‘जवसम्म म यो कुर्सीमा छु, त्यस्ता हस्तक्षेपले मलाई फरक पार्दैन’

धरानस्थित वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका वहालवाला पदाधिकारी, कर्मचारी र पूर्वपदाधिकारी समेत भ्रष्टाचारको आरोपमा परेपछि प्रतिष्ठान वर्षौंदेखि भ्रष्टाचारमा चुर्लुम्म डुवेको तथ्य सार्वजनिक भयो । एकै पटक झण्डै एक दर्जन ब्यक्तिलाई अख्तियारले मुद्दा दायर गरेपछि अब प्रतिष्ठान कसरी अगाडी बढ्छ भन्ने अन्यौलतासँगै त्रास छाएको अवस्थामा शिक्षाध्यक्ष प्रा. डा. गुरु खनालले निमित्त उपकुलपतिपछि कार्यवाहक उपकुलपतिको जिम्मेवारी पाए ।
डा. खनालले कार्यवाहक उपकुलपतिको जिम्मेवारी पाएसँगै शुशासन र प्रतिष्ठानको सेवा सुधारका योजना अगाडी सारेको दावि गरेका छन् । यहि पुस २५ गते प्रतिष्ठानको सिनेट राख्ने तयारीका साथ काम गर्दै आइरहेका डा. खनालसँग प्रतिष्ठानका समस्या, चुनौति र भावी कार्ययोजनाका सन्दर्भमा गरिएको कुराकानीको सम्पादित अंशः
तपाई कार्यवाहक उपकुलपति भएर आएपछि प्रतिष्ठान कसरी अगाडी बढेको छ ?

कार्यवाहक उपकुलपतिको जिम्मेवारी लिँदै गर्दा लामो समय देखि अफ्टेरो परिस्थिति सृजना भएको थियो । जसलाई म दोहोर्याइरहन सान्दर्भिक ठान्दिन । विगतको कार्यशैलीले यहाँका चिकित्सक, कर्मचारी, विद्यार्थी र पदाधिकारीको समय मनोवल गिरेको र के हुने कसो हुने अन्यौलता थियो ।
जिम्मेवारी पाइसकेपछि शुरुमा चिकित्सक र कर्मचारीलाई राखेर छलफल चलाएँ । प्रतिष्ठानलाई सुधार्न कर्मचारी चिकित्सकलाई अब कुनैपनि समस्या रहँदैन भनेर कन्भिन्स गराएपछि सिमित अधिकारका बाबजुद पनि हामीहरुले केही सुधारका कामहरु अगाडी बढायौं ।
लामो समयदेखि अक्सिजन प्लान्ट विग्रिएर थन्किदा दैनिक ७० देखि ८० हजार ब्ययभार थियो । त्यसको अन्त्यका लागि अक्सिजन प्लान्ट मर्मत गरेर सूचारु गरियो । क्याथल्याव बन्द भएर मुटुरोगीले उपचार पाइरहेका थिएनन त्यो सुचारु गरियो । केहि दिन यता इमरजेन्सीको सिटी स्क्यान समेत सञ्चालनमा आइसकेको छ । रेडियोलोजी विभागमा प्रायः अल्ट्रा साउण्डहरु विग्रिएका थिए । अहिले ७ वटा सञ्चालनमा आइसकेका छन् । ल्याबका रिपोर्टहरु समयमा नआउने समस्यालाई हल गरिएको छ । अहिले विहान ११ सम्म रगत जाँच गर्न दिइयो भने, दिउसो ४ बजे भित्र रिपोर्ट आउँछ । ४ बजे पछिका रिपोर्ट भोलीपल्ट विहान १० बजेसम्म आइसक्छ ।
कर्मचारी प्रशासन, चिकित्सकीय सेवा तथा शिक्षामा दिन प्रतिदिन सुधारका काम भइरहेका छन् । समग्रमा भन्नुपर्दा प्रतिष्ठान सुधारोनमुख अवस्थामा छ ।
प्रतिष्ठानको सेवा तर्फ सुधार भएपनि यहाँ शुशासन तर्फ ठूलो समस्या छ नि त्यसलाई सुधार्नु पर्दैन ?
शुशासन कायम गर्न सकेनौं भने कुनैपनि संस्थाले विकास गर्न सक्दैन । विगतमा गुट उपगुटका कारणले प्रतिष्ठानको शुशासन विग्रिएको थियो । बारम्बारको छलफल पछि अब प्रतिष्ठानलाई सुधार्नुपर्छ भन्ने मानसिकता विकास भइसकेको छ । अहिले कर्मचारी तथा चिकित्सक एक ढिक्का भएर काम गरिरहेको अवस्था छ ।
विगतमा प्रतिष्ठान सञ्चालनमा सरकारी सहयोग र समन्वय कम भयो भन्ने थियो अहिले कस्तो सम्बन्ध छ ?
नेपाल सरकारको जुन स्वास्थ्य नितीहरु बन्दै गए तिनलाई मान्नै पर्ने अवस्था आएकोले प्रतिष्ठानको स्वायत्तता खोसिँदै गएको छ । यो कुरा सरकारलाई समेत जानकारी छ । राज्यले लागु गरेका नितीहरु प्रतिष्ठानले मान्नै पर्ने अवस्था पनि छ र, पछिल्लो समय प्रधानमन्त्री तथा स्वास्थ्यमन्त्रीले समेत यहाँको शिक्षा, सेवा र अनुसन्धानका कुरालाई स्विकार गर्नुभएको छ । स्वास्थ्यमन्त्री आफैं प्रतिष्ठान आएर यहाँको अवस्था हेरेपछि चिकित्सक, कर्मचारी र विद्यार्थीलाई समेत हौसला बढेको छ ।
प्रतिष्ठान कसरी चल्छ, यसको योजनाहरु केके छ ? सबै जानकारी सरकारलाई गराइसकेको र प्रधानमन्त्री तथा स्वास्थ्यमन्त्री समेत प्रतिष्ठानको विकासमा सकारात्मक भएको हुनाले अब प्रतिष्ठान अगाडी बढ्छ भन्ने हामीले आशा लिएका छौं ।
सरकारले के कारणले प्रतिष्ठानको स्वायत्तता खोस्यो ?
प्रतिष्ठानलाई इण्डियाको एम्सकै संरचनामा सञ्चालन गर्ने परिकल्पना गरिएको थियो । नेपाल सरकारको फरक स्वास्थ्य नितीका कारण प्रतिष्ठान एम्स जस्तै हुने संभावना भएन ।
प्रतिष्ठानले चिकित्सा शिक्षा आयोग अन्र्तगत ७५ प्रतिशत विद्यार्थीे छात्रबृत्तिमा पढाउनु पर्ने, विरामीबाट चर्को शुल्क उठाउन नपाउने र अनुसन्धानका कामहरु पनि गर्नुपर्ने अवस्था छ । यो सबै गर्न हाम्रो मात्रै आर्थिक क्षमताले सकेन । एम्सकै संरचनामा यसलाई सञ्चालन गरिएको भए केहि विकल्प हुन्थ्यो कि ! दिन प्रतिदिन खर्च बढिरहेको र सरकारले बृद्दि गरेको तलब खुवाउन समेत नसक्ने अवस्था छ ।
प्रतिष्ठानले बाह्रै महिना १ नं. प्रदेशका जनतालाई प्रतिष्ठान बाहिर ११ वटा स्वास्थ्य संस्थामा चिकित्सक पठाएरै सर्वसुलभ स्वास्थ्य सेवा पुर्याइरहेकोले अबका दिनमा सरकारले हामीलाई पुरा सहयोग गर्नुपर्ने हुन्छ ।
सधैं सरकारको मुख ताक्नुभन्दा आन्तरिक आयआर्जनका लागि किन विकल्प खोजिदैन ?
