एमसीसी इन्डो प्यासिफिकको अंग हो भने सम्झौता स्वीकार्य हुँदैनः प्रचण्ड
पुस ४, काठमाडौं । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (ने क पा) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले एमसीसी (मिलेनियम च्यालेन्ज कम्प्याक्ट) इन्डो–प्यासिफिक रणनीतिको अंग नभएको बताएका छन् ।
शुक्रबार नेकपा संसदीय दलको बैठकलाई सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले एमसीसी इन्डो प्यासिफिकको अंग भएमा सम्झौता स्वीकार नगर्ने बताए ।
एमसीसीका बारेमा सरकारले अमेरिकी अधिकारीहरुसँग बुझ्ने उनको भनाइ छ ।
पूर्व प्रधानमन्त्रीसमेत रहेका प्रचण्डले बैठकमा भने, ‘एमसीसी अमेरिकाको इन्डो प्यासेफिक स्टाट्रेजीको अंग होइन र अमेरिका सैन्य गठबन्धनसँग सम्बन्ध छैन । यदि एमसीसी त्यसको अंग भएमा सम्झौता स्वीकार्य हुँदैन ।’
उनले इन्डो–प्यासिफिक रणनीति सन् २०१७ बाट सुरुवात भएको बताउँदै एमसीसी त्योभन्दा जेठो भएको बताएका हुन् । एमसीसी सन् २००४ बाट सुरु भएको परियोजना भएको उनको भनाइ थियो ।
प्रचण्डले भने, ‘एमसीसी इन्डो–प्यासिफिक रणनीतिअन्तर्गत र यसको अंग होइन भने हामी अगाडि बढ्नुपर्छ । ठूलो रकम (५५ अर्ब नेपाली रुपैयाँ) सहयोग आइरहेकाले हामी नकारात्मक हुनुपर्दैन ।’
नेकपाभित्रको अन्यौलको कारण संसद दर्ता गरिएको उक्त सम्झौता अनुमोदन हुन सकेको छैन। बिहीबारदेखि जारी नेकपा स्थायी कमिटी बैठकमा नेताहरुले एमसीसीबारे प्रश्न उठाउँदै आएका छन् ।
यद्यपी प्रधानमन्त्री केपी शर्मा ओलीले यसअघि नै एमसीसी अनुमोदन हुने बताएका थिए। स्थायी समितिका सदस्य समेत रहेको परराष्ट्र मन्त्री प्रदीप ज्ञवालीले एमसीसी र इन्डो प्यासेफिक रणनीति एकै नभएको जिकिर गरेका थिए।