छापाः प्रधानमन्त्रीले भारतलाई भने– सेना फिर्ता लैजानुस्, एक इन्च जमिन मिच्न दिइने छैन, तीन वर्षमा कलेजले ३ अर्ब ठगे, नेपाल ट्रस्टको जग्गामा साढे पाँच अर्ब अनियमितता

मंसिर २, काठमाडौँ । राजधानीमा प्रकाशित राष्ट्रिय दैनिक पत्रपत्रिकाहरुमध्ये अधिकांशले प्रधानमन्त्री केपी शर्मा ओलीले भारतीय सेनालाई नेपाली भूमिबाट फिर्ता गर्न गरेको आग्रहलाई प्रमुख समाचारको रुपमा आफ्नो फ्रन्ट पेजमा छापेका छन् । केहीले मेडिकल कलेजको शुल्क सम्बन्धी समाचारलाई आजको मुख्य समाचार बनाएका छन् ।
आजको नेपाल समाचारपत्र, कान्तिपुर, अन्नपूर्ण र गोरखापत्रमा प्रधानमन्त्री ओलीले नेपाली भूमि भारतलाई नदिने भन्ने सन्दर्भमा छापेको समाचारलाई प्रमुख बनाएका छन् । कान्तिपुरले ‘प्रधानमन्त्रीले भारतलाई भने–नेपाली भूमिबाट सेना फिर्ता लैजानुस्’ शीर्षकमा समाचार छापेको छ ।
त्यसै सोही विषयको समाचारलाई गोरखापत्र दैनिकले ‘देशको एक इन्च पनि जमिन मिच्न दिइने छैन’ शीर्षकमा समाचार छापेको छ भने नेपाल समाचारपत्रले ‘सेना फिर्ता लैजान भारतलाई प्रमको आग्रह’ शीर्षकमा समाचार छापेको छ ।

आजको नयाँ पत्रिका दैनिकले भने नेपालका विभिन्न मेडिकल कलेजमा छापा मारेको विषयलाई आफ्नो प्रमुख समाचार बनाएको छ । नयाँ पत्रिकाले ‘सीएमसी, नेसनल र नोबेल मेडिकल कलेजमा छापा’ शीर्षकमा समाचार छापेको छ । नयाँ पत्रिकाका अनुसार १४ वटै मेडिकल कलेजका सञ्चालक सम्पत्ति सुद्धिकरणको छानविनमा परेका छन् । उनीहरुले लिएको रकम मंसिर ९ गतेभित्र फिर्ता नगरे पक्राउ गरि ठगी मुद्दा चलाइने छ । त्यस्तै सतर्कता केन्द्रको प्रतिवेदनले तीन वर्षमा कलेजले ३ अर्व ठगेको विषय पनि नयाँ पत्रिकाले उठाएको छ ।
त्यस्तै आजको नागरिक दैनिकले ‘नेपाल ट्रस्टको जग्गा लिज प्रकरणः साढे पाँच अर्व अनियमितता’ शीर्षकमा समाचार छापेको छ ।
अन्य पत्रपत्रिकाका फ्रन्ट पेजमा यस्ता समाचार छापिएका छन् ।








