नेकपाले उपसभामुखलाई राजिनामा दिन लगाउने, को बन्ला सभामुख ?

मंसिर २५, काठमाडौँ । नेकपाले संसद्को हिउँदे अधिवेशनअगावै उपसभामुख शिवमाया तुम्बाहाम्फेलाई राजीनामा गराउने भएको छ। पुस ४ मा सुरु हुने अधिवेशनको अध्यक्षता राजपाका नेता एवं जेष्ठ सदस्य महन्थ ठाकुरले गर्नेछन्। 

संसद् नियमावलीको व्यवस्थाअनुसार प्रतिनिधिसभा बैठकको प्रारम्भ र अन्त्य सभामुखले गर्छन्। उनी नहुँदा ज्येष्ठ सदस्यबाट गराइन्छ। यौन दुव्र्यवहार आरोपमा कृष्णबहादुर महराले राजीनामा दिएपछि सभामुख पद खाली छ। 

सभामुख र उपसभामुख फरक दल र लिंगको हुनुपर्ने संवैधानिक व्यवस्था छ। उपसभामुखबाट राजीनामा नगरी नेकपाका सांसदले सभामुखमा प्रतिस्पर्धा गर्न पाउँदैनन्। त्यही कारण तुम्बाहाम्फेको पद गुम्न लागेको हो। सभामुख आफ्नो पार्टीले लिएपछि उपसभामुख अन्य पार्टीलाई दिने तयारी नेकपाको छ। 

‘जेष्ठ सदस्यले अध्यक्षता गर्ने गरी उपसभामुखले राजीनामा दिनुहुनेछ,’ नेकपा संसदीय दल स्रोतले अन्नपूर्णसँग भन्यो, ‘उहाँले राजीनामा दिनैपर्ने अवस्था छ। बैठक बस्नुअघि राजीनामा आउँछ।’ 

उपसभामुख तुम्बाहाम्फेले भने सभामुख निर्वाचनको प्रक्रिया प्रारम्भ भएपछि आफूले राजीनामा दिने बताइन्। ‘प्रक्रिया कसरी अघि बढाउने भन्ने विषयमा मैले कार्यव्यवथा परामर्श समितिको बैठक बोलाउने तयारी गरेकी छु,’ उनले भनिन्, ‘दलहरुको सुझावअनुसार अघि बढ्नेछु।’ 

संसद् अधिवेशनअगावै राजीनामा दिने वा पछि भन्नेमा सुझाव लिइरहेको उनले बताइन्। ‘पहिलो बैठकको अध्यक्षता मैले गर्ने कि नगर्ने भन्ने टुंगो छैन,’ उनले भनिन्, ‘केही दिनमा त्यसबारे टुंगो लाग्नेछ।’ 

मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले पुस ४ गते ४ बजे बस्ने गरी संसद्का दुवै सदनको अधिवेशन आह्वान गरेकी छन्। 

नयाँ सभामुख को ?   

संसद् अधिवेशन आह्वानसँगै नयाँ सभामुखबारे सत्तासीन नेकपामा छलफल प्रारम्भ भएको छ। प्रधानमन्त्री एवं पार्टी अध्यक्ष केपी ओली र अर्का अध्यक्ष पुष्पकमल दाहालबीच छलफल भइसकेको स्रोतले बतायो। स्रोतका अनुसार ओलीको रोजाइमा पूर्वसभामुख एवं संसदीय दलका उपनेता सुवास नेम्वाङ छन् । यो समाचार आजको अन्नपूर्ण पोस्टमा छापिएको छ ।  

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

five × 4 =