पिँजडामा पालिएका कुखुराबाट उत्पादित अण्डा नखानुस्, अस्वस्थकर हुन्छ


मंसिर २६, काठमाडौँ । पिँजडामा पालन गरिएको कुखुराबाट उत्पादन भएको अण्डा र मासु खानका लागि स्वस्थकर नहुने बताइएको छ । देशका अधिकांश ठाउँमा पिँजडाभित्र कखुुरापालन गरिँदै आएकाले पिँजडामुक्त खोरका बारेमा चेतना जगाउनुपर्ने जानकारहरु बताउँछन् ।
पिँजडामुक्त खोरको प्रयोग र विस्तारका लागि अभियान चलाएको एनिमल नेपालद्वारा आयोजित कार्यक्रममा उपभोक्ता मञ्चका अध्यक्ष सहदेव गौतमले जीवनयापनका लागि पशुपक्षीलाई पनि उपयुक्त वातावरण चाहिने भएकाले पशु अधिकारका विषयमा मानिस सचेत हुनुपर्ने बताए ।
एनिमल नेपालका कार्यकारी निर्देशक हरिप्रसाद जोशीले प्राकृतिक वातावणमा रमाएर हुर्किएको पशुपक्षीको मासु, दूध र अण्डाबाट मात्र आवश्यक पौष्टिक तत्व पाइने बताए । ‘औषधि र सुईको प्रयोगले उत्पादन वृद्धि गर्ने गरिएको छ’, उनले भने, ‘प्राकृतिक र अर्गानिक वस्तुको सेवनमा जोड दिई मानव स्वास्थ्यको क्षेत्रमा संवेदनशील बन्न अति आवश्यक छ ।’
null
जोशीले १२० दिनको अवधिमा तयार हुने ब्वायलर कुखुरालाई औषधि सेवन गराई ३५ दिनमै तयार गर्न लागिएको बताए । पशुकल्याणको विश्वव्यापी मान्यतालाई स्थापित गर्नका लागि अभियान सञ्चालन गरिएको उनले बताए ।
संस्थाका कार्यक्रम संयोजक निर्मल शर्माले पहिलो चरणमा काठमाडौँ र चितवनमा अभियान सञ्चालन गरिएको बताए । रेष्टुरेन्ट व्यवसायी हरिप्रसाद भेटवालले मानिसको स्वास्थ्यसँग सरोकार राख्ने विषयहरुमा सबैको सहकार्य आवश्यक रहने बताए ।
उनले राज्यका नीतिनिर्माण तहमा बस्ने व्यक्तिहरु पनि उपभोक्ता नै भएकाले उपभोक्ता अधिकार हननका विषयमा चनाखो हुनुपर्नेमा जोड दिए ।
