‘उपनिर्वाचनमा कम्युनिष्ट नेता–कार्यकर्ताको समर्थन कांग्रेसलाई’

मंसिर ३, काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सहमहामन्त्री तथा पूर्व परराष्ट्रमन्त्री डा. प्रकाशशरण महतले चीन र भारतको सीमा विवादको कुरा जसरी आएका छन्, यसमा सरकारकै कमजोरी मुख्य कारण भएको बताएका छन् ।
मंगलबार रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको साक्षात्कारमा बोल्दै महतले भने, ‘जहाँसम्म हाम्रा छिमेकी देशहरुसँगको सम्बन्धको विषय छ, यो अत्यन्तै संवेदनशील र महत्वपूर्ण छ । हामीले आफ्नो राष्ट्रिय स्वार्थलाई केन्द्रविन्दुमा राखेर परराष्ट्र नीति सञ्चालन गर्नुपर्छ । तर, वर्तमान सरकारले गर्न नसकेको कुरा घामजस्तै छर्लङ छ । उहाँहरु कामभन्दा बढि कुरा गर्नुहुन्छ । काम गर्नुहुन्न । जहाँ कुरा राख्नुपर्ने हो, त्यहाँ राख्नुहुन्न । बाहिर चाहीँ त्यसबारेमा बढाईचढाँई गर्नुहुन्छ । त्यसले गर्दा यो सम्बन्धहरुमा अहिले जटिलता थपिएका छन् ।
उनले कालापानी, महाकालीको विषय पूरानो भएको सुनाए । उनले भने, ‘नेपाली कांग्रेसको सरकार हुँदा, सुशिल कोइरालाजीले पनि र शेरबहादुर देउवाजीले पनि जहाँनिर यो विषय उठाउनुपर्ने थियो, यो उठाउनु भएकै हो । म परराष्ट्रमन्त्री हुँदा हामीले द्धिपक्षीय सीमा संयन्त्र बनायौं, यसले चाँडोभन्दा चाँडो सीमा विवादको समस्या हल गर्ने कुरा टुँगो लगाउने सहमति भएको हो । त्योअनुसार यो संयन्त्रले काम पनि अघि बढाएको हो ।’

महतले वर्तमान सरकार बहुमतको सरकार रहेको बताउँदै सत्तामा नहुँदा सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) नेताहरुले राष्ट्रियता ‘हाम्रै काँधमा उभिएको छ’ झैं गरि कुरा गरेको टिप्पणी गरे । उनले भने, ‘तर, सत्तामा आएपछि उहाँहरुले यी विषय उठाएको हामीले पाएका छैनौं । सत्तामा आएपछि द्धिपक्षीय पटक–पटक बैठकहरु भए, भेटवार्ता भए, कहीँकतै यी विषय उठाएको हामीले पाएनौं । यो सरकार हाम्रो राष्ट्रिय स्वार्थ र अखण्डताप्रति गम्भिर नभएको स्पष्ट नै छ ।’
भारतसँगपनि महाकाली लिपुलेकको सम्बन्धमा चाँडोभन्दा चाँडो कुटनीतिक तहमा उच्चस्तरीय वार्तामार्फत तथ्य, तथ्यांक र आधारसहित नेपाल सरकार प्रस्तुत हुनुपर्ने उनको भनाइ छ ।
महतले मंसिर १४ गते हुने उपनिर्वाचनले वर्तमान सरकारलाई सशक्त सन्देश दिने बताए । उनले थपे, ‘यो सरकार गठन भएको झण्डै दुई वर्ष भयो, यो अवधिमा सरकारलाई जनताले हेरेका छन् । सरकारमा बस्ने पार्टीका नेताहरुले जनतालाई जुन आश्वासन दिएका थिए । जुन सपना कम्युनिष्ट पार्टीका नेताहरुले बाँडेका थिए, ती कुनैपनि पूरा भएनन् । जनता अहिले निराश छन् ।’
महतले वर्तमान सरकार पुरै असफल भएको दाबी गरे । ‘यो हामीले भनिरहेको होईन, आम जनता सबै निराश छन् । जनताको कुरा छोडौं, कम्युनिष्ट पार्टीकै स्थानीय तहका नेता तथा कार्यकर्ताहरुले नै असन्तुष्ट छन् । उहाँहरु यही उपनिर्वाचनको क्रममा नेपाली कांग्रेसको पक्षमा र समर्थनमा उत्रिनुभएको छ । सबै मोर्चामा यो सरकार असफल छ । भ्रष्टाचार संस्थागत भैरहेको छ । समग्र रुपमा सरकार ठीक बाटोमा छैन’, महतले भने ।








