तेस्रो डायलासिसका लागि अस्पताल पुगे प्रधानमन्त्री

फाइल तस्विर 

कार्तिक १७, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली मिर्गौलाको डायलासिस गराउन आज (आइतबार) बिहान ग्राण्डी अस्पताल पुगेका छन् ।   

१२ वर्षअघि मिर्गौला प्रत्यारोपण गरिएका उनको बुधबार र बिहीबार आकस्मिक रूपमा ग्रान्डी अस्पतालमै डायलासिस गरिएको थियो । तेस्रो पटक डायलासिस गराउन ओली अस्पताल गएका हुन् ।   

अस्पतालमा प्रधानमन्त्रीको डायलासिसका लागि ४ घण्टा समय लाग्ने र उनी फर्किए लगतै अवस्था हेरी आजै मन्त्रिपरिषद् बैठक, नेकपाको सचिवालय बैठक बस्ने सम्भावना रहेको प्रधानमन्त्रीका प्रेस सल्लाहकार डा. कुन्दन अर्यालले जानकारी दिए ।   

अस्पताल र प्रधानमन्त्रीका नीजि चिकित्सकहरुले प्रधानमन्त्रीको स्वास्थ्य सामान्य रहेको ब्रिफिङ गरिरहेका छन् । प्रधानमन्त्रीका स्वास्थ्य हेरी बालुवाटारमै डायलासिस मेशिन राख्ने कुरा पनि चलिरहेको छ ।   

प्रम ओलीले पनि आफू सिकिस्त बिरामी नभएको तर मिर्गौलाले राम्रोसँग काम नगरेका स्पष्ट पार्दै अब नियमित डायलासिस वा पुनः प्रत्यारोपण मात्र विकल्प रहेको बताएका छन् ।   

मिर्गौला प्रत्यारोपणपछि नियमित औषधि खाइरहेका ओली स्वास्थ्य परीक्षणका लागि गत साउन र भदौमा गरी दुई पटक सिंगापुर समेत गएका थिए। त्यहाँको नेसनल युनिभर्सिटी अस्पतालमा फेरिसस प्लाज्माफेसेसिस प्रक्रियामार्फत् रगतमा भएको  ‘एन्टीबडी’ निकालेर उनी भदौ २० मा स्वदेश फर्किएका उनको स्वास्थ्यमा फेरि समस्या देखिन थालेपछि सबै चिन्तित छन् ।  

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *