महराले दिएको निवेदनउपर आज उच्च अदालतमा सुनुवाई हुँदै

पुष ३, काठमाडौं । पूर्व सभामुख कृष्णबहादुर महराको निवेदन उपर उच्च अदालत पाटनमा बिहीबार सुनुवाई हुँदैछ । पुर्पक्षका लागि थुनामा पठाउने जिल्ला अदालत काठमाडौंको आदेशविरुद्ध महरा निवेदन लिएर उच्च अदालत, पाटन पुगेका थिए ।
जिल्ला अदालत, काठमाडौंका न्यायाधीश सुदर्शनराज पाण्डेको इजलासले १८ कात्तिकमा महरालाई पुर्पक्षका लागि थुनामा पठाउने आदेश दिएको थियो ।
उच्च अदालतका मुख्य न्यायाधीश नहकुल सुवेदी र न्यायाधीश टेकनारायण कुँवरको संयुक्त इजलासमा उनको निवेदनमाथि सुनुवाइ हुन लागेको हो ।

५ मंसिरमा महराले उच्च अदालतमा निवेदन दर्ता गराएका थिए । अदालतले पीडित भनिएकी महिला कर्मचारीसँग पनि बयान लिइसकेको छ । जसमा उनले आफूमाथि करणी नभएको दाबी गरेकी छन् ।
फौजदारी कार्यविधि संहिता २०७४ मा रहेको व्यवस्था बमोजिम महराले निवेदन थिएका थिए ।
संसदकै महिला कर्मचारीमाथि यौन दुव्यवहार गरेका आरोपमा महरालाई १९ असोजमा प्रहरीले बालुवाटारस्थित सभामुखको सरकारी निवासबाटै पक्राउ गरेको थियो ।








