सहरी युवाका लागि काठमाडौं महानगरले ल्यायो विशेष कार्यक्रम

मंसिर ३०, काठमाडौं । काठमाडौं महानगरपालिकाले बेरोजगार तथा विदेशिएका युवा लक्षित कार्यक्रम ल्याउने तयारी गरेको छ ।   

सार्वजनिक, निजी तथा सामुदायिक क्षेत्रसँगको सहकार्यमा महानगरले युवा उद्यमशीलतामा आधारित तथा उत्पादनमुलक कार्यक्रम थालनी गर्न लागेको हो । यसै शिलशिलामा मेट्रोपोलिटियन सिटी हब (के–हब) कार्यक्रम थालन गर्न काठमाडौं महानगर र युएनडिपी बिच सम्झौता भएको छ ।   

कार्यक्रममा प्रमुख शाक्यले भने, ‘हामीले सहरी युवाका लागि यस्तो कार्यक्रम थालनी गर्न लागेका हौँ । यो कार्यक्रममा आफ्नो देशमा कमाइ हुने सम्भावना नदेखेर श्रमका लागि विदेश जान बाध्य सहरी युवालाई सहभागी गराइनेछ । काठमाडौं बाहिरबाट आएका हजारौं व्यक्तिले त यहाँ राम्रो आय आर्जन गरिरहेका छन् भने यहीँका युवाले कमाउन किन सक्दैनन् ?’ 

केही गर्ने सोच भएका तर कसरी गर्ने भनेर अलमल्लमा परेका युवालाई बाटो देखाउने कार्यक्रमको मुख्य उद्देश्य रहेको उनले जानकारी दिए । यसका लागि महानगरले लगानी गर्ने र आवश्यकता अनुसार क्रमशः लगानीमा साझेदारिता बढाउँदै लैजान सकिने मेयर शाक्यको भनाइ छ ।   

कार्यक्रममा स्वरोजगारमुलक व्यापार तथा उत्पादनमुलक क्षेत्रका विषयमा सिकाइ प्रवद्र्धन गरिन्छ ।   

कार्यक्रममा सहरी योजना आयोगका उपाध्यक्ष बस्नेतले भने, ‘नेपालबाट युवा पलायन हुँदा बौद्धिक पलायन मात्र होइन, यसबाट देशको आय उर्जामा पनि कमी आएको छ । यो कार्यक्रमले निश्चित अवधिमा आफू रोजगार बन्ने र अरुलाई रोजगारी दिने गरी युवालाई प्रोत्साहन हुनेछ । आगामी साढे २ बर्षभित्र कम्तीमा ५ वटा उद्यम सञ्चालन हुनेछन् ।’ 

सम्झौताबमोजिम शुरुवातमा कार्यक्रम सञ्चालनको बिधि तथा प्रक्रिया, सहभागी युवा छनौट प्रक्रिया, यसको दिगोपनाजस्ता बिषयमा अध्ययन र कार्यक्रम सञ्चालन ढाँचा तयार पारिनेछ । नविन सोच निर्माण र कार्यान्वयन’ का लागि संयुक्त लगानीबाट हुने काम, आफ्ना—आफ्नै लगानीबाट सञ्चालन हुने काम, साझा कार्यक्रमको कार्यक्षेत्रजस्ता बिषय पहिचान अहिले गरिनेछ । छनौट गरिएका कार्यक्रमबाट अधिकतम लाभ लिन कार्यक्षेत्र र मार्गनिर्देशन तयार पार्ने विषय सम्झौता पत्रमा उल्लेख छ ।  यही आधारमा साझेदारिता अघि बढ्नेछ ।   

कार्यक्रममा सहभागी गराइने युवालाई व्यापार, अनुसन्धान, लगानीको क्षेत्र र जोखिम, एकल र संयुक्त लगानी, व्यापार प्रवद्र्धन र सञ्जालीकरण, व्यापारिक कोण, व्यापार गर्दा अबलम्बन गर्नुपर्ने कर सम्बन्धि जानकारी, व्यापारमा प्रबिधिको प्रयोग, व्यापारिक कार्यमा प्राप्त हुने अनुदान रकम र यसको व्यवस्थापन जस्ता विषयमा तालिम दिइनेछ ।   

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *