सेन्सरजडित तास, जसमा पहिल्यै थाहा हुन्छ खेल कसले जित्छ

कार्तिक २५, काठमाडौं । महानगरीय प्रहरी वृत्त कालिमाटीको टोलीले सेन्सरजडित ताससहित एक व्यापारीलाई नियन्त्रणमा लिएको छ ।
लामो अनुसन्धान पश्चात आइतबार प्रहरीले उक्त ताससहित सीतापाइलाबाट सर्लाही बरहथवा नगरपालिका वडा ९ का ३६ वर्षीय निरबहादुर कार्कीलाई नियन्त्रणमा लिएको हो । उनको कोठाबाट सेन्सरजडित ब्याग, एयरफोनलगायत अन्य सामाग्रीसमेत बरामद भएको डिएसपी रुगम कुँवरले जानकारी दिए।
उनका अनुसार उक्त तास खेल्ने व्यक्तिले कोठामा कसलाई कुन तास परेको छ, कसले जित्छ भन्ने प्रष्ट देख्न सक्छ ।

पक्राउ परेका कार्कीले सो खालको एउटा तासको पाँच सय र सबै सेटको एक लाख रुपैयाँसम्ममा बिक्री गर्ने गरेको प्रहरी अनुसन्धान खुल्न आएको छ । उक्त सामग्री चीनबाट ल्याएको पाइएको छ ।
तास खेल्ने बेला प्रयोग गरिने पैसामासमेत सेन्सर जोडिएको पाइएको प्रहरीले जनाएको छ। प्रहरीले सेन्सर जडित एक हजार रुपैयाँका १४ थान नोटसमेत बरामद गरेको छ।








