उपेन्द्र यादवले सरकार छोडेपछि प्रधानमन्त्रीले अब विश्वासको मत लिनुपर्ने


पुष ८, काठमाडौं । सत्तासाझदोर दल समाजवादी पार्टी नेपालले सरकारलाई दिएको आफ्नो समर्थन फिर्ता लिएको छ । समाजवादी पार्टीले समर्थन फिर्ता लिएसंगै प्रधानमन्त्री केपी शर्मा ओलीले विश्वासको मत लिनु पर्ने भएको छ ।
उप्रपधान एवं कानुन न्याय तथा संसदीय मामिलामन्त्री उपेन्द्र यादव र सहरी विकासमन्त्री मोहम्मद इस्तियाक राईले मंगलबार राजीनामा दिएपछि सरकारले पाएको दुईतिहाइको मत गुमेको हो ।
सत्तारुढ पार्टी नेकपासंग स्पष्ट बहुमत भएपनि संवैधानिक व्यवस्थालाई आधार मान्दा समाजवादी पार्टीले सरकार छाडेपछि प्रधानमन्त्रीले विश्वासको मत लिनु पर्ने हुन्छ ।
नेपालको संविधानको धारा १०० मा विश्वासको मत र अविश्वासको प्रस्तावसम्बन्धी व्यवस्था गरिएको छ । उक्तधाराको उपधारा (२) मा सत्तासाझेदार दलले सरकारलाई दिएको समर्थन फिर्ता लिएमा एक महिना (३० दिन) भित्र प्रतिनिधिसभा समक्ष विश्वासको मतका लागि प्रस्ताव राख्नुपर्ने व्यवस्था गरिएको छ ।
यसैबीच सत्तारुढ दललाई दुईतिहाइको सरकारमा टिकाउन राजपाले समर्थन गर्न सक्ने संकेत देखिएको छ । केही दिन अघि सत्तारुढ दल नेकपा र राष्ट्रिय जनता पार्टी (राजपा) बीच गठवन्धन गरेर राष्ट्रियसभा चुनावमा जाने सहमति भएसंगै राजपाले सरकारलाई समर्थन गर्ने संकेत देखिएको हो ।
यदी राजपाले सरकारलाई समर्थन गरेमा सरकारले पुनः दुईतिहाईको मात पाउने छ । राजपाले प्रतिनिधिसभा निर्वाचनमा १७ सिट पाएको छ ।
