संसदको हिउँदे अधिवेशन आजदेखिः प्रतिनिधिसभाको अध्यक्षता उपसभामुखले गर्ने, यस्ताे छ कार्यसूची

पुस ४, काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीको आह्वानमा संसदको पाँचौँ अधिवेशन आज (शुक्रबार) बाट सुरु हुँदैछ ।
शुक्रबार अपराह्न ४ बजे दुवै सदन (प्रतिनिधिसभा र राष्ट्रियसभा) को बैठक बस्ने संसद् सचिवालयले जानकारी दिएको हो ।
सचिवालयका अनुसार प्रतिनिधिसभा बैठकको अध्यक्षता उपसभामुख शिवमाया तुम्बाहाम्फेले गर्नेछिन् ।

महिलामाथि यौन दुव्र्यवहार गरेको अभियोगमा सजाय भोगिरहेका कृष्णबहादुर महराले राजीनामा दिएपछि सभामुख पद रिक्त छ । रिक्त सभामुख पद पूर्ति हुन बाँकी रहेकाले आजको बैठकको अध्यक्षता तुम्बाहाम्फेले गर्न लागेकी हुन् ।
संविधानको धारा ९१ (४०) को व्यवस्थाअनुसार सभामुखको अनुपस्थितिमा उपसभामुखले बैठक सञ्चालन गर्न पाउने प्रावधान छ । सभामुख तथा उपसभामुख दुवैको स्थान रिक्त रहेको अवस्थामा भने ज्येष्ठ सांसदले बैठक सञ्चालन गर्नसक्ने संवैधानिक व्यवस्था छ।
बैठकको सुरुमा दुवै सदनमा राष्ट्रपति विद्यादेवी भण्डारीको संसद् आह्वानसम्बन्धी पत्र बाचन गरेर सुनाइने कार्यक्रम छ ।
प्रतिनिधिसभामा तुम्बाहाम्फे र राष्ट्रिय सभामा राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसद तिमिल्सिनाले राष्ट्रपतिबाट प्राप्त पत्र वाचन गरेर सुनाउने जानकारी दिइएको छ ।
अधिवेशनको पहिलो दिनको सम्भावित कार्यसूची अनुसार राष्ट्रिय सभामा दलीय आधारमा संसदीय दलका नेताहरूले स्वागत मन्तव्य राख्ने छन् ।
स्वागत मन्तव्यपछि बैठकले मन्त्रिपरिषदको गठनसम्बन्धी राष्ट्रिपतिको कार्यालयबाट प्राप्त पत्रको व्यहोरा पढेर सुनाउने र विभिन्न चार जना पूर्व सांसदहरुको निधनमा शोक प्रस्ताव पारित गर्ने कार्यसूची पनि तय गरेको छ ।
प्रतिनिधिसभा बैठकको कार्यसूची भने तय हुन बाँकी छ ।








