तेश्रो नेपाल जेम एण्ड ज्वेलरी एक्सपो पुस २५ गतेदेखि हुने

पुस १५, काठमाडौं । तेश्रो नेपाल जेम एण्ड ज्वेलरी एक्स्पो हुने भएको छ । नेपाल रत्न तथा आभुषण संघ (नेग्जा) को तत्वावधानमा यही पुस २५ देखि २७ गतेसम्म होटल सोल्टी क्राउन प्लाजा काठमाडौंमा “तेश्रो नेपाल जेम एण्ड ज्वेलरी एक्स्पो – २०२०” आयोजना हुने भएको हो । 

संघले यसअघि सन् २०११ र २०१४ मा पहिलो र दोश्रो जेम एण्ड ज्वेलरी एक्स्पो सफलतापूर्वक सम्पन्न गरिसकेको छ । 

बहुमूल्य तथा अर्धबहुमूल्य रत्न, पत्थर आदि स्वदेशी कच्चा पदार्थको अन्वेषण, उत्खनन्, प्रशोधन र प्रयोगको संभावनालाई स्पष्ट पारी आन्तरिक तथा वाह्य प्रविधि एवं पुँजीलाई आकर्षित गर्ने उद्देश्यले एक्सपोको आयोजना गर्न लागिएको हो । अन्तर्राष्ट्रिय बजारमा नेपाली मौलिक आभुषण प्रतिको आकर्षणलाई सदुपयोग गरि निर्यात अभिवृद्धि गर्न सकिएमा निर्यात व्यापारमा आभुषण क्षेत्रले सरदर वार्षिक १५ प्रतिशत भन्दा बढीको योगदान गर्न सक्दछ । भन्ने प्रष्ट्याउन एक्स्पोको आयोजना गरिन लागिएको हो ।   

आभुषण उद्यम, व्यवसायमा आन्तरिक तथा बाह्य प्रविधि र पुँजीलाई आकर्षित गरी रोजगारी, नेपाली गरगहना उत्पादन, निर्यात प्रवद्र्धन र राजश्व अभिवृद्धि आदि कार्यमा थप टेवा पुर्याउने तथा जेम्स एण्ड ज्वेलरी क्षेत्रमा वाह्य प्रविधि तथा लगानीका लागि नेपालमा विद्यमान संभावनाहरुलाई उजागर गर्नका लागि एक्सपो फलदायी हुने बताइएको छ ।   

यसका साथै नेपाली कालीगढमा रहेको मौलिक क्राफ्टम्यानशीप, क्षमता, शीप र प्रतिभाको प्रवद्र्धन एवं जर्गेना गर्दै दोश्रो पुस्तामा शीप हस्तान्तरणका लागि प्रोत्साहित गर्ने अपेक्षा गरिएको छ ।   

एक्सपोको विशेष आकर्षणका रुपमा एक्स्पो समुद्घाटन हुनु एक दिन अघि पुस २५ गते नेपाली मौलिक गहनाहरुको “फेशन शो” आयोजना गरिने छ । उक्तः “फेशन शो” मा भारत लगायत अन्य राष्ट्रहरुका ख्याति प्राप्त विशिष्ट कलाकारहरु समेत नेपाली आभुषणहरुका साथ प्रस्तुत हुने कार्यक्रम छ ।   

ज्वेलरी एक्स्पोमा नेपाल सरकार, नेपाल स्थीत कुटनीतिक नियोगहरु लगायत निजी क्षेत्रका महासंघ, संघ आदि संस्थाहरुसँग सहकार्य गरिने छ । एक्सपोमा करिव ४० वटा ज्वेलर्स कम्पनीहरुले आफ्ना उत्पादनहरु प्रर्दशन गर्नेछन् । दश हजार भन्दा बढीले एक्स्पो अवलोकन गर्ने विश्वास गरिएको छ । 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *