रुखको टुप्पोमा बन्यो मान्छे बस्न मिल्ने घर

मंसिर ८, गुल्मी । गुल्मीको रेसुङ्गा नगरपालिका –७ मा ‘ट्री हाउस’ निर्माण गरिएको छ । केही महिनाअघि निर्माण सम्पन्न भएको यो ‘ट्री हाउस’ शनिबार प्रदेश ५ का उद्योग, पर्यटन वन तथा वातावरण मन्त्री लीला गिरीले उद्घाटन गरेका हुन् । ‘ट्री हाउस’ उद्घाटन गर्दै उद्योग मन्त्री गिरीले समृद्ध नेपाल निर्माणका लागि पर्यटनको विकास हुनुपर्ने बताए ।
रेसुंगा नगरपालिका –७ उनायचौरमा ४२ फुट अग्लो रुखको टुप्पामा १० जना मान्छे बस्न मिल्ने गरि फलामको भर्याङ राअेर घर निर्माण गरिएको छ । यो रुखको टुप्पोमा पुग्न एक सय सिँढी उक्लनु पर्दछ । त्यहाँबाट तम्घाससहित उत्तरका मनोरम हिमालको दृष्यावलोकन गर्न सकिने रेसुङा नगरपालिका–७ का वडा अध्यक्ष मोहन पाण्डेले बताए ।
‘ट्री हाउस’ मा चढ्नका लागि स्थानीय मन्दिर व्यवस्थापन समितिले विद्यार्थीहरुका लागि १० रुपैयाँ, अन्यलाई २० रुपैयाँ शुल्क निर्धारण गरेको छ । तर वृद्धवृद्धा र ज्येष्ठ नागरिकलाई भने ‘‘ट्री हाउस’’ चढ्नका लागि निःशुल्क व्यवस्था गरेको छ ।









