भिजिट नेपाल २०२०ः दशरथ रंगशालामा भव्य समारोह, विदेशी मिडिया पनि ल्याइने

पुस ६, काठमाडौं । ‘नेपाल भ्रमण वर्ष २०२०’ सुरु हुन अब ९ दिन मात्रै बाँकी छ ।
निकै महत्वाकांक्षी रुपमा लिइएको यस भ्रमण वर्षमा २० लाख पर्यटक भित्र्याउने लक्ष्य लिइएको छ । यसलाई सफल बनाउन तथा लक्ष्य पुरा गर्न संस्कृति, पर्यटन तथा आन्तरिक उड्डयन मन्त्री योगेश भट्टराईले सम्बन्धित विभिन्न संघ संस्थाहरुलाई सहयोग तथा सहकार्यका लागि झक्झकाइ रहेका छन् ।
यसै शिलशिलामा आज मन्त्री भट्टराईले उच्च शिक्षालय तथा माध्यमिक विद्यालय संघ नेपाल (हिसान), राष्ट्रिय निजी तथा आवासिय विद्यालय एशोसिएशन नेपाल (एनप्यावसन), प्यावसन, शिक्षक संघ लगायतका संस्थाहरुसँग भ्रमण वर्ष २०२० बारे छलफल गरे ।

छलफलका क्रममा मन्त्री भट्टराईले भिजिट नेपाल २०२० नजिकिँदै गर्दा यसै थिममा रहेर विभिन्न कार्यक्रमहरु भइरहेको जानकारी गराउँदै उपस्थित सबै संघ संस्थाहरुलाई सहयोग गर्न आग्रह गरे । भ्रमण तथा पर्यटन क्षेत्रसँग सम्बन्धित अन्य विभिन्न संस्थाहरुसँग पनि छलफल तथा परामर्श भइरहेको उनको भनाइ छ ।
पर्यटनमन्त्रीका अनुसार २५ डिसेम्बरदेखि सेकेन्ड जनवरीसम्म एयरपोर्टमा न्यू एयर इन नेपाल थिममा विभिन्न कार्यक्रम राखिएको छ ।
जनवरी १ मा अपराह्न ३ बजेदेखि त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा भव्य समारोह गरिने छ । समारोहको उद्घाटन राष्ट्रपति विद्यादेवी भण्डारीले गर्नेछिन् भने प्रधानमन्त्री केपी शर्मा ओलीले विशेष मन्तव्य राख्नेछन् । साथै समारोहमा सांस्कृतिक लगायत विभिन्न कार्यक्रमहरु राखिएको छ । सर्वसाधारणको बाक्लो उपस्थिति रहने मन्त्री भट्टराईकाे विश्वास छ ।
राष्ट्रिय अभियानका रुपमा २० लाख पर्यटक भित्र्याउने लक्ष्यसहित मन्त्री भट्टराईले भ्रमण वर्ष २०२० को घोषणा गरेका थिए । २०१७ मै घोषणा भएको उल्लेख गर्दै उनले २०१८/१९ लाई तयारी वर्षको रुपमा राखिएको स्मरण गराए । २ वर्षमा जति प्रचार प्रसार हुनुपर्ने थियो, विभिन्न कारणबस् त्यो हुन नसकेको उनको भनाइ थियो ।
उत्कृष्ट पर्यटकीय स्थलको रुपमा विश्वमा चिनाउने यस अभियानलाई नेपाल पर्यटन बोर्डले सन् २०१५ मा घोषणा गरेको थियो । जसअनुसार वर्ष २०१८ लाई ‘भिजिट नेपाल वर्ष २०१८’ का रुपमा मनाउने योजना थियो । तर, सन् २०१५ मा गएको विनाशकारी भूकम्पले भत्काएका राष्ट्रिय सम्पदाहरूको पुनर्निर्माणमा भएको ढिलासुस्ती, त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलको स्तरोन्नतिमा भएको ढिलाइ, गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको निर्माणमा भएको ढिलासुस्ती आदिका कारण यो अभियानलाई २०१८ मा स्थगित गरी २०२० मा मनाउने निर्णय भएको हो ।
अझै पनि पर्यटकका लागि आवश्यक पूर्वाधारः बाटोघाटो, एयरपोर्ट तथा पर्याप्त गन्तव्यहरु बनिसकेको अवस्था छैन ।
‘पर्यटकका निम्ति आवश्यक पूर्वाधारहरु बनिसकेको अवस्था छैन । नयाँ–नयाँ पर्यटकीय गन्तव्यहरु पनि जति बन्नुपर्ने थियो त्यति बन्न सकेको अवस्था छैन । तर पनि हामी भिजिट नेपाल २०२० लाई भव्य रुपमा सम्पन्न गर्ने तयारीमा छौँ’, मन्त्री भट्टराईले भने, ‘विशेष गरी २०२० मा २० लाख पर्यटकको टार्गेटलाई आधार वर्ष मान्दै नेपालका पर्यटकको निम्ति १ दशक अभियान चलाउने उद्देश्यमा हामी पुगेका छौँ । त्यो समयसम्म हामी मूलभुत रुपमा पर्यटकीय पूर्वाधारहरु पनि निर्माण गरिसक्छौँ ।’
आयोजक संस्थाहरुलाई मानिसहरु भेला गराउन पहल गर्न पनि उनले आग्रह गरे । आयोजक संस्था आफ्नो ब्यानर, झण्डासहित युनिफर्ममा सहभागी हुन पाउने व्यवस्था गरिएको पनि उनले जानकारी गराए ।
मन्त्री भट्टराईले छिट्टै नै अन्तर्राष्ट्रिय विमानस्थलहरु सञ्चालनमा आउन लागेको पनि जानकारी दिँदै भने, ‘गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको काम लगभग अन्तिम चरणमा पुगिसकेको छ । पोखरा अन्तर्राष्ट्रिय विमानस्थल पनि चाँडै नै सञ्चालनमा आउनेछ । २०२० को अन्तिमसम्म निर्माण कार्य सम्पन्न गरेर २०२१ को प्रारम्भमै यसलाई पनि सञ्चालनमा ल्याउने तयारीका साथ काम अघि बढिरहेको छ ।’
नेपालका राष्ट्रिय गौरवका आयोजनाहरु जतिजति अगाडी बढ्दै जान्छ, कम्लिकेशनहरु थपिँदै जाने र ती आयोजनाहरु भनेको समयमा नटुंगिने अवस्था रहेको उनले गुनासो गरे ।
यस्तो अवस्थामा पर्यटन मन्त्रालय अन्तर्गतका राष्ट्रिय गौरवका आयोजनाहरुलाई समयमै सम्पन्न गर्दै अन्तर्राष्ट्रिय क्षेत्रलाई पनि नेपालमा ठुला ठुला आयोजनाहरु पनि सम्भव छ भन्ने कुरा देखाउनु पनि आफ्नो उद्देश्य रहेको उनले बताए । ठुला ठुला आयोजनाहरु समयमै सम्पन्न गरी लगानीकर्ताहरुको विश्वास जित्नुपर्ने उनको भनाइ छ ।
यस्तै उनले निजगढ विमानस्थलका बारे पनि आफ्नो धारणा राखे । उनले भने, ‘काठमाडौंको एयरपोर्ट साँघुरो छ । सानो स्पेस भएका कारण कतिपय कार्यहरु हामीले चाहेर पनि गर्न नसकिने अवस्था छ । त्यसकारण यसलाई सपोर्ट गर्ने हिसाबले निजगढमा अन्तर्राष्ट्रिय विमानस्थल बनाउनुपर्छ भन्ने निष्कर्षमा पुगेका छौँ । रेलवेको सम्भाव्यताबारे पनि चिनियाँ पक्षहरुसँग छलफल भइरहेको छ । यसले कनेक्टीभिटीलाई स्थापित गर्छ । जति सहज कनेक्टिभिटि हुन्छ पर्यटकका लागि नेपाल भ्रमण अनुकुल हुँदै जान्छ ।’
५ वर्षपछि प्रतिवर्ष कम्तिमा ३५ लाख पर्यटकहरु ल्याउने लक्ष्य पनि आफ्नो मन्त्रालयले लिएको उनले स्पष्ट पारे । पूर्वाधार बनिसकेपछि यी कुरा असम्भव नभएको उनको भनाइ छ ।
शैक्षिक क्षेत्रहरु पनि नेपालको पर्यटन क्षत्रसँग कुनै न कुनै हिसाबले जोडिएको बताउँदै उनले भ्रमण वर्ष सफल बनाउन स्कूल, कलेज, बसहरु, कार्यालयहरुमा भ्रमण वर्षको लोगो राख्न तथा विभिन्न कामका सिलसिलामा विदेश जाँदा विदेशीहरुसामु नेपाल भ्रमण वर्षका बारे दुई शब्द बोल्न आग्रह गरे ।
लगभग ३ घण्टामा सकिने समारोहमा विभिन्न देशका पर्यटनमन्त्री, ५० भन्दा बढी विभिन्न अन्तर्राष्ट्रिय मिडिया, टेलिभिजनहरुलाई पनि आमन्त्रण गरिएको र तीनीहरुबाट समाराेहकाे लाइभ गरिने मन्त्री भट्टराईले जानकारी दिए ।
नेपालको इकोनोमीमा १० प्रतिशत योगदान पर्यटन क्षेत्रको पुर्याउने तथा पर्यटकहरुले नेपालमा खर्च गर्ने ल्याकत पनि बढाउने योजना रहेको पनि उनले सुनाए ।
नेपाल पर्यटन बोर्डको तथ्यांकअनुसार सन् २०१७ मा एक जना पर्यटकले प्रतिदिन ५४ डलर खर्च गरेका थिए । तर, सन् २०१८ मा त्यो बढ्नुको साटो घटेर प्रतिदिन ४४ डलरमा झरेकोे छ । यसलाई ८० डलरमा पुर्याउने पर्यटन मन्त्रालयको योजना छ ।
त्यस्तै पर्यटककौ औसत नेपाल बसाइँ अवधि गतवर्ष १२ दशमलव ६ दिन थियो भने यो वर्ष १२ दशमलव ४ दिनमात्रै रहेको छ । यसलाई पनि लम्ब्याउने मन्त्री भट्टराईको भनाइ छ ।








