‘बौद्ध दर्शन र अन्तर्राष्ट्रिय प्रभाव’ विषयमा काठमाडौँमा बहस

मंसिर ६, काठमाडौँ ।  बौद्ध दर्शन के हो र अन्तर्राष्ट्रिय जगतमा यसको प्रभाव कस्तो रहेको छ ? यसबारे बिहीबार राजधानीमा बहस गरिएको छ । प्रज्ञा–प्रतिष्ठानको दर्शनशास्त्र विभागद्वारा आयोजित ‘बौद्ध दर्शन र यसको अन्तर्राष्ट्रिय प्रभाव’ विषयक विचारगोष्ठीमा यस्तो बहस गरिएको हो ।   

गोष्ठीमा बोल्दै नेपाल प्रज्ञा–प्रतिष्ठानका कुलपति गङ्गाप्रसाद उप्रेतीले मानवजीवनका लागि दर्शनको अपरिहार्य महत्त्व रहेको बताए । उनले दर्शनले नै जीवनमा दृष्टिकोण बनाउन र गन्तव्य पहिल्याउन मार्गनिर्देश गर्ने भएकोले बिनादर्शन मानव जीवनको परिकल्पनासमेत गर्न नसकिने धारणा व्यक्त गरे ।   

वाङ्मय शताब्दी पुरुष सत्यमोहन जोशीले बौद्ध दर्शन एउटा दर्शनमात्रै नभएर धर्म पनि भएको बताए । उनले धेरैअघि नेपालमा धर्मोदय सभाले अन्तर्राष्ट्रिय बौद्ध सम्मेलन आयोजना गरेको उल्लेख गर्दै विश्वजगतमै बौद्ध दर्शन तथा बौद्ध धर्म फैलिएको दाबी गरे । 

प्रज्ञा–प्रतिष्ठानका आजीवन सदस्य मोदनाथ प्रश्रितले संसारमै बौद्ध दर्शन उत्कृष्ट दर्शनका रूपमा स्थापित भएको जिकिर गरे । उनले बौद्ध दर्शनले समस्त मानव जातिलाई विभिन्न अन्धविश्वास र अतिवादबाट माथि उठाउने दाबी गरे ।   

यसै गरी सदस्य सचिव तथा दर्शनशास्त्र विभागका प्रमुख प्रा.जगतप्रसाद उपाध्यायले विश्व दर्शन दिवसका अवसरमा गोष्ठी आयोजना गरिएको उल्लेख गरे । नेपाली भूमिमा प्रर्वतन भएको बौद्ध दर्शनको प्रभाव अन्तर्राष्ट्रिय जगतमा कस्तो रहेको छ भन्ने विमर्श गर्ने हेतु गोष्ठी आयोजना गरिएको बताए ।   

उनले प्रज्ञाबाट एक वर्षभित्र ७२ ओटा पुस्तक प्रकाशित भएको र त्यसमध्ये दर्शनशास्त्र विभागबाट मात्रै १० ओटा प्रकाशित भएको सुनाए । गोष्ठीमा प्रा.डा. वीरेन्द्रप्रसाद मिश्रले ‘बौद्ध दर्शन र यसको अन्तर्राष्ट्रिय प्रभाव’का विषयमा विशेष प्रवचन दिँदै बौद्ध दर्शनले मात्रै विश्व मानव जीवनलाई सुखी तुल्याउने बताए । 

नेपाल संस्कृत विश्वविद्यालयका पूर्व उपकुलपति प्रा. शिवहरि मरहठ्ठाले बौद्ध दर्शन र यसको महत्वका बारेमा प्रकाश परे । वेदराज ज्ञवालीले दर्शनशास्त्र विभागको नयाँ प्रकाशन ‘दर्शनावली–६’ को समीक्षा गरेका थिए । गोष्ठीको प्रतिवेदकमा डा. गोविन्दशरण उपाध्याय रहेका थिए भने कार्यक्रमको सञ्चालन बृद्धि तिमल्सिनाले गरेका थिइन ।   

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

17 − 4 =