आक्रमणमा परी १७ सर्वसाधारणको मृत्यु

पुस ११, साना । यमनको उत्तरी क्षेत्रको गभर्नरको कार्यालय रहेको सादा सहरमा भएका आक्रमणमा परी कम्तीमा १७ व्यक्तिको मृत्यु भएको संयुक्त राष्ट्रसंघले बिहीबार जनाएको छ । यो सहरमा करिब एक महिनाको अन्तरालमा भएका आक्रमणमा कम्तीमा ३७ जनाको मृत्यु भएको छ । 

यमनमा पछिल्ला केही महिना यता तुलनात्मक रूपमा शान्त रहने गरेको भएपनि सादामा एक महिनाको अन्तरालमा तीन आक्रमण भएका छन् । 

इरानसँग निकट मानिने यमनी हुथी विद्रोहीको प्रभाव क्षेत्र मानिने सादामा साउदी नेतृत्वको सैन्य गठबन्धनले गरेको सुरक्षा आक्रमणमा ठूलो सङ्ख्यामा हुथी विद्रोहीको मृत्य भएपछि विगत केही महिना सादाको अलराक्वमा ठूला झडपका घटना भएका थिएनन् । 

Related image

बिहीबार मृत्यु भएका १७ सर्वसाधारणमध्ये १२ जना इथियोपियाली आप्रबासी रहेका र पाँच जना यमनी नागरिक रहेको बताइएको छ । राष्ट्रसंघले घटना कसले घटाएको र आक्रमणमा कस्तो खालको हतियार प्रयोग गरिएको भन्नेबारे केही बताएको छैन ।   

अलराक्वमा नोभेम्बर २२ मा पनि यस्तै आक्रमण भएको थियो भने त्यसको केही दिनपछि पनि यसै प्रकारको आक्रमण भएको थियो । नोभेम्बर २२ र लगत्तै केही दिनपछि भएका दुई घटनामा परी २० जनाको मृत्यु भएको थियो भने कम्तीमा २२ जना घाइते भएका थिए । उक्त सहरमा युद्धविरामको अवज्ञा गर्दै भएका घटनामा अहिलेसम्म ८९ सर्वसाधारणले ज्यान गुमाएका छन् । 

राष्ट्रसंघले जारी गरेको विज्ञप्तिमा भनेको छ, ‘सादामा भएका हरेक प्रकारका आक्रमणले युद्धविरामको उल्लङ्घन भएको र यस्ता घटना रोक्न सम्बद्ध सबैलाई आग्रह गर्दछ ।’ 

यमनमा सन् २०१५ को मार्चमा गठबन्धनले हुथी विद्रोहीविरूद्ध सुरू गरेको द्वन्द्वका कारण दशौँ हजार मानिस मारिएका छन् भने लाखौँको सङ्ख्यामा विस्थापित भएका छन् । राष्ट्रसंघले यमनको मानवीय सङ्कटलाई विश्वकै चिन्ताजनक समस्याका रूपमा व्याख्या गर्ने गरेको छ । एजेन्सी 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *