जावलाखेललाई हराउदै पुलिस चन्द्रागिरी गोल्डकपको क्वाटरफाइनलमा

काठमाडौं, ३ मंसिर । चन्द्रागिरीमा जारी तेस्रो संस्करणको चन्द्रागिरी मेयर गोल्डकप ‘ए’ डिभिजन फुटबल प्रतियोगितामा नेपाल पुलिसले जावलाखेललाई हराउदै क्वाटरफाईनलमा प्रवेश गरेको छ ।
सोमबार भएको खेलमा विभागीय नेपाल पुलिस क्लबले जावलाखेललाई २–१ ले पराजित गर्दै अन्तिम आठमा पुग्न सफल भएको हो ।
पुलिसको जितमा भोला सिलवाल र प्रवेश दनुवारले गोल गरे । जावलाखेलका विदेशी खेलाडी एडमा डम्बियाले गरेको गोल सान्त्वना बन्यो । पुलिसले खेलको चौथो मिनेटमा नै एडमा डम्बियाको गोलबाट पछि परेको थियो । पुलिस सम्हालिन नपाउँदा एडमा डम्बियाले हेडमार्फत गोल गर्दै जावलाखेललाई अग्रता दिलाएका थिए । पहिलो गोल गरेसँगै खेलमा हौसिएको जावलाखेलले पुलिसलाई लगातार दवावमा राखेपनि थप गोल गर्न सकेन । पुलिसले पहिलो हाफमा उल्लेख्य प्रदर्शन गर्न सकेको थिएन । तर, दोस्रो हाफमा उच्च प्रदर्शन गर्दै पुलिसले दुई गोल गर्न सफल भयो ।

खेलको ५३औं मिनेटमा सुमन लामाको उत्कृष्ट मुभमा भोला सिलवालले गोल गर्दै खेललाई १–१ गोलको बराबरीमा ल्याएका थिए । सुमनले मैदानको मध्यभागबाट चार खेलाडीलाई छक्याउदै दिएको पासमा भोला चुकेनन् । ७४औं मिनेटमा प्रवेश दनुवारले वान भर्सेस वानको अवस्थामा गोल गर्दै पुलिसलाई २–१ को पूनरागमन जित दिलाए । दोस्रो हाफमा भने जावलाखेलले फितलो प्रदर्शन गर्दा शुरुवाती अग्रता लिएर पनि पराजित हुन पुग्यो । पुलिसका निर कुमार राई खेलको म्यान अफ दि म्याच घोषित भए ।
अब पुलिसले क्वाटरफाइनलमा गत वर्षको विजेता च्यासल युथ क्लबसँग ७ मंसिरमा प्रतिस्पर्धा गर्नेछ । प्रतियोगितामा मंगलबार संकटा र विभागीय नेपाल एपीएफ क्लबबीच दिउँसो २ः३० बजेपछि खेल हुने आयोजक कमिटिका संयोजक पुर्व राष्ट्रिय खेलाडी रमेश बुढाथोकीले बताए ।
तेस्रो संस्करणको प्रतियोगितामा ‘ए’ डिभिजनका १० टोली र आयोजकको दुई गरी १२ टोलीको सहभागिता रहेको छ ।
१० र ११ मंसिरमा सेमिफाइनल तथा १४ मंसिरमा फाइनल खेल हुनेछ । विजेताले ६ लाख ५० हजार रुपैयाँ पाउनेछ । दोस्रो हुनेले ३ लाख ५० हजार रुपैयाँ हात पार्नेछ । सर्वाेत्कृष्ट खेलाडी र सर्वाधिक गोलकर्तालाई समान ३० हजार रुपैयाँ प्रदान गरिनेछ । प्रतियोगिताको अनुमानित लागत झन्डै ५० लाख रुपैया रहेको छ । पहिलो संस्करणमा हिमालय शेर्पा क्लब तथा दोस्रो संस्करणमा भ्याली च्यासल युथ क्लब च्याम्पियन बनेको थियो ।








