रत्ननगर १२ लाई बालश्रम मुक्त बनाइँदै

पुस १३, काठमाडौं । पूर्वी चितवनको रत्ननगर नगरपालिका वडा नम्बर १२ लाई बालमैत्री तथा बालश्रम मुक्त वडा बनाउन आइतबार वडास्तरीय सरोकारवालाहरु बिच अन्र्तक्रिया कार्यक्रम गरिएको छ ।
सन् २०२० भित्र रत्ननगरलाई बालमैत्री तथा बालश्रम मुक्त नगर बनाउने उद्देश्यका साथ रत्ननगर उद्योग वाणिज्य संघले रत्ननगर नगरपालिका र युनिसेफ नेपालको सहयोगमा बाल संरक्षण तथा बालश्रम न्युनिकरण कार्यक्रम सञ्चालन गर्दै आइरहेको छ । सोही सन्दर्भमा आइतबार रत्ननगर १२ मा सरोकारवालाबीच अन्र्तक्रिया गरिएको हो ।
रत्ननगर उद्योग वाणिज्य संघका उपाध्यक्ष रघुनाथ भट्टको अध्यक्षता तथा रत्ननगर नगरपालिका वडा नम्बर १२ का वडा अध्यक्ष वीर बहादुर पाख्रिनको प्रमुख आतिथ्यतामा कार्यक्रम भएको थियो ।

अन्र्तक्रियामा बाल संरक्षण तथा बालश्रम न्यूनिकरण कार्यक्रमका सन्तोष रेग्मीले वडाको वर्तमान अवस्था र बाल मैत्री तथा बालश्रम मुक्त वडा घोषणाका लागि पुरा गनुपर्ने प्रक्रियाहरुबारे जानकारी गराउँदै सहजीकरण गरेका थिए ।
वडाध्यक्ष वीर बहादुर पाख्रिनले वडालाई बालमैत्री तथा बालश्रम मुक्त वडा बनाउन सिंगो वडावासी सक्रिय रुपमा लागिपर्ने प्रतिबद्धता जनाए ।
कार्यक्रममा रत्नननगर नगरपालिकाका नगरकार्यपालिका सदस्य निर्मला खड्का, बाल मैत्री स्थानीय शासन सम्पर्क व्यक्ति विश्वास श्रेष्ठ, समाजसेवी एवम बुद्धिजिवी श्याम बराल, रत्ननगर खानेपानीका अध्यक्ष भिष्मराज पौडेल, दुग्ध सहकारी संस्थाका जिल्ला सचिव किशोर बगाले, टोल विकास संस्थाका अध्यक्ष अनिता अर्याल लगायतले मन्तब्य राखेका थिए ।
सोही अवसरमा वडालाई बाल मैत्री तथा बाल श्रम मुक्त वडा निर्माणका लागि वडा अध्यक्ष पाख्रिनको संयोजकत्वमा ११ सदस्यीय बालमैत्री स्थानिय शासन वडा समिति गठन गरिएको छ ।








