धरानमा नेपाली कांग्रेसको शक्ति प्रर्दशनः कम्युनिस्टलाई सच्याउन कांग्रेसलाई जिताउनुस


मंसिर १०, धरान । उपनिर्वाचनको मिति नजिकिँदै गर्दा सुनसरीको धरानमा नेपाली कांग्रेसले शक्ति प्रर्दशन सहित विशाल आमसभा गरेको छ । धरानको भानुचौकमा आयोजित आमसभामा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले कम्युनिस्ट शासनशैलीका विरुद्ध जनता एक जुट हुनुपर्ने बताउँदै उपनिर्वाचनबाटै कम्युनिस्ट अधिनायवादलाई परास्त गर्नुपर्ने बताए ।
सभापति देउवाले यसपाली उपनिर्वाचनमा कांग्रेसले जितेमा भ्रष्ट र स्वेच्छाचारी बन्दै गएको कम्युनिष्ट सरकारलाई सच्चिने अवसर पनि मिल्ने जिकिर गरे । ‘दुई तिहाईको कम्युनिष्टलाई सच्याउने हो भने उपनिर्वाचनमा कांग्रेसलाई जिताउनुस् ।’ सभापति देउवाले भने ।
उनले कम्युनिष्ट सरकार जनताको वलिदान, त्यागबाट प्राप्त भएको लोकतान्त्रिक गणतन्त्र र यसको उपलब्धी समाप्त पार्न उद्यत रहेको समेत बताए । ‘केपी शर्मा ओली नेतृत्वको सरकार भष्ट्राचार, माफिया, कालाबजारी, गफाडीको दलदलमा फसेको छ । यसलाई सच्याउन उपनिर्वाचनमा नेपाली कांग्रेसलाई भोट दिनुहोस् ।’ देउवाले भने ।
सरकार अलोकतान्त्रिक बाटोमा हिड्न थालेको भन्दै देउवाले ओली सरकार आएपछि २ बर्षमा देशमा महंगी, भ्रष्टचार र कर वृद्धि भएर जनता आहत बनेको दावि समेत गरे । बर्तमान सरकारबाट जनताको अधिकारलाई खुम्चाउने, स्वेच्छाचारी कमद चाल्ने काम भइरहेको छ । संसदलाई बन्धक बनाएर अध्यादेश ल्याइदैछ, नागरिकहरुको अधिकार कटौती भइरहेको छ, यसलाई खबरदारी गर्न पनि जनताले यसपाली कांग्रेसलाई जिताउनुपर्छ ।’ देउवाले भने ।
बृहद चुनावी सभामा बोल्दै युवा नेता गगन थापाले धरानको विकासमा कम्युनिस्ट सरकारको भूमिका नभएको दावि गर्दै धराने जनताको मत र मन बदलिए धरानमा बिकास हुने बताए ।
उनले यसपाली तिलक राईलाई मत दिएर धरानलाई समृद्ध सहर बनाउन र कम्युनिष्टलाई सुध्रने मौका दिन भने । थापाले धरानको मौलिकता र आधुनिकतालाई २८ बर्ष शासन गरेका कम्युनिष्टले भोटसँग साटेर खाएको भन्दै धराने जनता बाँचे पनि हाँस्न छाडेको अवस्थामा रहेको भन्दै अब परिवर्तनको पक्षमा उत्रनु पर्ने जिकिर गरे । थापाले प्रधानमन्त्री केपी शर्मा ओलीलाई सपना मात्र देखाउने नेताका रुपमा चित्रित गरे ।
चुनाबी सभामा बोल्दै नेपाली कांग्रेसकी केन्द्रीय सदस्य डा. डिला संग्रौलाले कम्युनिस्ट सरकार अधिनायकबादी, भष्ट्राचारी, बिकास बिरोधी भएको आरोप लगाइन । हत्या हिंसा, बलात्कार, भष्ट्राचारलाई सरकारले प्रश्रय दिएको बताउदै सरकारले देशमा मच्चाएको लुटतन्त्र बिरुद्ध धरानबासीले कांग्रेसको तिलक राईलाई मत दिनुपर्ने जिकिर गरिन् ।
यता कांग्रेस केन्द्रीय सदस्य महेश आचार्यले प्रदेश नं १ को प्रमुखमा धनकुटाका प्रा.डा.गोबिन्द सुब्बालाई हटाएर कास्कीका नेतालाई नियुक्ति दिएर ओली सरकारले आदिबासी जनजातीलाई अन्याय गरेको बताए । कांग्रेस उम्मेदवार तिलक राईले धरानलाई सबै जातजाति, भाषा, धर्म, सँस्कृतिको इन्द्रधनुषी सप्तरंगी सहर बनाउने भन्दै उनले अहिलेसम्म कम्युनिष्टले धराने जनतालाई भोट बैंक मात्र बनाएको बताए ।
धरान उपमहानगरपालिकाका मेयर पदका उम्मेद्वार तिलक राईले आफु मेयरमा निवार्चित भएपछि धरान उपमहानगरपालिकाभित्रको भ्रष्टाचारको पर्दाफास गर्ने बताए । उनले मेयरको हैसियतमा आफुले पाउने कुनै पनि तलब, भत्ता तथा सेवा सुविधा नलिने प्रतिबद्धता ब्यक्त गरे । राईले नेकपा नेतृत्वको जनप्रतिनिधि र भ्रष्ट कर्मचारीहरु मिलेर उपमहानगरमा व्यापक भ्रष्टाचार भइरहेको दावि गरे । उनले आफु निर्वाचित भएर आएपछि विगतका सबै भ्रष्ट कर्तुतहरुको पर्दाफास गर्ने दावि गरे ।
उम्मेदवार राईले आफुले जितेर आएर धरानको खानेपानी, बसपार्क, एयरपोर्ट, आयोजना पुरा गर्ने प्रतिबद्धता जनाए । राईले धरानको खानेपानी आयोजनामा ५० औं करोड भ्रष्टचार भएको दाबी गरे । ‘खानेपानी आयोजनामा व्यापक भ्रष्टाचार भएको छ ।’
कांग्रेसका केन्द्रीय सदस्य भिष्मराज आङ्देम्बेले ऐतिहासिक सहर धरानलाई कम्युनिस्टले कुरुप सहर बनाएको आरोप लगाए । कार्यक्रममा कांग्रेस उपसभापति विमलेन्द्र निधी, डा.रामशरण महत लगायतले पनि बोलेका थिए । भानुचोकमा आमसभा हुनुअघि पब्लिक स्कुलको मैदानबाट विशाल र्याली निकालिएको थियो ।