यो कुरा सत्य हो जतिबेला हामीहरु आफ्नै ढंगले चल्ने गर्दथ्यौं । विद्यार्थी आफ्नै हिसाबले भर्ना गर्दथ्यौं । तर, अहिले अवस्था त्यस्तो रहेन । विद्यार्थी पनि आफ्नो ढंगले भर्ना गर्न मिल्दैन । नेपाल सरकारले शुल्क कति लिने भनेर निर्धारण गर्दछ । सरकारले अब पहिलेकै ढंगले सहयोग गर्ने हो भने प्रतिष्ठान चल्ने अवस्था छैन । ७५ प्रतिशत छात्रबृत्ति सरकारको हातमा गइसकेकोले सरकारले दिने प्रति विद्यार्थी ४४ लाख रुपैंया अब एक मुष्ट हैन की समय–समयमा दिनुपर्छ ।
प्रतिष्ठान दक्ष जनशक्ति उत्पादन गर्ने थलो हो, र प्रतिष्ठानले हज्जारौं दक्ष जनशक्ति उत्पादन गरेर राज्यलाई दिएको कुरा विर्सनु हुँदैन ।
प्रतिष्ठानको आन्तरिक आय बृद्धि गर्ने सवालमा आउँदो सिनेटमा छाताचौकको संरचना, काठमाडौं बाँसबारीको संरचना र सुन्दरहरैचाको संरचना कसरी उपयोग गर्ने सवालमा छलफल र निर्णय हुनसक्नेछ ।
दक्ष जनशक्ति त उत्पादन गर्नु हुन्छ तर, ती जनशक्तिहरु कहाँ कसरी काम गर्दैछन् रेकर्ड छ ?
अहिलेसम्म हामीबाट कति जनशक्ति उत्पादन भए तीनले कहाँ कसरी काम गरिरहेका छन् तथ्यांक छ । यहाँबाट उत्पादन भएका जनशक्तिले नेपालमा मात्र नभएर विश्वका धेरै देशहरुमा सेवा दिइरहेका छन् । अहिलेको नियमले दक्ष जनशक्ति उत्पादन पश्चात स्वास्थ्य मन्त्रालयमा पठाउनु पर्छ त्यहि हिसाबले हामीबाट उत्पादित दक्ष जनशक्ति मन्त्रालय अन्र्तगत देशका विभिन्न स्वास्थ्य संस्थामा काम गरिरहेका छन् ।
पछिल्लो समय अनुसन्धानका क्षेत्रमा प्रतिष्ठानले के गरिरहेको छ ?
स्थापना कालदेखि नै अनुसन्धानका क्षेत्रमा महत्वपूर्ण काम गर्दै आइरहेका छौं । प्रत्येक वर्ष दर्जनौं अनुसन्धानहरु हुन्छन् । वीपी प्रतिष्ठान मात्र यस्तो संस्था हो जहाँका डाक्टरहरु बाहिर प्राक्टिस गर्न पाउँदैनन् । त्यस वापत उहाँहरुलाई अनुसन्धान गर्न प्रेरित गरिन्छ । चिकित्सकले वृत्ति विकासकोलागि पनि अनुसन्धान गर्नुपर्छ । प्रतिष्ठानको अनुसन्धान एक नंम्बरमा आउँछ ।
पछिल्लो समय प्रतिष्ठानबाट दक्ष चिकित्सक दिन प्रतिदिन बाहिरिनुको कारण के हो ?
विगत ३/४ वर्षको तथ्यांक हेर्ने हो भने, यहाँबाट केहि राम्रा जनशक्ति पक्कै बाहिरिइरहेका छन् । कतिपय चिकित्सकहरु आफ्नो ५ वर्षे कार्य पुरा गरेर गएका हुन् । केहि चिकित्सक चैं हामीले सेवासुविधा दिन नसकेपछि बाहिरिएका हुन् । प्रतिष्ठानले दिने सेवा सुविधामा चिकित्सक मात्र नभएर कर्मचारीलाई पनि असन्तुष्ठि छ । यो विषयमा स्वास्थ्य मन्त्रालयमा गम्भिर रुपमा छलफल भएकोले अब आउने सिनेटमा संवोधन हुने आशा छ ।
प्रतिष्ठानमा कार्यरत केहि कर्मचारी, वहालवाला पदाधिकारी तथा पूर्वपदाधिकारी भ्रष्टाचारमा मुछिएर कारवाहीको दायरामा आइरहेको र कतिपय पदाधिकारी पनि नभएको अवस्थामा प्रतिष्ठानको आन्तरिक ब्यवस्थापन कस्तो छ ?
अहिले हामी अफ्टेरो परिस्थितिबाट अगाडी बढिरहेका छौं । विगतमा घटेका घटनाहरुको नतिजा अहिले आइरहेको छ । भर्खरै एउटा घटना पुनः घट्यो । यो सिंगो संस्थाको लागि दुखद् हो । यसले यहाँ काम गर्ने इमान्दार कर्मचारीमा पनि डर र त्रास छाइरहेको छ । तरपनि, यस्ता घटनाहरुबाट हामीले सजग भएर संस्था चलाउन एक ढिक्का भएर अगाडी बढ्नु पर्ने देखेको छु ।
संस्थाबाट चेकको बण्डलै हराउनु अथवा चोरी हुनु भनेको संस्था प्रति कर्मचारीहरु बफादार नभएको हो ?
घटना घटिसकेका छन्, त्यहि विषयमा पुनः बोल्न उपयुक्त ठान्दिन । म कार्यवाहक उपकुलपति भएपश्चात पुनः चेककाण्ड सृजना भएपछि बारम्बार यस्ता घटनाहरु किन घटिरहेका छन् ? भनेर आन्तरिक र बाह्य छानविन गर्न प्रहरीमै उजुरी गरेको थिएँ । वास्तविक दोषी को हो पत्ता लागिसकेको छ । दोषिलाई कारवाही हुन्छ । म आइसकेपछि त्यस्ता घटना भएका छैनन्, विगत एक वर्षअघि भएका घटनाहरु हुन् ।
प्रतिष्ठान स्वायत्त संस्था भनेपनि बाहिरबाट हस्तक्षेप हुन्छ भनिन्छ नि ?
सानातिना हस्तक्षेप र भ्रष्टाचारका कुरा वीपीमा मात्र हैन देशभरी भइरहेका छन् । वीपी प्रतिष्ठान त्योबाट टाढा छैन । तर, जवसम्म म यो कुर्सीमा छु, त्यस्ता हस्तक्षेपले मलाई फरक पार्दैन ।
प्रतिष्ठानमा स्थगित भएका परियोजनाहरु सुचारु गराउन कस्तो पहल भइरहेको छ ?
मातृशिशु भवन, अंकोलोजी, कार्डियोलोजी भवन निर्माण रोकिइरहेको थियो । अबको सिनेटले त्यसलाई खुल्ला गर्ने आशा गरेको छु । सेवा विस्तारमा पनि धमाधम कामहरु भइरहेका छन् । इमरजेन्सी भवन अन्तिम अवस्थामा पुगेको छ । प्रतिष्ठानमा आइसियू पाउनु भनेको चिठ्ठा पर्नु जस्तै भन्ने कुरा आइरहेको छ । आइसियू थप्ने कार्य अगाडी बढेको छ । डायलाइसिसको पनि त्यस्तै सुनिन्छ । अहिले मात्रै २८ वटा डायलाइसिस मेसिन खरिद गर्ने प्रक्रिया अगाडी बढेको छ । साँढे ३ महिनामा २८ वटा डायलाइसिस मेसिन जडान भइसक्छ । विग्रेको अवस्थामा एकै पटक सबै कुरा गर्न गाह्रो हुँदो रहेछ । तर, विस्तारै ब्यवस्थित गर्ने विस्वास दिलाउन चाहन्छु ।
अब प्रतिष्ठान कसरी अगाडी बढ्छ ? प्रतिष्ठानको भिजन के हुन्छ ?
एउटा ब्यक्तिले सिंगो प्रतिष्ठान चलाउन सक्ने अवस्था छैन । चारजना पदाधिकारीमा दुई जना पदाधिकारीले मात्रै प्रतिष्ठान चलाउन सकिँदैन । म जहिलेपनि सामुहिक छलफलमा रुचाउने ब्यक्ति भएकोले अब ब्यक्तिले प्रतिष्ठान चलाउने हैन योजनाले प्रतिष्ठान चलाउनुपर्छ भन्ने मान्यता राख्छु । हामीले योजना अनुगमन र मुल्यांकन कमिटि गठन गरिसकेका छौं । कमिटिले आउँदा दिनमा प्रतिवेदन पेश गरी दिएको सल्लाह सुझाब अनुसार अगाडी बढ्छौं ।








