नेपाल स्वास्थ्य क्षेत्रको केन्द्र बन्न सक्छ : स्वास्थ्यमन्त्री ढकाल

पुष १३ काठमाडौं । नेपालमा पनि स्वास्थ्य सेवाको क्षेत्रमा नयाँ ज्ञान र प्रविधिहरु भित्र्याउन सके विश्वमै नेपाल स्वास्थ्य क्षेत्रको केन्द्र बन्न सक्ने सम्भाव्यता रहेको स्वास्थ्य तथा जनसंख्यामन्त्री भानुभक्त ढकालले बताएका छन् ।   

काठमाडौंमा दुई दिने ‘सेकेण्ड मेडिकल टुरिज्म एशिया समिट–२०१९’को समारोहलाई बोल्दै मन्त्री ढकाले भने, ‘हामीले आफ्नो विश्वसनियातालाई बढाउन सक्यौ भने त्यो अवसर हामीसंग छ, मलाई यो क्षेत्रको धेरै अनुभव छैन । तर मैले गरेको अनुभुति के हो भने अहिलेपनि आँखा र दाँतलगायतका कतिपय विद्याहरुमा अन्तर्राष्ट्रिय क्षेत्रमा रहनुभएका साथीहरुले पनि सेवा लिनुपर्यो भने हाम्रो देशलाई छनौट गर्ने खालको जुन प्रक्रिया छ, हामीले केही विद्याहरुमा सुधार गर्न सक्यौं भने यो विश्वसनियताले हामी मेडिकल हबको रुपमा नै विकास हुन सक्ने सम्भावना छ ।’ 

मन्त्री ढकालले नेपालको स्वास्थ्य क्षेत्रमा काम गर्नेहरुले नेपाललाई मेडिकल हब बनाउनको लागि अग्रणी भूमिका खेल्ने पनि विश्वास दिलाए ।   

उनले नेपालको स्वास्थ्य क्षेत्रलाई अघि बढाउन ऐन, कानूनमा केही कुरा छुटेको भएपनि नयाँ कानून थप्न सरकार प्रतिबद्ध रहेको विश्वास व्यक्त गरे ।   

उनले ‘एक स्वास्थ्य संस्था, एक स्वास्थ्यकर्मी’ को बारेमा पनि चर्चा गर्दै  सरकारी अस्पताल र प्राईभेट अस्पतालबीचको विभेदको स्थितिलाई कसरी सन्तुलित राख्ने भन्ने विषय उठाउनु जरुरी रहेको बताए ।   

उनले चिकित्सकहरुको सेवा तथा सुविधाको हकमा ‘मिनिमम–स्ट्याण्डर्ड’ अर्थात् न्यूनतम मापदण्ड कायम गर्न सकिए र ढुक्कका साथ चिकित्सक, नर्सहरुलाई सम्बन्धित संस्थामा काम गर्ने वातावरण बनाउन सकियो र २४ घण्टा नै सेवा दिने अवस्था बनाउन सकियो भने सेवाग्राहीहरु धेरै लाभान्वित हुन सक्ने तर्क गरे । 

कार्यक्रममा नेपाल मेडिसिटी हस्पिटलका अध्यक्ष डा. उपेन्द्र महतोले नेपाललाई मेडिकल टुरिजमको हब बनाउन सकिने विश्वास दिलाए ।   

अब नेपालीहरुले उपचारको लागि विदेश जानुपर्ने बाध्यता नभएको पनि उनले जिकिर गरे । महतोले प्रतिस्पर्धाको जमाना भएकाले चिकित्सा क्षेत्रमा लागेका एकआपसमा मिलेर जानुपर्ने समय आएको बताए। 

काठमाडौंमा दुई दिने ‘सेकेण्ड मेडिकल टुरिज्म एशिया समिट–२०१९’ को आयोजना गरिएको छ । समिट शुक्रबार र शनिबार दुई दिनसम्म चलेको थियो ।   

  

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

19 − four =