जनवरीदेखि ७३७ माक्स विमानको उत्पादन बन्द

पुष १ । विमान निर्माता कम्पनी बोइङले जनवरीदेखि ७३७ माक्स विमानको उत्पादन अस्थायी रुपमा बन्द गर्ने जनाएको छ । 

दुईवटा ठूला दुर्घटना भएपछि विमान नौ महिनादेखि ग्राउन्डेड हुँदा पनि कम्पनीले यस मोडलको उत्पादनलाई जारी राखेको थियो । 

इन्डोनेसिया र इथियोपियामा भएका दुई दुर्घटनामा ३ सयभन्दा बढीले ज्यान गुमाएका थिए । विमानको नयाँ फिचरमा देखिएको समस्याका कारण नै दुईवटा दुर्घटना भएको अध्ययनले देखाएको थियो । 

बोइङले यो वर्षको अन्त्यसम्ममा विमानले फेरि उडान भर्ने आशा व्यक्त गरेको थियो । तर, अमेरिकी नियामक निकायले विमानलाई यति चाँडै आकाशमा फर्कने अनुमति दिन नसकिने जनाएपछि विमानले उत्पादन तत्कालका लागि बन्द गर्ने निर्णय लिएको हो । 

अमेरिकाको सियाटलमा रहेको बोइङ अमेरिको प्रमुख निर्यातकर्तामध्ये एक हो । कम्पनीले उत्पादन बन्द गरे पनि कर्मचारीहरुलाई नकिल्ने बताएको छ । यद्यपि, यसले अमेरिका कै अर्थतन्त्रमा प्रभाव पार्ने आँकलन गरिएको छ । 

‘सुरक्षित रुपमा ७३७ म्याक्सलाई सेवामा फर्काउनु हाम्रो प्राथमिकता हो,’ विमान कम्पनीले भनेको छ । गत हप्ता कँग्रेसमा भएको सुनुवाइमा अक्टोबर २०१८ मा इन्डोनेसियामा भएको विमान दुर्घटनापछि नै थप दुर्घटनाहरु हुनसक्ने बारे अमेरिकी उड्डयन नियामक निकाय जानकार भएको बताइएको थियो । 

फेडेरल एभिएनस अथोरिटीको अध्ययनले विमानको डिजाइनमा परिवर्तन नगरे भविष्यमा एक दर्जनभन्दा बढी दुर्घटना हुने देखाएको थियो । यसका बावजुद मार्च २०१९ मा इथियोपियामा दुर्घटना नभएसम्म विमानलाई ग्राउन्डेड गरिएन । 

बोइङमा नयाँ ल्याइएको अटोमेटेड कन्ट्रोल सिस्टमलाई दुर्घटनाको प्रमुख कारण मानिएको छ । 

७३७ म्याक्स विमानलाई ग्राउन्डेड गर्दा बोइङलाई अहिलेसम्म ९ अर्ब डलर गुमाइसकेको छ । बोइङले विमानको उत्पादन रोक्ने हल्ला फैलिएपछि सोमबार नै कम्पनीको सेयर ४ प्रतिशतले खस्किएको थियो । 

विमान उत्पादक कम्पनीले आफूसँग ४ सय ७३७ म्याक्स विमान स्टोरमा रहेको जनाएको छ । बोइङका इन्जिनियरहरुलाई विमानमा देखिएको त्रुटी समाधान गर्न समय दिन विमानको डेलिभरी केही समयका लागि स्थगन गरिएको छ । 

अमेरिकाको लापरवाही 

अमेरिकाको ‘फेडरल एभिएसन एडमिनिस्ट्रेसन’ले विमानको नयाँ प्रणालीमा खराबी रहेको पहिचान गरेको थियो । सो संस्थाका अनुगमनकर्ताले उक्त प्रणालीको संकेत ककपिटमा रहेका क्रु सदस्यलाई सही कुरा बताउन असफल भएको पाएका थिए । 

ती जाँचकर्ताले साउथ–वेस्ट एयरलाइन्सका बोइङ ७३७ म्याक्सको अनुसन्धान गरेका थिए । सो एयरलाइन्स बोइङ म्याक्स जहाजको सबैभन्दा ठूलो खरिदकर्ता हो । एयरलाइन्ससँग बोइङका ३४ विमान छन् । 

१८९ यात्रुको मृत्यु भएको लायन्स इयरको दुर्घटना अघि उक्त अनुगमन भएको थियो । अनुगमनमा उक्त गलत सिग्नल ‘सबै म्याक्स विमानमा काम गरेको जस्तो देखिएको’ थियो । यहाँसम्म कि कक–पिटमा रहेकाले स्वीच–अफ गर्दा समेत सिग्नल देखिएको साउथ–वेस्टकी प्रवक्ताले बताइन् । 

ती प्रवक्ताका अनुसार दुर्घटनापछि बोइङले साउथ–वेस्टलाई सम्पर्क गरेर सिग्नल ‘टर्न अननै गर्दाबाहेक बन्द रहने’ भएपछि सबै विमानमा सिग्नल सधैँ खुल्ला देखिने व्यवस्था गरिएको बताएको थियो । 

त्यसपछि बोइङले कमसल खालको सतर्कता प्रणाली बनाउने निर्णय गरेको अनुगमनकर्ताले थाहा पाए । तर कम्पनीले सो कुराको जानकारी साउथ–वेस्ट एयरलाई थाहा नदिइ गरेका थिए । 

यो जानकारी पाएपछि अनुगमनकर्ताले ती विमान उडाउन अयोग्य रहेको सिफारिस गर्ने सोचेको तर सँगसँगै पाइटललाई विमानको अलर्ट प्रणालीबारे अतिरिक्त तालिम दिँदा पनि प्रयाप्त हुन्छ कि भन्ने विकल्पमा पनि सोचेको बताए । 

तिनले दोस्रो विकल्प उपयुक्त नभएको निर्णय गरे तर तिनले आफ्नो खोजलाई एफएएका माथिल्ला अधिकारी कहाँ कहिल्यै पु९याएनन् । 

अक्टोबरमा इथोपिया एयरलाइन्सको जहाज दुर्घटनामा सबै १५७ यात्रु मारिएका थिए । यस दुर्घटनापछि बोइङ ७३७ म्याक्सका सबै विमान ग्राउण्डेड गर्ने निर्णय लिइएको थियो । इथियोपिया एयरको विमान दुर्घटनाको कारण पछाडि पनि अलर्ट प्रणालीले काम नगर्नु बताइएको छ । 

‘एन्टी–स्टल प्रणाली’ उडान अवधिमा विमानमा कुनै समस्या उत्पन्न भएमा स्वतः सक्रिय हुनुपर्छ । यो सक्रिय भएपछि यसले जहाजको मुखलाई तल झुकाएर विमानको इन्जिन बन्द हुन दिँदैन र सम्भावित दुर्घटनालाई टार्छ । एजेन्सी 

  

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *