माधव नेपाललाई भारत पठाउनेबारे सञ्चारमन्त्रीले भने, ‘यो होहल्ला गर्ने कुरा होइन’


मंसिर २६, काठमाडौं । सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुल बाँस्कोटाले सीमा विवादका सन्दर्भमा नेकपा नेता माधवकुमार नेपाललाई विशेष दूतको जिम्मेवारी नदिइएको दाबी गरेका छन् ।
पछिल्लो समय विभिन्न सञ्चार माध्यमहरुमा सीमा विवादबारे बुझ्न तथा सुल्झाउन प्रधानमन्त्री केपी शर्मा ओलीको तर्फबाट विशेष दूत बनाएर माधव नेपाललाई भारत पठाउन लागिएको समाचारहरु बाहिरिएका बेला मन्त्री बाँस्कोटाले जिम्मेवारी नदिइएको प्रष्टोक्ति दिएका हुन् ।
मन्त्रिपरिषदका निर्णयहरु सार्वजनिक गर्न बिहीबार आयोजित पत्रकार सम्मेलनमा उनले भने, ‘माधव कुमार नेपाललाई भारत पठाउने कुरा मैँले सञ्चार माध्यमबाट थाहा पाएँ । विशेषदूत धेरै होहल्ला गर्ने कुरा होइन । जुन दिन हुन्छ, त्यो दिन थाहा पाउनु हुन्छ ।’
सीमा विवादका विषय पुरानो भएको भन्दै उनले त्यही अनुसार नेपालले अडान राखी सत्यतथ्यलाई जम्मा गर्ने र कन्भिन्स गर्दै जानुपर्ने बताए ।
भारत ग्लोबल पावरको रुपमा विकास हुन खोजिरहेकाले सीमा विवाद टुंग्याउदा भारतलाई नै लाभ हुने उनको भनाइ थियो।
सरकारका प्रवक्ता समेत रहेका सञ्चामन्त्री बाँस्कोटाले कालापानीका विषयमा विभिन्न विधि अपनाउनुपर्ने उल्लेख गर्दै नेपालले पहिलोपटक ‘डिप्लोम्याटिक नोट’ पठाएको उल्लेख गरे। उनले भने, ‘प्रश्न लिम्पियाधुराको हो। कालापानी र लिपुलेकको होइन। यो जुन नक्सा सार्वजनिक भएको छ, त्यो आज भएको होइन। तर इतिहासमा पहिलोपटक सरकारले डिप्लोम्याटिक नोट पठाएको हो। यसलाई पहिलो स्टेप मान्नुपर्छ।’
