झुक्याएर पत्रकारलाई पैसा दिने सिद्धबाबाका सहयोगीलाई कारवाहीको माग गर्दै निवेदन

बिराटनगर । सुनसरी बराह क्षेत्रका सिद्धबाबा भनिने कृष्णबहादुर गिरीको आश्रममा रिपोर्टिङका लागि पुगेका पत्रकारलाई लुकाएर पैसा दिने सिद्धबाबाका सहयोगीलाई कारबाहीको माग गर्दै निवेदन दर्ता भएको छ ।
अनलाईन खबरकर्मी हरि अधिकारीले ब्रोसरभित्र लुकाएर पैसा दिने सिद्धबाबाका सहयोगीमाथि कारबाहीको माग गर्दै सुनसरी जिल्ला प्रहरी कार्यालयमा निवदेन दर्ता गराएका हुन् ।
पत्रकार हरि अधिकारीलाई सिद्धबाबाका अनुयायी भनिने बुद्ध शाक्यले झुक्याएर दिएको तीन हजार रुपैयाँ र ब्रोसरसहित मंगलबार जिल्ला प्रहरी कार्यालय सुनसरीमा दिँदै कारवाहीको निवेदन दिइएको हो ।

शुक्रबार स्थलगत रिपोर्टिङमा गएका पत्रकार अधिकारीलाई सिद्धबाबाका सहयोगीले झुक्याएर ब्रोसरमा हालेर तीन हजार रुपैंया पैसा दिएका थिए । सिद्धबाबाले आफ्नै अनुयायीलाई बलात्कार गरेको प्रहरीमा उजुरी परेपछि स्थलगत रिपोर्टिङका लागि शुक्रबार पत्रकार अधिकारी चतरा गएका थिए ।
सिद्धबाबाका सहयोगीले थमाएको ब्रोसर र नगद जिप्रकाका अनुसन्धान अधिकृत सुभेस अधिकारीलाई मंगलबार बुझाइएको छ ।
घुस दिनु अपराध भएकाले पत्रकारलाई झुक्याएर रकम उपलब्ध गराउने व्यक्तिलाई कारबाही गरी सो रकमलाई सिद्धबाबाविरुद्ध प्रमाणका रुपमा बुझ्न आग्रह गर्दै प्रहरीसमक्ष निवेदन दिइएको हो ।
बलात्कार प्रकरणमा उजुरी परेपछि प्रहरीले कृष्णदासमाथि चार दिनको म्याद थप गरी अनुसन्धान सुरु गरेको छ । कृष्णदास भने हृदयाघातका कारण विराट नर्सिङ होममा उपचारत छन् ।
बलात्कारको आरोप लागेपछि कृष्णदासका अनुवाईहरुले सलिना रामदासी नाग गरेकी महिलाले फेसबुकमा पठाएको म्यासेजहरु सार्वजनिक गरेका थिए ।
जसमा कृष्णदासलाई भेट्ने, चुम्बन गर्ने र अंकमाल गर्ने इच्छा व्यक्त गरिएको छ । यस्ता म्यासेजहरुमा उनले धेरै पटक ‘एकान्तमा भेट्ने’इच्छा व्यक्त गरेकी थिइन् । भने, ती महिलाले पनि कृष्णदासले फोन गरेर रुदै आफुबाट गल्ती भएको भन्दै एक पल्ट माफि दिन आग्रह गरेको अडियो नै सार्वजनिक गरिदिएकी थिइन् ।








