काठमाडौंमा ‘एक्सन फर एसडिजीज’ कार्यक्रम हुँदै, विजेता तीन जनालाई एक लाख

मंसिर १९, काठमाडौं । आईसेकको आयोजनामा काठमाडौंमा ‘एक्सन फर एसडिजीज’ कार्यक्रम हुने भएको छ ।   

यही मंसिर २१ गते काठमाडौंको र्याडिसन होटलमा कार्यक्रम हुने बिहीबार रिपोर्टर्स क्लब नेपालमा पत्रकार सम्मेलन गर्दै आयोजक संस्था आईसेक नेपालले जानकारी दिएको छ ।   

यो ईभेन्ट युवा पुस्ता जो समाजमा आफ्नो विचारबाट परिवर्तन चाहन्छन्, उनीहरुको लागि उपयुक्त प्लाटफर्म हुने आयोजकको विश्वास छ ।   

‘दिगो विकासको लागि केन्द्रित गरिएको पाँच महत्वपूर्ण पक्षमा क्वालिटी एजुकेशन, जेण्डर ईक्वालिटी, क्लिन वाटर एण्ड स्यानिटेशन, पिस, जस्टिस एण्ड स्ट्रोङ ईन्स्टिच्युसन एण्ड पार्टनरसिप फर गोल्स हुन्’, आयोजक संस्थाले जारी गरेको विज्ञप्तीमा भनिएको छ ।   

उक्त ईभेन्टमा तीन सयभन्दा बढी युवायुवतीहरुको सहभागिता रहनेछ । ती सहभागीहरुलाई २० भन्दा बढी कम्पनीहरुले सहयोग गर्नेछन् । विज्ञप्तीमा भनिएको छ, ‘दश जना विज्ञहरुले ती सहभागीहरुलाई आफ्नो योगदानको अनुभव सुनाउने कार्यक्रम छ । त्यतिमात्रै होईन, उनीहरुले ती सहभागीहरुलाई आफ्नो संघर्ष र सिकाईको अनुभवपनि आदानप्रदान गर्नेछन्, जसले उनीहरुलाई हौसला प्रदान गर्नेछ र कहिल्यै पनि संघर्षबाट नभाग्नको लागि प्रेरित गर्नेछ ।’ 

आयोजक संस्था आईसेक नेपालका प्रेसिडेन्ट अभिषेक भोईटेले संस्था र ‘युथ फर ग्लोबल गोल्स’ को बारेमा जानकारी दिएका थिए । त्यस्तै, उक्त ईभेन्टको मुख्य उद्देश्य भनेको युवा पुस्तालाई दिगो विकासको लक्ष्य हाँसिल गर्नको लागि तालिम दिनेपनि उनले विश्वास दिलाए । उनले भने, ‘यो ईभेन्टबाट छानिएका उत्कृष्ट तीन विचारहरुलाई हाम्रो तर्फबाट एक लाख रुपैयाँ विचार कार्यान्वयनको लागि सहयोग गर्छौं ।’ 

त्यस्तै, उक्त ईभेन्टमा ‘पावर टक’ मा मिस नेपाल अर्थ–२०१८ प्रिया सिग्देल, संयुक्त राष्ट्रसंघका भोल्युनटियर्सका कन्ट्री कोअर्डिनेटर मून गुरुङ, पिस एण्ड डिसार्ममेन्ट प्रोजेक्टका कोअर्डिनेटर जेन एलिजाबेथ लसन र अनलिमिटेड टेक्नोलोजीका सिईओ एलेन बाईलोचन तुलाधरको प्रवचन हुनेछ ।   

व्यक्तिगत तर्फबाट दिगो विकासको लक्ष्यसम्बन्धी कार्यशाला गोष्ठीमा टिच फर नेपालका रिक्रुटमेन्ट एण्ड सेलेक्शन डाईरेक्टर शैलेन्द्र झा र टिच फर नेपालका रिक्रुटमेन्ट कोअर्डिनेटर राम केशरले गुणस्तरीय शिक्षाको लागि प्रवचन दिने पनि आयोजकले जनाएको छ ।   

त्यस्तै, प्लान ईन्टरनेश्नल फर जेण्डर ईक्वालिटीकी रक्षा पौडेल, स्मार्ट पानी फर क्लिन वाटर एण्ड स्यानिटेशनकी शुभेच्छा मानन्धर, अधिवक्ता शितल सुवेदीले शान्ति, न्याय तथा सदृढ संस्थाको लागि आफ्नो प्रवचन दिने कार्यक्रम रहेको छ । सेक्रेटरी अफ युथ सुरक्षा ढुंगानाले पार्टनरसिप फर गोल्समा आफ्नो प्रस्तुति दिनेछिन् । त्यस्तै, अतिथि वक्ताको रुपमा सञ्जोग कोइराला पनि रहने आयोजकले जानकारी दिएको छ ।   

शीर्ष तीन जना विजेताहरुको ६० प्रतिशत चयन माथि उल्लेखित वक्ताहरुबाट र ४० प्रतिशत अडियन्स (पोलिङ सिस्टम) बाट हुनेछ । उक्त ईभेन्ट कोकाकोलाले प्रस्तुत गर्नेछ भने यसको सह–प्रायोजकको रुपमा क्याथी प्यासिफिक र प्लान ईन्टरनेश्नल रहेका छन् । त्यस्तै, यो ईभेन्टमा आवद्धता संस्थाहरुमा खल्ती, र्याले ईन्टरनेश्नल, रेस्टलेस डेभलवमेन्ट, भि.एस.ओ, एडु सञ्जाल र संयुक्त राष्ट्रसंघ रहेका छन् ।   

उक्त ईभेन्टमा भाग लिन चाहनेहरुको लागि एक दिनको लागि प्रतिव्यक्ति ५ सय रुपैयाँ प्रवेश शुल्क तिर्नुपर्ने पनि आयोजकले जानकारी गराएको छ । त्यस्तै, ईभेन्टमा आफ्नो विचार प्रस्तुत गर्नको लागि ग्रुप वा व्यक्तिको लागि एक हजार रुपैयाँ तोकिएको छ ।   

ईभेन्टमा सहभागी हुनको लागि आईसेकको फेशबुक पेजमार्फत पनि गर्न सकिनेछ । आईसेक  आईसेक युवाहरुको लागि ग्लोबल प्लाटफर्म हो । उक्त संस्था गैरराजनीतिक, स्वतन्त्र र गैरनाफामूलक हो ।   

  

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

12 + nineteen =