काम नगर्ने ठेकेदारको जमानत जफत, अख्तियारकै पूर्वप्रमुखको सम्पत्ति रोक्का, विरको जग्गा ब्यक्तिको नाममा

मंसिर १०, काठमाडौं । आज राजधानीबाट प्रकाशित पत्रपत्रिकाहरुले फरकफरक विषयलाई प्राथमिकतामा राखेका छन् । कान्तिपुर, नागरिक दैनिक, अन्नपूर्ण, गोरखापत्र, नेपाल समाचार पत्र, राजधानी दैनिकमा प्रकाशित समाचारहरुका हेड लाइन फरकफरक छ ।   

सुरुमा कुरा गरौं कान्तिपुर दैनिकको   

आजको कान्तिपुर दैनिकले अख्तियार दुरुपयोग अनुसन्धान आयोगका पूर्व आयुक्त दीप बस्न्यातको सम्पत्ति रोक्का गरिएको समाचारलाई प्राथमिकताका साथ प्रकाशित गरेको छ ।   

गैरकानुनी रुपमा सम्पत्ति आर्जन गरेको भन्दै सम्पत्ति सुद्धिकरण अनुसन्धान विभागले पूर्व प्रमुख आयुक्त बस्न्यातको सम्पत्ति रोक्का गरेको हो । कान्तिपुरका अनुसार भ्रष्टाचार निवारण गर्ने संबैधानिक दायित्व बोकेको अख्तियारकै पूर्व प्रमुख गैरकानुनी सम्पत्ति आर्जनमा मुछिएको यो पहिलो घटना हो ।   

आजको कान्तिपुरमा प्रधानमन्त्री केपी शर्मा ओलीले काम नगर्ने ठेकेदारको जमानत जफत गर्न दिएको निर्देशनको समाचार पनि छ । सरकारको चौमासिक समिक्षा कार्यक्रममा ओली समयमै काम नगर्ने ठेकेदार विरुद्ध कठोर बनेका हुन् ।   

यता सरकारी मुखपत्र गोरखापत्रले पनि सरकारको चौमासिक कार्य समिक्षामा प्रधानमन्त्रीले बोलेको कुरालाई नै प्राथमिकता दिएको छ । भने, रुसका राष्ट्रपतिलाई निम्तो शिर्षकमा पनि समाचार छ ।   

समाचार अनुसार नेपाल सरकारले रुसका राष्ट्रपति भ्लादिमिर पुटिनलाई नेपाल भ्रमणको औपचारिक निम्तो दिएको छ । रुसको भ्रमणमा रहेका परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले राष्ट्रपति विद्यादेवी भण्डारीले रुसका राष्ट्रपति महामहिम भ्लादिमिर पुटिनलाई नेपाल भ्रमणको लागि पठाएकी औपचारिक निमन्त्रण पत्र हस्तान्तरण गरेका छन् । त्यस्तै नेपालका प्रधानमन्त्री केपी शर्मा ओलीले रुसका प्रधानमन्त्री दिमयित्री मेदभेदेवलाई नेपाल भ्रमणका लागि गर्नु भएको निमन्त्रण पनि हस्तान्तरण गरेका छन् ।   

यता नागरिक दैनिकले वीर अस्पताल भित्र भएको वेतिथिको विषयलाई उठाएको छ ।   

वीर अस्पतालको गुठीको नाममा रहको दुई सय रोपनी जग्गा व्यक्तिको नाममा दर्ता भएकोे ठहरसहित २०६७ सालमा तयार भएको प्रतिवेदन गुपचुप राखी चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान (न्याम्स) ले अर्को समिति गठन गरेको छ । तत्कालीन सहसचिव दुर्गा मानन्धरको नेतृत्वमा गठित वीर अस्पताल गुठी जग्गा छानबिन समितिले बुझाएको प्रतिवेदनमा अस्पताल गुठीको नाममा मुलुकभर रहेको करिब १४ हजार रोपनीमध्ये काठमाडौं उपत्यकाभित्र महत्वपूर्ण स्थानमा रहेको जग्गा व्यक्तिको नाममा रहेको उल्लेख छ । न्याम्सले त्यो प्रतिवेदन कार्यान्वयनमा नलगी त्यही प्रकृतिको काम गर्न अर्को समिति गठन गरेको हो । नागरिक दैनिक लेख्छ । यसैगरी अवैध रुपमा बढि शुल्क उठाएका मेडिकल कलेजहरुलाई शुल्क फिर्ता गर्न सरकारले हिजोसम्मको अल्टिमेटम दिएपनि मेडिकल कलेजहरुले वास्ता नगरेपनि शिक्षा मन्त्रीले दिएको चेतावनीको समाचार पनि छ ।   

नयाँ पत्रिका दैनिकले उपनिर्वाचनः मौका परीक्षामा दल, ३७ जिल्ला, ५२ पद, ३३४ उम्मेदवार शिर्षकमा मंसिर १४ गते हुने उपनिर्वाचनको विषयलाई प्राथमिकताका साथ प्रकाशित गरेको छ ।   

मधुसुधन भट्टराईले तयार पारेको समाचार अनुसार राजनीतिक दलहरू दुई वर्षपछि फेरि चुनावी माहोलमा होमिएका छन् । ०७४ को वर्षामा भएको स्थानीय निर्वाचन र हिउँदमा भएको संसदीय निर्वाचनमा विजयी ५२ जनप्रतिनिधिको ठाउँमा उपनिर्वाचन हुन थालेको हो । कतिपय उम्मेदवारको निधन भएको छ भने स्थानीय तहका केही जनप्रतिनिधि जिल्ला समन्वय समितिमा निर्वा्चित भएकाले पद रिक्त भएको थियो । केन्द्र र स्थानीय सरकारको दुईवर्षे कामको समीक्षापछि दलहरू यो ‘मौका परीक्षा’मा सामेल भएका छन् । निर्वाचन ३७ जिल्लामा हुन लागेकाले पनि देशैभर चुनावी माहोल छ । १४ मंसिरमा प्रतिनिधिसभाका एक र प्रदेश सभाका तीन सदस्यका लागि  निर्वाचन हुँदै छ । बाँकी ४८ पदमा स्थानीय तहका पदाधिकारी निर्वाचित हुनेछन् । एक उपमहानगरपालिका प्रमुख, तीन गाउँपालिका अध्यक्ष, एक उपाध्यक्ष र ४३ वडाध्यक्षका लागि निर्वाचन हुँदै छ । स्थानीय तहका ४८ पदका लागि दुई सय ७३ जना प्रतिस्पर्धामा छन् ।   

राजधानी दैनिकले मजदुरका नाममा नक्कली फर्म शिर्षकमा समाचार प्रकाशित गरेको छ । भने, सभामुख नहुँदाको संकट भन्दै अर्को समाचार प्रकाशित गरेको छ । अन्नपूर्ण दैनिकले अटेरी मेडिकल कलेज भन्दै बढि शुल्क लिएका मेडिकल कलेजहरुले शुल्क फिर्ता नगरेको समचार प्रकाशित गरेको छ ।   

यसैगरी दुई नागरिकता बनाएर ३४ करोड ठगी गरेको समाचार पनि छ ।   

हेर्नुहोस आजका पत्रपत्रिकाका प्रथम पृष्ठ 

  

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

seventeen + eighteen =