नेपालमा महिला पुरुषमा मोटोपना बढ्यो, ३६ प्रतिशत बालबालिकाहरुमा पुड्कोपना

मंसिर २४, काठमाडौं । पोषणका लागि कृषि तथा खाद्य प्रणाली सम्बन्धी ग्लोबल प्यानल र राष्ट्रिय योजना आयोगको संयूक्त आयोजनामा भोकमरी सम्बन्धि अन्तरक्रिया सम्पन्न भएको छ ।   

सोमबार स्वस्थ आहार प्रदान गर्न, भोकमरी अन्त्य गर्न र कुपोषण तथा नेपालमा जलवायु परिवर्तनका चुनौतीहरू सम्बोधन गर्नका लागि विद्यमान खाद्य प्रणालीलाई समयानुकुल परिमार्जन गर्ने आवश्यकता लगायतका विषयमा अन्तरक्रिया गरिएको हो ।   

राष्ट्रिय योजना आयोगका माननीय सदस्य डा. दिल बहादुर गुरुङको अध्यक्षता र ग्लोबल प्यानलका सदस्य प्रा. श्रीनाथ रेड्डीको सहअध्यक्षतामा भएको अन्तरक्रियामा संघ तथा प्रादेशिक सरकारका प्रतिनिधि, संयुक्त राष्ट्रसंंघ, नीजि क्षेत्र तथा नागरिक समाज लगायतका विकास साझेदारका प्रतिनिधिहरुले आ–आफ्ना विचार व्यक्त गरेका थिए । छलफल मंसिर २२ देखि सुरु भएको थियो ।   

null

कार्यक्रममा राष्ट्रिय योजना आयोगका माननीय सदस्य डा. दिल बहादुर गुरुङले भने, ‘बहु क्षेत्रीय पोषण योजनाले सबै खालका कुपोषण न्युनीकरण गर्ने लक्ष्य लिएको छ, जसले गर्दा कुपोषणका कारण मानव पुँजीको विकास र समग्र सामाजिक आर्थिक विकासमा बाधा पर्ने समस्या समाधान हुनेछ ।’ 

पोषणका लागि कृषि तथा खाद्य प्रणालीसम्बन्धी ग्लोबल प्यानलका सदस्य प्रा. श्रीनाथ रेड्डीले नेपाल सरकारलाई यस्तो महत्वपुर्ण विषयमा छलफल आयोजना गरेकोमा धन्यवाद दिँदै छलफलले स्वस्थ्य खाद्य वस्तुको उपलब्धता मार्फत खाद्य प्रणालीमा नँया आयाम थपी बहु क्षेत्रीय पोषण योजनाका उद्देश्यहरु पुरा गर्न सहयोग पुग्ने विश्वास व्यक्त गरे ।   

छलफलले दूध, मासु तथा फलफुलको उपभोग मार्फत आहारमा पोषक तत्वमा सुधार गर्ने अवसर रहेको भन्दै त्यसका लागि भण्डारण तथा वितरण प्रणालीलाई सुधार गर्न आवश्यक रहेको निष्कर्ष निकालेको छ । 

नेपाल सरकार, गैरसरकारी संस्थाहरु तथा विकास साझेदारहरुबाट विगत २० वर्षदेखिको प्रयासबाट नेपालमा ५ बर्ष मुनिका बालबालिकाहरुमा भएको पुड्कोपनाको समस्यालाई करिब २१ प्रतिशतले कम गर्न सफल भएको छलफलमा जानकारी दिइएको छ । तथापि अझैपनि ५ बर्ष मुनिका ३६ प्रतिशत बालबालिकाहरु पुड्कोपनाबाट ग्रसित रहेको बताइएको छ । 

अर्कोतिर अधिक तौल, मोटोपना तथा खानपानसँग सम्बन्धित नसर्ने रोगको दर पनि बढ्दो क्रममा छ । सन् २००० को तुलनामा हालसम्म पुरुष तथा महिलाहरुमा मोटोपना २ देखि ३ प्रतिशतले बढेको छ । मुलुकको रोगसँग सम्बन्धित समग्र समस्याको करिब ४० प्रतिशत हिस्सा नसर्ने रोगले ओगटेको छ भने करिब १२ प्रतिशत वयस्कहरु मधुमेहको शिकार भइरहेका छन् जसको प्रमुख कारण अस्वस्थकर खानपान नै हो ।   

मुलुकको केही जनसंख्यामा क्यालोरी तथा शुक्ष्म पोषक तत्वको कमी, केहीमा अधिक तौल तथा मोटोपना र केहीमा खानासँग सम्बन्धित नसर्ने रोगहरुको महामारी गरी नेपाल कुपोषणको तीन प्रकारको समस्याबाट ग्रसित छ ।   

नेपाल सरकारले माथि उल्लेखित समस्यालाई पहिचान गरि यसको समाधानका लागि बहु क्षेत्रीय पोषण योजना (पहिलो तथा दोश्रो) लाई राष्ट्रिय प्राथमिकतामा राखेको छ । बहु क्षेत्रीय पोषण योजना सरकारले कुपोषणको समस्या समाधान गर्दै दिगो विकास लक्ष्य प्राप्तिका लागि गरेको प्रतिबद्धता र लिएको लक्ष्यको राम्रो दृष्टान्त हो ।   

कृषि, स्वास्थ्य, खानेपानी, सरसफाई, स्थानीय विकासजस्ता सरकारी तथा गैरसरकारी सरोकारवाला निकाय बीचको प्रभावकारी बहु क्षेत्रीय समन्वय तथा सहकार्य विना कुपोषण न्युनीकरण सम्भव छैन भन्ने कुरा महसुश गरी बहुपक्षिय सहभागिता गराउनु बहु क्षेत्रीय पोषण योजनाको सबल पक्ष हो ।   

कुपोषण न्युनीकरणका लागि बहु क्षेत्रीय समन्वय तथा सहभागिताको अवधारणालाई मुर्त रुप दिन नेपालमा स्वस्थ खानाको उपलब्धता तथा उपभोग बृद्धि सुनिश्चित गर्ने दिगो तथा प्रभावकारी खाद्य प्रणालिको विकास हुन आवश्यक हुन्छ । खाद्य प्रणालीले कृषि उत्पादनको अतिरिक्त खाद्य भण्डारण, आपुर्ति, प्रशोधन, खाद्य स्वच्छताका साथै उपभोक्ताको खाद्य छनौटलाई समेत समेट्छ । 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *