उम्मेद्वार छान्न बसेको नेकपा सचिबालयको बैठक निष्कर्षविहिन, मेयरमा चारजनाको नाम सिफारिस गर्ने तयारी

कात्तिक १६, काठमाडौं । उपनिर्वाचनका लागि उम्मेद्वार टुंगो लगाउन बसेको नेकपा सचिबालयको बैठक निष्कर्षविहिन सकिएको छ । मंसिर १४ गते हुने उपचुनावका लागि उम्मेदवारहरुको टुंगो लगाउन आज शनिबार बसेको नेकपा सचिवालयको बैठक विनानिश्कर्ष टुंगिएको हो । 

कास्की क्षेत्र नम्बर २ को प्रतिनिधिसभा सदस्य, तीनवटा प्रदेशसभा सदस्यहरु र एक मेयरको उम्मेदवारी टुंगो लगाउन आज बिहान १० बजेदेखि प्रधानमन्त्री निवास बालुवाटारमा नेकपा सचिवालयको बैठक बसेकोमा कुनै निष्कर्ष निस्कन नसकेको बैठकमा सहभागी एक सचिबालय सदस्यले बताए । 

‘आजको बैठकमा छलफलमात्र भयो, भोली टुंगोमा पुगिएला ।’ एक सदस्यले मकालु खबरसँग भने । 

नेकपाका प्रवक्ता नारायणकाजी श्रेष्ठले पनि बैठकमा उम्मेदवारहरुबारे छलफल सुरु भएको र आइतबारको बैठकले अन्तिम निर्णय गर्ने बताए । ‘आजको सचिबालय बैठकमा उम्मेद्वारहरुका विषयमा छलफल शुरु भएको छ, संभवतः भोली टुंगोमा पुगिन्छ ।’ उनले भने । 

नेकपाले कास्की क्षेत्र नम्बर २ मा स्व. रविन्द्र अधिकारीकी श्रीमती विद्या भट्टराईलाई उम्मेदवार बनाउने करिब करिब टुंगो भएको छ । तथापि, उक्त निर्णयलाई अन्तिमरुप दिन भोलीसम्म पर्खनुपर्छ । यसैगरी प्रदेश सभा सदस्य तथा मेयरका विषयमा पनि निर्णय गर्नुपर्छ ।   

धरान उपमहानगरपालिकाको मेयरको लागि नेकपाले प्रकाश राई, चोत्लुङसँगै बेणु काफ्लेको नाम अनुमोदन गरेर पठाएपनि विवाद उपन्न हुँदा पुनः एक जनाको नाम थपेर पठाउन धरानमा बैठक चलिरहेको छ । धरानमा प्रदेश कमिटि सदस्य विजय राईको समेत नाम सिफारिस गरेर केन्द्रमा पठाउने तयारी भएको हाम्रा धरान संवाददाता भरतराज शर्मा (गोपाल)ले जानकारी दिएका छन् । 

सचिबालय बैठकले भक्तपुर, दाङ र बाग्लुङमा प्रदेशसभा सदस्यका उम्मेवारका विषयमा पनि छलफल गरेको छ । 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *