नेकपा फेरि उठ्नै नसक्ने गरी पतनको दिशामा रहेको भट्टराईको दावी

कार्तिक २८, काठमाडौँ । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) फेरि उठ्नै नसक्ने गरी पतनको दिशामा रहेको समाजवादी पार्टीका संघीय परिषदका अध्यक्ष डा. बाबुराम भट्टराईले दावी गरेका छन् ।
बिहिबार उनले आफ्नो पार्टीको संघीय परिषद बैठकमा कार्यपत्र प्रस्तुत गर्दै नेकपा विचारमा स्खलित भइसकेको बताउँदै सो पार्टी फेरि उठ्न नसक्ने गरी पतनको दिशामा रहेको दावी गरेको हुन् ।
उनले नेपालको कम्युनिस्ट आन्दोलनलाई ‘कुहिरोको काग’को संज्ञा समेत दिएका छन् । उनले तत्कालीन नेकपा एमाले र नेकपा माओवादी केन्द्रबीच एकीकरण भइ बनेको नेपाल कम्युनिस्ट पार्टी (नेकपा) पार्टीको स्थापनाकालीन मान्यता, सिद्धान्त र उद्देश्यहरु विश्वव्यापी रुपमा असफल भएपछि नेपालको कम्युनिस्ट आन्दोलन कुहिरोको कागजस्तो बन्न पुगेको बताए ।

पूर्व प्रधानमन्त्रीसमेत रहेका भट्टराईले नेपाली कांग्रेस भने आफ्नै असक्षमता, अकर्मण्यता र नालायकीको भारले थिचिएको बताएका छन् ।
‘समाजवादी पार्टी निर्माण र आगामी कार्यभार’ शीर्षकको २५ पृष्ठ लामो राजनीतिक प्रतिवेदन प्रस्तुत गर्दै डा. भट्टराईले समानुपातिक–समावेशी, सहभागितामूलक तथा प्रत्यक्ष लोकतन्त्रको विरुद्धमा नेकपा विपक्षी दल कांग्रेसकै कित्तामा रहेको समेत उल्लेख गरेका छन्।
उनले नेपालको कम्युनिस्ट आन्दोलन वैचारिक रुपले अँध्यारो सुरुङभित्रको यात्रा गरिरहेको टिप्पणी गर्दै पार्टीका ठूला नेताहरु भ्रष्टाचार तथा नैतिकपतनका घटनामा मुछिएको, शिक्षा र स्वास्थ्यको व्यापारीकरण रोक्न नसकेको, सम्पति शुद्धीकरण आयोगलाई निस्क्रिय बनाएको तथा ठूला आयोजनाहरु विना टेन्डर सिधै सम्झौता गरेको बताए ।








