पौडेलसँग रेडियो अन्तरर्वार्ताको क्रममा जगन चापागाईले पहिलो प्राथमिकता जलबायु परिवर्तन सम्बन्धी प्रकोपबाट मानिसहरुलाई बचाउने र स्वास्थ्य पाण्डामिक समस्याहरुबाट छुटकारा दिलाउने नै रहेको बताए । त्यसको लागि विभिन्न संस्थाहरुसँग मिलेर न्यूनीकरण गतिविधि र उत्थानशीलतामा जोड दिनुपर्ने चापागाईको धारणा छ । अर्को समस्या विश्वव्यापी स्थानान्तरण र शरणार्थीको मर्यादा जोगाऊने उनको भनाई छ ।
“आर्थिक, शिक्षा, स्वास्थ्य, प्रविधिको क्षेत्रमा संसारमा उच्च प्रगति भएपनि केही मानिसहरु अझै बञ्चित भैआएका छन्, त्यसैले, खास जनसंख्या अझै पनि विकासको घेरामा पर्न नसकेकोले समावेशी कार्यक्रमको ठूलो महत्व छ ।” उनले भने ।








