किर्ते गरी चेक साटेको आरोपमा एमबिबिएस विद्यार्थी र बैंक कर्मचारी पक्राउ

मंसिर २३, धरान । किर्ते गरेर चेक साटेको अभियोगमा बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका दुईजना विद्यार्थी र बैंकका दुईजना कर्मचारी पक्राउ परेक छन् ।
पक्राउ पर्नेमा प्रतिष्ठानकै एमबिबिएस अध्ययनरत प्रभात कापडी र विश्वेश झा र सिरहाको मिर्चैयास्थित सनराइज बैंकमा कार्यरत कर्मचारी अजयकुमार कर्ण र देवराज तिमल्सिना रहेका छन्।
बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको खाताबाट बिनाआधार र बिनाटिप्पणी चेकमार्फत चार लाख ८० हजार रकम झिकिएको विषयमा प्रहरीले उनीहरुलाई पक्राउ गरेको हो ।

उनीहरूमाथि थप अनुसन्धान भइरहेको इलाका प्रहरी कार्यालय धरानले जनाएको छ। सोही अभियोगमा आरोपित प्रतिष्ठानका डाक्टर रोशन यादव भने फरार छन्।
इलाका प्रहरी कार्यालय धरानका अनुसार घटनामा हालसम्म प्रतिष्ठानमै एमबिबिएस अध्ययनरत तीनजना विद्यार्थी मुख्य दोषी देखिएका छन्। उनीहरूले ६ महिनाअघि लेखा शाखाको ड्रबाट चेक चोरी गरेको बयान दिएका छन्।
चेकमा अस्पताल निर्देशक डाक्टर गौरीशंकर शाह र तत्कालीन लेखा प्रमुख दिनेशराज दाहालको हस्ताक्षर छ। गत भदौ १९ गतेको मितिमा काटिएको सो चेक विद्यार्थीहरूले भदौ २७ गते मिर्चैया शाखाबाट साटेका थिए। अस्पताल निर्देशक डाक्टर साहले आफ्नो हस्ताक्षर किर्ते गरेको भन्दै विभिन्न निकायमा उजुरी दिएका छन्।
चेक किर्ते गरेको अभियोगमा अनुसन्धान गरिरहेको प्रहरीले चेकमा भएको हस्ताक्षर स्टाम्प हानेको जस्तो देखिए पनि भेरिफाइ गरेकाले बैंकका दुई कर्मचारी पक्राउ गरेको जनाएको छ।
प्रहरीले प्रतिष्ठानको लेखा शाखाका कर्मचारीहरूसँग पनि यो घटनाको विषयमा पटकपटक बयान लिइसकेको छ भने सनराइज बैंकको धरानस्थित शाखाका कर्मचारीहरूलाई पनि अनुसन्धानको दायरामा राखेको छ।








