दीपकलाई श्रद्धाञ्जली दिएको भोलिपल्ट आफैँ अस्ताए केशव

मंसिर ३०, काठमाडौं । शुक्रबार राति सुतेका अभिनेता दीपक क्षेत्री शनिबार दिउँसो मृत अवस्थामा भेटिए । डिल्लीबजास्थित आफ्नै डेरामा ।   

उनको शव महाराजगन्जस्थित त्रिवि शिक्षण अस्पतालमा पोस्टमार्टमका लागि लगियो । खबर फ्ल्यास हुनेबित्तिकै सबैको फेसबुकमा यही पोष्ट देखियो, ‘हार्दिक श्रद्धाञ्जली दीपक क्षेत्री’ ।   

नेतादेखि कलाकारहरुको फेसबुक वालमा पनि यही छाएको थियो । यही ताँतीमा थिए अर्का अब्बल कलाकार केशव भट्टराई । उनको वालमा पनि थियो, ‘दिपकजी तपाईंको आत्मशान्तीको कामना गर्दछु । हार्दिक श्रद्धाञ्जली ! 

Image result for केशव भट्टराई

आइतबार दिउँसो उनले बोर्डको बैठक राखेर दिवंगत कलाकार दीपक क्षत्रीको अन्त्येष्टिका लागि रकम समेत छुट्याएका थिए । 

कस्तो संयोग, दीपकलाई श्रद्धाञ्जली दिएको भोलिपल्टै उनी स्वर्गबास !   

देशले दुई दिनको अन्तरालमा दुई अब्बल कलाकार गुमायो ! 

स्वास्थ्यमा एक्कासी समस्या देखिएपछि आइतबार राति अनामनगरस्थित घरबाट भट्टराईलाई उपचारका लागि ओम अस्पतालतर्फ लगिँदै थियो । तर अस्पताल नपुर्याउँदै सोही दिन राति १०ः२० बजे उनको निधन भयो ।   

५२ वर्षीय भट्टराई लामो समयदेखि नेपाली चलचित्रमा चरित्र अभिनेताको रुपमा अभिनय गर्दै आएका थिए । उनी चलचित्रका निर्माता पनि हुन् ।   

भट्टराई गएको चैत्र ७ गते चलचित्र विकास वोर्डको अध्यक्ष थिए । एक वर्ष पुग्न दुई महिना मात्रै बाँकी रहँदा उनी अस्ताए ! 

पदभार ग्रहणका क्रममा उनले सारेका विभिन्न कार्ययोजनाहरु पुनः एकपटक अलपत्र परे ।   

नियुक्ति लगतै भट्टराईले चलचित्र क्षेत्रको हित विपरित कहिल्यै काम नगर्ने प्रतिबद्धतासहित १६ बुँदे सुधारका कार्ययोजना पेस गरेको बताएका थिए । यद्यपी सार्वजनिक भने गरेका थिएनन् ।   

केही महत्वाकांक्षी कार्ययोजना पेस गरिएकाले त्यसको सम्भावना र कार्यान्वयनका जटिलताका बारेमा अध्ययन गर्न केही समय लाग्ने भन्दै उनले तत्काल सार्वजनिक गर्न नसकेको उल्लेख गरेका थिए । के थियो त्यो १६ बुँदामा ? अब उनै जानुन ! 

राष्ट्रिय चलचित्र नीति पारित गर्न पहल गर्ने, बक्सअफिसको कार्यान्वयनमा कटिबद्ध भएर लाग्ने, २ वर्षदेखि रोकिएको राष्ट्रिय चलचित्र पुरस्कार तत्काल सुचारु गर्ने र काठमाडौं उपत्यकामा नै छायाँकन स्टुडियो लगायतका कार्य उनको पहिलो प्राथमिकतामा थियो । 

केशवमाथि निकै भरोसा गरेका थिए चलचित्रकर्मीले । उनको अर्को योजना त बक्स अफिसमा सुधार ल्याउनु थियो, जुन सपना अधुरै रह्यो ।   

ओखलढुंगामा जन्मिएका केशवले चलचित्र क्षेत्रमा आउनुअघि विद्युत प्राधिकरणमा जागिर सुरु गरेका थिए । नेपाल विद्युत प्राधिकरणमा दुई दशक जागिर खाएका भट्टराईले बोर्डमा नियुक्ति पाएपछि प्राधिकरण छाडेका थिए । 

उनी निर्देशक तुलसी घिमिरे मार्फत् चलचित्र क्षेत्रमा आएका हुन् ।   

चलचित्र ‘कोशेली’, ‘चिनो’, ‘दुई थोपा आँशु’, ‘दक्षिणा’, ‘मितज्यु’, ‘बलिदान’, ‘दौतरी’, आफ्नो मान्छे’ लगायत दर्जनौँ चलचित्रमा केशवले अभिनय गरेका छन् ।   

अध्यक्ष केशव एक सफल निर्मातामा पनि गनिन्छन् । ‘पाहुना’, ‘कर्मयोद्धा’, ‘देवरबाबु’, ‘छोडी गए पाप लाग्ला’, ‘सो सिम्पल’, ‘ब्रस्लेट’, ‘यात्रा’ लगायत उनको लगानीमा बनेका चलचित्र हुन् । 

भट्टराईकी श्रीमती र एक छोरा छन् । भट्टराईले १५ वर्षदेखि उच्च रक्तचापको औषधि सेवन गर्दै आइरहेका थिए । भट्टराईको आजै पशुपति आर्यघाटमा राष्ट्रिय सम्मानका साथ अन्यष्टि गरिने छ । 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

19 − seven =